कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वाधार विकासलाई प्राथमिकता

थिर्पू (कालीकोट) र पिना (मुगु) — पलाता गाउँपालिकाले भौतिक पूर्वाधारअन्तर्गत सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । सडक सञ्जालले नछोएको पलाताका सबै वडामा दुई वर्षभित्र सडक पुर्‍याउने प्रतिबद्धता गरिएको छ ।

पूर्वाधार विकासलाई प्राथमिकता

बर्सेनि सुक्खा र खडेरीले खाद्य संकट, खानेपानीको अभाव, शिक्षा, स्वास्थ्य र पोषणमा कमजोर रहेको पलातालाई नमुना बनाउन जनप्रतिनिधिले प्रतिबद्धता गरेका छन् ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमका अनुसार सबै युवालाई गाउँमै रोजगारी दिन पलाता निर्माण कार्य दल गठन गरिएको छ । प्रतियुवा मासिक २४ हजारका दरले मासिक तलब दिएर निर्माणमा संलग्न गराइसकेको उनको भनाइ छ । ९ वडामा १० जनाका दरले ९० जना र १० जना अध्यक्षले छनोट गरेका गरी एक सय जना युवाका लागि वार्षिक २ करोड ९० लाख विनियोजन गरिएको छ ।

चरम खानेपानी अभाव रहेको पलातामा एक घर एक धारा, एक बस्ती एक ट्यांकी र एक गाउँ एक आयोजना अवधारणासहित ३ वर्षभित्र सबै घरमा खानेपानी पुर्‍याउने लक्ष्यसहित योजना निर्माण गरिएको छ । पलाताले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक विद्यार्थीको दोहोरो हाजिरी प्रणाली राख्ने, निजी स्रोतका शिक्षकको दरबन्दी सिर्जना गर्नेलगायतका योजना समेटिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कस्माले बताए । गाउँपालिकाले बालबालिकामा लगानी वृद्धि गर्दै बालमैत्री स्थानीय शासनको नीति अवलम्बन गरिने जनाएको छ ।

त्यसैगरी स्वास्थ्य सेवालाई सुलभ बनाउन सबै वडामा स्वास्थ्यसंस्था स्थापना गरिएको छ । महिला सशक्तीकरणका लागि साक्षरतासहित आयआर्जनका कार्यक्रम अघि सारेको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् । १० लाख मात्र आन्तरिक राजस्व उठ्ने पलातामा विकास बजेटका लागि संघ र प्रदेश सरकारमा निर्भर रहनुपर्ने अवस्था छ ।

संघीय सरकारको ससर्त अनुदान १० करोड ५५ लाख, वित्तीय समानीकरण अनुदान ९ करोड २७ लाख, सरकारको राजस्वबाट ६ करोड ७ लाख गरी २६ करोड ४१ लाख रुपैयाँको बजेट मंगलवारदेखि सुरु भएको गाउँ सभामा पेश गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले पलाताको समृद्धिका लागि स्थानीय समुदायको सक्रियता आवश्यक रहेको बताए । स्थानीय नेता अनन्त विश्वकर्माले पलातालाई पिछडिएको क्षेत्रको रूपमा मात्र चित्रित गरिएको गुनासो गर्दै सबै क्षेत्रबाट लगानी वृद्धि गरिनुपर्ने बताए ।

ठेकेदार भागेपछि भवन अलपत्र
पिना (मुगु)– छायाानाथ–रारा नगरपालिका– ७, पिना गाउँमा प्रसूति गृहको निर्माण अलपत्र छाडेर ठेकेदार भागेका छन् । सहरी विकास तथा भवन डिभिजन कार्यालयले प्रसूतिगृह निर्माणको जिम्मा गाल्वा एन्ड खड्का कृष्ण जेबीका प्रोप्राइटर पदमराज गिरीलाई दिएको थियो ।

डिभिजन कार्यालयका अनुसार गिरीले २०७४ भदौभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा लिएका थिए । उनलाई एक करोड ९७ लाखमा भवन निर्माणको जिम्मा दिइएको थियो ।

तोकिएको समय नाघेपछि वडा कार्यालयले ठेकेदार गिरीलाई कारबाही गर्न माग गर्दै जेठ ३० गते पत्राचार गरेको छ । बीचमै काम छोडेर ठेकेदार बेपत्ता भएको वडाअध्यक्ष हरिचन्द्र शाहीले बताए । ‘भवनको झ्याल, ढोका, पर्खाल निर्माण तथा रंगरोगनको काम अझै बाँकी छ,’ उनले भने, ‘समयमै काम पूरा नहुँदा बनेको संरचना पनि जीर्ण बन्दै गएको छ ।’ छायाँनाथ–रारा नगरपालिकाभित्रका गर्भवती महिलाको प्रसूति सेवा सहज बनाउन प्रसूति गृह निर्माण थालिएको हो । दुईतले प्रसूति गृह निर्माण थालिएको हो । भवन अभावले गर्भवती महिलालाई सुत्केरी गराउन कठिनाइ भएको छ ।

त्यस्तै, नेपाल खाद्य संस्थानको गोदाम निर्माणको जिम्मा लिएको जुद्ध एन्ड पूर्ण निर्मला जेबी तुलसीपुर, दाङका प्रोप्राइटर पूर्णबहादुर भण्डारी पनि छन् । २०६८ सालभित्र काम सक्नुपर्ने लक्ष्य भए पनि ठेकेदार भण्डारी फरार हुँदा गोदाम घर हस्तान्तरण हुन सकेको छैन । ९७ लाख ३५ हजार रकममा भवन निर्माणको सम्झौता भएको थियो ।

निर्माण थालेको चार वर्षसम्म गोदामघर नबन्दा समस्या भएको संस्थानले जनाएको छ । १५ दिनको बाटो म्याद दिई ठेकेदारलाई पत्राचार गर्दासमेत योजनास्थलमा नआएको खाद्य संस्थानका प्रमुख भरतराज खनियाँले बताए । भवन निर्माणमा संलग्न अधिकांश मजदुरलाई ठेकेदारले पारिश्रमिक समेत नदिएको उनको भनाइ छ । योजना अलपत्र पारेर भाग्ने ठेकेदारलाई खोजेर कारबाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । ‘सम्बन्धित कार्यालयसँग योजनाको सबै विवरण माग गरिएको छ,’ उनले भने, ‘काम अलपत्र पार्ने ठेकेदारको खोजी कार्य जारी राखेका छौं ।’

प्रजिअ अधिकारीका अनुसार गमगढी–ताल्चा सडक निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी काम सुचारु गर्न लगाइएको उनको भनाइ छ । स्थानीय प्रशासनले काम अलपत्र पार्ने जिल्लाभरका २० ठेकेदारको सूची गृह मन्त्रालयमा पठाएको उनले जनाए ।

प्रकाशित : असार १४, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?