कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वाधार विकास र खाद्य सुरक्षा प्राथमिकता

कालीकोट — सदरमुकाम मान्ममा पर्ने खाँडाचक्र नगरपालिकाले भौतिक पूर्वाधारसहित खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । यहाँ उत्पादित मकै र फापरलाई व्यवसायीकरण गर्दै खाद्य आनीबानीमा परिवर्तन ल्याउन मकैको चिउरा र फापरको केक उद्योग स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्वाधार विकास र खाद्य सुरक्षा प्राथमिकता

उपप्रमुख विजया विष्टले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित ५७ करोडको बजेट प्रस्तुत गरिन् । कर्णाली राजमार्गसँग नजोडिएका बद्रिगाउँ, दशाला, सेरावाडा, पाखा, चौकी, बदालकोट र जिम्जेडी गाउँमा एक वर्षभित्र सडक पुर्‍याउने नगरपालिकाको लक्ष्य छ ।

नगरपालिकाको अधिकांश भूगोल भिरालो भएकाले अन्न उत्पादनको सट्टा फलफूल खेतीमा जोड दिइएको छ । फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ । नगरले बस बिसौनी र सार्वजनिक ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना ल्याएको छ ।

युवालाई विदेश पलायन हुनबाट रोक्न व्यावसायिक बाख्रापालन र कुखुरापालनमा अनुदान दिने, ३ वटा सामुदायिक फलफूल खेती फारम सञ्चालन गर्ने नगरले योजना प्रस्तुत गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने र जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने योजना ल्याइएको छ ।

नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रम लागू गर्न पूर्ण सहयोग गर्ने प्रदेश सांसद कूर्मराज शाहीले बताए । उनले युवालाई उद्यममार्फत स्वरोजगार गर्न सकिने बताए ।

उपप्रमुख विष्टले आर्थिक वर्ष ०७५/०७६ का लागि ५७ करोड ३० लाखको बजेट प्रस्तुत गरिन् । भौतिक पूर्वाधारतर्फ ८ करोड, अन्य सेवाका लागि ४ करोड, नगर गौरवका योजनाका लागि २ करोड ५० लाख, स्वास्थ्य सेवाका लागि १ करोड ७० लाख, कृषिमा १ करोड, पशुमा ४० लाख, वन तथा वातावरणमा २० लाखको बजेट छ ।

चालु खर्चतर्फ ७ करोड बजेट विनियोजन गरेको नगरपालिकाले आन्तरिक राजस्व १ करोड उठाउने लक्ष्य लिएको छ ।

प्रकाशित : असार २८, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?