कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीकोटका होटलमा बालश्रमिक

कालीकोट — जिल्ला बाल कल्याण समितिको अगुवाइमा जिल्ला प्रहरी, महिला तथा बालबालिका कार्यालय र मानवअधिकारकर्मीको संयुक्त टोलीले बालश्रमिकको अनुगमन गरेको छ । अनुगमनका क्रममा सदरमुकामका होटलमा ६ जना बाल श्रमिक भेटिएका छन् ।

कालीकोटका होटलमा बालश्रमिक

नाग्म, ताडी, जिते र आरसीपी बजारका ५३ होटेल तथा पसलमा अनुगमन गरिएको हो । मान्म बजारका १३ होटेलको अनुगमन गर्दा ६ जना बाल श्रमिक फेला परेका छन् । अनुगमनमा क्रममा दैलेखका तीन बालश्रमिक मान्मका होटेलमा भेटिएको महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण निरीक्षक राजकुमार सिंहले बताए । उनका अनुसार अनुगमन नगरिएका अन्य होटलमा पनि केही बालश्रमिक रहेको अनुमान छ । कालीकोटमा यातायात क्षेत्र, होटल, निर्माण लगायतका क्षेत्रमा बालश्रमिक रहेको समितिले जनाएको छ ।

पढ्ने र पढाउने बहानामा जिल्ला बाहिरका बालगृहमा केही बालबालिकाले काम गरिरहेको बालकल्याण समिति अध्यक्ष लालबहादुर मल्लले बताए । सरोकारवालाको अगुगमनपछि जिल्ला प्रशासनमा आयोजित अन्तक्र्रियामा प्रजिअ चन्द्रनाथ गौतमले कालीकोटका सबै स्थानलाई बाल श्रमिकमुक्त बनाउन स्थानीय तह, नागरिक समाज, सञ्चारकर्मीलगायतको सक्रियता आवश्यक रहेको बताए । कालीकोटमा बालश्रममा रहेका बालबालिकाको अवस्था तथ्यांक संकलन गरेर स्थिति पत्र सार्वजनिक गर्नुपर्ने रास्कोट नगर प्रमुख काशीचन्द्र बरालले बताए ।

तिलागुफा नगरपलिका उपप्रमुख दन्ता नेपालीले आफ्नो नगरपालिकालाई बालमैत्री बनाउन अभियान थालिएको बताइन् । उनका अनुसार राचुलीलाई मंसिर १८ गते बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको गाउँ घोषणा गरिएको छ । बाल अधिकारकर्मी बाले विश्वकर्माले सुर्खेत, नेपालगन्ज, धनगढी, काठमाडौंलगायतका सहरमा कालीकोटका बालबालिका बाल श्रमिकका रूपमा रहेको बताए । उनले पढाउने नाममा बालगृहमा लगिएका बालबालिका जोखिमपूर्ण अवस्थामा रहेको जानकारी दिए ।

गत वर्षको तथ्यांकअनुसार कालीकोटका २ सय ७३ जना बालबालिका जिल्लाबाहिर देखिएका छन् । बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा मंगलबार बिहान रेडियो संवाद, होटल तथा पसलको अनुगमनसहित अन्तक्र्रिया गरिएको हो ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?