कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर फर्कंदै यार्चा संकलक

‘यार्चा संकलन गर्न गएका विद्यार्थी फर्किएपछि एक महिना अवरुद्ध रहेको पठन–पाठन सुचारु भएको छ’

मुगु — मुगमकार्मारोङ गाउँपालिकाको उच्च पाटन क्षेत्रमा पाइने यार्चागुम्बा टिप्न गएका संकलक धमाधम घर फर्किन थालेका छन् । जेठ ६ गते यार्चा टिप्न वन प्रवेश खुला गरिएको थियो ।

घर फर्कंदै यार्चा संकलक

वर्षा र पाटनको हिउँ नपग्लिएकाले यार्चा पाउन नसकेको अधिकांश संकलकको भनाइ छ । कतिपय यार्चा संकलकले रामै्र आम्दानी भएको जनाएका छन् । मुगुसहित आसपासका जिल्लाका संकलक धमाधम फर्कन थालेका हुन् ।

एक महिना पाटन बसेर डेढ सय गोटा यार्चा संकलन गरेको मुगमकार्मारोङ गाउँपालिकास्थित पुलु गाउँका छोर्तेन तामाङले बताए । गतवर्षको तुलनामा यार्चा उत्पादन केही घटेको उनको भनाइ छ । अधिकांश यार्चा संकलकले आफूले संकलन गरेको यार्चा साथमै बोकेर घर फर्किएको जनाए । पाटनमा ठूला व्यापारी नजाँदा बिक्री गर्न नसकिएको संकलकको भनाइ छ ।

कोहीले प्रतिगोटा तीन सय ५० देखि पाँच सय रुपैयाँमा यार्चा बिक्री गरेर आएको बताए । यस वर्ष यार्चाबाट ४० हजारमात्र कमाइ भएको रोवा गाउँका धनसिंह बुढाले बताए । बर्सेनि यार्चा उत्पादन घट्दै गएको उनको भनाइ छ । यार्चा टिप्न गएका विद्यार्थी फर्किएपछि मुगमकार्मारोङ गाउँपालिकाका विद्यालयमा एक महिनापछि पढाइ सुचारु हुन थालेको छ ।

बुद्ध माध्यमिक विद्यालय माग्रीका प्रधानाध्यापक गंगाराम जीसीले विद्यार्थी उपस्थित हुने संख्या बढ्दै गएको बताए । ‘यार्चा संकलन गर्न गएका विद्यार्थी फर्किएपछि एक महिना अवरुद्ध रहेको पठनपाठन सुचारु भएको छ,’ उनले भने, ‘अझै सबै विद्यार्थी फर्किएका छैनन् ।’ यार्चा संकलक गाउँमा आउन थालेपछि मुगमकार्मारोङ गाउँपालिकाका १२ बस्तीमा चहलपहल बढ्न थालेको छ । मुगु, डोल्फु, कार्ती, किम्री, ताखा, खारी, रिउस पुवालगायत गाउँ नै सुनसान हुनेगरी स्थानीयवासी यार्चा टिप्न पाटन गएका थिए । मुगमकार्मारोङका बासिन्दा यार्चा टिपेर फर्किएको करिब एक महिनापछि फेरि व्यापार गर्न नाक्चेनाग्ला नाका भएर तिब्बत जाने गरेका छन् ।

प्रकाशित : असार ७, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?