कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीखेतले कुखुरा मरे

दैलेख — यहाँका स्थानीय तहले अनुदानमा वितरण गरेका कुखुरा रानीखेत रोगका कारण धमाधम मरेका छन् । एक सातामा यहाँका विभिन्न गाउँमा एक सातामा करिब १० हजार कुखुरा मरेका छन् । यहाँका स्थानीय तहले बाहिरबाट कुखुरा ल्याएर अनुदानमा किसानलाई वितरण गरेका थिए ।

रानीखेतले कुखुरा मरे

नारायण, चामुन्डा बिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिकाले कृषकलाई कुखुराका चल्ला वितरण गरेका थिए ।

स्थानीय तहले बुटवलबाट ब्रोइलर जातका चल्ला ल्याएर वितरण गरेका हुन् । नारायण नगरपालिकाले अनुदानमा वितरण गरेका तीन हजार चल्ला एकै पटक मरेका हुन् । एक सातामा तीन स्थानीय तहले वितरण गरेका चल्ला मरेपछि किसान चिन्तित भएका छन् । पहिले पालिएका कुखुरासमेत मरेको किसानको गुनासो छ । स्थानीय तहले वितरण गरेका कुखुरामार्फत सरेको रोगका कारण स्थानीय जातका कुखुरा मरेको किसानले जनाएका छन् । स्थानीय तहले बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित कार्की कोल्टी भैरव सप्लायर्सबाट खरिद गरेर ल्याएको जनाएका छन् ।

नारायण नगरपालिका–८, दुईखम्बास्थित रेग्मी कुखुरा फार्ममा एक दिनमा १३ सय कुखुरा मरेका छन् । एकै दिनमा ठूलो संख्यामा कुखुरा मरेपछि व्यवसाय नै संकटमा परेको सञ्चालक भीमप्रसाद रेग्मीले बताए । उनले सात वर्षदेखि व्यावसायिक रूपमा कुखुरा पाल्दै आएका छन् । उनले अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति भएको बताए । उनले दुईवटा फार्ममार्फत कुखुरा पाल्दै आएका छन् । उनका अनुसार तीन किलोसम्मका कुखुरा मरेका हुन् ।

धेरै कुखुराको अर्डर आइसकेको भए पनि एकै दिनमा खोर नै रित्तो भएको उनले गुनासो गरे । उनले जुम्ला, हुम्ला, कालिकोटलगायत जिल्लामा कुखुरा पठाउने गरेको बताए । ‘रोगले एकै पटक धेरै कुखुरा मरेपछि व्यवसाय नै धरापमा पर्‍यो,’ उनले भने, ‘फार्ममै लगानी थप्ने विचारमा थिए तर ठूलो घाटा लाग्यो ।’ उनले स्थानीय सरकारले किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे ।

कुखुराका चल्ला जिल्लामा ल्याएलगत्तै पानी परेको र चिसोका कारण चल्ला मरेको हुनसक्ने पशु सेवा कार्यालयको अनुमान छ । रानीखेत नामक रोगका कारण कुखुराहरू धमाधम मरेको पशु चिकित्सक डा. शीतलबाबु श्रेष्ठले बताए । उनका अनुसार कुखुराको ल्याब टेस्ट गर्न सुर्खेत पठाइएको थियो । पाँच सय मिटर आसपासमा हावाबाट रोग सर्ने भएकाले ठूलो संख्यामा कुखुरा मरेको उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?