कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९० वडाकी एक्ली वडाध्यक्ष

ज्योति कटुवाल

दैलेख — भैरवी गाउँपालिका वडा नं. ३ की देवी भण्डारी दैलेखमा रहेका ९० वडाकी एक्ली महिला वडाध्यक्ष हुन् । उनले एक वर्ष अवधिमा काम पनि नमुना गरेकी छिन् । त्यसैले छोटो समयमै ‘१ नम्बर’ वडाध्यक्ष कहलिएकी छिन् ।

९० वडाकी एक्ली वडाध्यक्ष

भैरवी गाउँपालिकाले अझैसम्म आफ्नो केन्द्र टुंगो लगाउन सकेको छैन । भण्डारीले भने वडाको नाममा तीन रोपनी जग्गा पास गरी स्थायी कार्यालयको व्यवस्था गरिसकेकी छिन् । वडाको नाममा थप १२ रोपनी जग्गा पास गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘वडा कार्यालयमात्र बनाएर भएन, अन्य आवश्यक संरचना पनि बसाल्नुछ,’ उनी भन्छिन्, ‘त्यसैले आवश्यक जमिनको प्रबन्ध मिलाइरहेकी छु ।’ वडा कार्यालयसम्म जाने बाटो पनि निर्माण भइरहेको उनले बताइन् ।

गाउँपालिकाले वडाको विकासको लागि एक करोड २२ लाख रुपैयाँ बिनियोजन गरेको छ । अन्य वडाहरु बजेट कार्यान्वयनमा अलमलिइरहेका बेला उनी नेतृत्वको वडाले भने बिनियोजित बजेटको व्यवस्थित योजना तयार पारी काम सुरु गरिसकेको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढासमेत उनको काम गर्ने शैलीबाट प्रभावित छन् । ‘पुरुष वडाध्यक्ष भएका वडाको तुलनामा त्यहाँ राम्रो काम भएको छ, यसले हामीलाई सजिलो बनाइदिएको छ,’ उनी भन्छन्, ‘उहाँको लगनशीलता र क्षमताले महिलाले केही गर्न सक्दैनन् भन्ने भ्रम च्यातिदिएको छ ।’ काममा रातदिन खटिने स्वभावले अरुलाई पनि हौसला दिने गरेको उनले बताए ।


चालु आर्थिक वर्षमा भण्डारीको वडामा ५३ वटा विकास योजना परेका छन् । जनसंख्याको आधारमा हेर्ने हो भने यो बजेट अन्य वडाको तुलनामा दोब्बर हो । तर, उनले निर्बाध रुपमा काम सञ्चालन गरिरहेकी छिन् । योजना छनोटदेखि कार्यान्वयनसम्म कुनै विवाद देखिएन । ‘काम गर्ने क्रममा सबैको साथ र सहयोग मिलिरहेको छ,’ उनी भन्छिन्, ‘यसले पनि मलाई काम गर्न थप प्रेरणा दिइरहेको छ ।’


उनी वडाको आवश्यकतालाई पहिचान गरी बजेट ल्याउन पनि उत्तिकै खप्पिस छिन् । चालु आर्थिक वर्षमा विद्युतीकरणको लागि १५ लाख रुपैयाँ ल्याएकी उनले आगामी आर्थिक वर्षको लागिसमेत थप बजे मागेकी छिन् । अब उनको प्राथमिकता वडामा स्वास्थ्यचौकी स्थापना गर्नेतिर छ । ‘स्वास्थ्यचौकी नहुँदा यहाँका जनताले निकै सास्ती भोग्नुपरेको छ,’ उनी भन्छिन्, ‘त्यसैले मैले आगामी वर्षको लागि यसलाई प्राथमिकताम राखेकी छु ।’


२०५७ सालमा एसएलसी पास गरेकी भण्डारी नेपाली समाजमा महिला भएकैले उनीहरुलाई अवसरबाट बञ्चित गर्ने गरिएको बताउँछिन् । ‘तर मेरो प्रश्न छ– महिलाले कुन क्षेत्रमा काम गर्न सकेका छैनन् ?’ उनी भन्छिन्, ‘महिलाले जिम्मेवारी पाएको ठाउँमा पुरुषभन्दा राम्रो काम गरेर देखाइदिएका थुपै्र उदाहरण छन् ।’


यद्यपि, महिला भएकैले महिला केन्द्रित हुन नहुनेमा उनी दृढ छिन् । त्यसैले त उनले आफ्नो वडामा आएको बजेट समान रुपमा सबै क्षेमा बिनियोजन गरेकी छिन् । योजना छनोट पनि सोही अनुसार गरेकी छिन् । जिल्लाका ११ स्थानीय तहमध्ये भैरवीमा मात्र महिला इन्जिनियर छिन् । यसले उनलाई काम गर्न थप सहज बनाएको छ ।

प्रकाशित : असार २२, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?