कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरेन्द्रनगरको १० करोड बढी बेरुजु

सुर्खेत — वीरेन्द्रनगर नगरपालिकाको १० करोड ४६ लाख बढी रकम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको स्थानीय तह लेखापरीक्षण प्रतिवेदन २०७४ का अनुसार असुल गर्नुपर्ने १ लाख १८ हजार, नियमित गर्नुपर्ने ८ करोड ५२ लाख १३ हजार र पेस्की १ करोड ९२ लाख ८३ हजार रुपैयाँ बेरुजु छ ।

वीरेन्द्रनगरको १० करोड बढी बेरुजु

आव ०७३/७४ मा केन्द्रबाट प्राप्त अनुदान र आन्तरिक आय व्ययका साथै आव ०७२/७३ को मौज्दात ४ करोड ६४ लाख ६१ हजार गरी कुल ४४ करोड १७ लाख २८ हजार आय र ४० करोड ११ लाख ९ हजार व्यय विवरण उल्लेख छ । लेखापरीक्षण प्रतिवेदनमा जिम्मेवारी नसारेको, सम्पत्ति हस्तान्तरण नगरेको, अभिलेख नराखेको, पेस्की फस्र्योट नगरेको, बढी भुक्तानी गरेको, बिल भर्पाई संलग्न नगरेको, परिषद्को स्वीकृतबेगर योजना सञ्चालन गरेको, अग्रिम कर कट्टा नगरेको प्रतिवेदनमा उल्लेख छ ।

उपभोक्ता समितिबाट कार्य गराउँदा नियमको पालना नगरेको, अनुगमन मूल्यांकन कमजोर रहेको, सेवा प्रवाह प्रभावकारी नरहेको, योजना अधुरो रहेको, प्राथमिकता निर्धारण नगरेको, लक्षित समूह कार्यक्रम सञ्चालन नगरेको, फ्रिज गर्नुपर्ने रकम फ्रिज नगरेर ठूलो रकम बेरुजु आएको जनाइएको छ । पेस्की भिडान र पेस्की खाता परीक्षण गर्दा चालु पेस्की विवरणमा ६ लाख ३३ हजार २ सय ३ देखिएकामा स्रेस्तामा ५ लाख ९५ हजार ६ सय ९ उल्लेख भएकाले ६७ हजार ५ सय ९४ रुपैयाँ फरक परेको छ ।

त्यसरी नै पुँजीगततर्फ विवरणमा १ करोड ७२ लाख ३३ हजार ६ सय ७४ देखिएकामा लेजरमा १ करोड ४३ लाख ८० हजार ३ सय ३३ चढाइएकाले फरक ८५ लाख ५३ हजार ३ सय ४० रुपैयाँ देखिएको छ ।

मालपोत व्यवस्थापन साबिक रतु गाविसले आव ०७३/७४ मा मालपोत उठाएको देखिएन । साबिक गढी गाविसले ८० हजार ५२ र गर्पन गाविसले ३३ हजार ७ सय ८३ मालपोत उठाएका थिए । गाविसले विगतको मालपोत बक्यौता, वर्षको उठ्नुपर्ने रकम, यो वर्ष उठेको रकम र बाँकी बक्यौता देखिने विवरण अद्यावधिक राखेको देखिएन । मालपोतको अवस्थाबारे यथार्थ विवरण तयार गरी स्रेस्ता अद्यावधिक गर्नुपर्ने महालेखापरीक्षक प्रतिवेदनमा सुझाव दिइएको छ ।

फोहोरमैला व्यवस्थापन शीर्षकमा वीरेन्द्रनगर नगरपालिका ५ मा ल्यान्डफिल्ड कार्य भनी १५ घण्टा जेसीबी सञ्चालनको ३७ हजार ५ सय खर्च लेखेकामा प्राविधिक पुस्ट्याइँ नहुनुका साथै भाडामा मेसिन सञ्चालनको कर कट्टीसमेत गरेको नपाइएकाले प्राविधिक पुस्ट्याइँ र कर कट्टी गर्न सुझाव दिइएको छ । सफा सुन्दर नगर विकास कार्यक्रमअन्तर्गत बजेट ८० लाख विनियोजन भएकामा खर्च १ करोड ३३ लाख ५९ हजार ५ सय ५८ भएको स्रेस्ता पेस भएको छ ।

निर्धारित बजेटभन्दा ५३ लाख ५९ हजार ५ सय ५८ रुपैयाँ बढी खर्च भएको छ । बढी खर्च हुनु नियम संगत खर्च नदेखिएको प्रतिवेदनले औंल्याएको छ । यसैबीच, नगरपालिका कार्यालयले कन्टेन्जेन्सीमा खर्च गरेको रकम परीक्षण गर्दा निम्नानुसार सवारीसाधन, मेसिनरी उपकरणलगायत कार्यमा १६ लाख ५३ हजार ९ सय ४५ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : असार ३०, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?