कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुराँसेमा आलु–चिप्स

ज्योति कटुवाल

दैलेख — गुराँसे गाउँपालिकामा आलु–चिप्स र दालमोठ उद्योग सञ्चालनमा आएको छ । गुराँस गाउँपालिका र जिल्ला लघु उद्यमी समूह संघको संयुक्त पहलमा उद्योग खुलेको हो ।

गुराँसेमा आलु–चिप्स

यहाँ खुलेको आलु–चिप्स र दालमोठ उद्योगलाई कर्णाली प्रदेशकै सबैभन्दा ठूलो उद्योग मानिएको छ । उद्योग सञ्चालनका लागि ८ लाख रुपैयाँ लागतमा ६ वटा स्वचालित मेसिन भित्रिएका छन् ।

उक्त मेसिनले प्रतिघण्टा २ क्विन्टल आलु चिप्स तयार गर्न सक्ने क्षमता रहेको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । ‘गुराँसे क्षेत्रमा आलु उत्पादन धेरै हुने र चिसो हावापानीमा फलेको अर्गानिक आलु स्वादिलो हुने भएकाले उद्योग सञ्चालनमा ल्याइएको हो,’ उनले भने, ‘स्थानीय युवालाई रोजगारीको बाटो खुल्नेछ ।’

उद्योग सञ्चालनलाई प्रभावकारी बनाउन १० दिने तालिम सुरु गरिएको जिल्ला लघु उद्यमी समूह संघ दैलेखका अध्यक्ष कविराज खत्रीले जानकारी दिए । उद्यमशीलता र प्रविधिको युगमा समाजलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन गाउँपालिकाले पहल गरेको गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा बीसी बताउँछिन् । ‘यो उद्योगले गुराँस गाउँपालिकाका किसानको कृषिजन्य वस्तु खपत हुन्छ,’ उनले भनिन्, ‘बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने लक्ष्य राखेर उद्योग सञ्चालन गर्न लागेका हौँ ।’

सीप विकास तालिममा गुराँसे गाउँपालिकाका प्रत्येक वडाबाट एक/एकजना गरी आठजना सहभागी छन् । तालिममा सहभागी लघु उद्यमीलाई व्यवसायका बारेमा सैद्धान्तिक प्रशिक्षण गर्नुका साथै प्रयोगात्मक रूपमा दक्ष बनाइनेछ ।

प्रशिक्षार्थीहरूले तालिम लिएपश्चात सहकारी दर्ता गरी सहकारीका माध्यमबाट उद्योग सञ्चालन गर्ने बताएका छन् । यसका लागि गुराँस गाउँपालिकाले औद्योगिक ग्राम स्थापना गर्ने, प्याकेजिङ मेसिन र लेबल छपाइका लागि अनुदान दिने भएको छ ।

प्रकाशित : असार २३, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?