जुम्ला घटना उच्छृंखल समूहका कारण : प्रदेश सरकार

प्रकाश अधिकारी

सुर्खेत — आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले चिकित्सा शिक्षा सुधारका लागि डा.गोविन्द केसी जुम्लामा अनशनरत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै अप्रिय घटना भएको बताएका छन् । 

प्रदेशसभाको मंगलबारको बैठकमा सांसदहरुको प्रश्नहरुको जवाफ दिँदै उनले आन्दोलनकारीको नाउमा उच्छृंखल समूहले अनावश्यक हर्कत देखाएकाले दुखद् परिस्थिति सिर्जना भएको बताए। ‘प्रमुख जिल्ला अधिकारीसहित सबै पक्षसँग शान्तिपूर्ण समाधान खोज्दै थियौं, हामीलाई प्रतिष्ठानभित्र पस्न दिइएन’ उनले भने, ‘अस्पतालमा जे-जति क्षति हुन पुग्यो, त्यसबाट म पनि दु:खी छु, अस्पताल जन्माउनको लागि उतिबेला म कठघरामा उभिएको थिएँ, आज त्यही अस्पताल तोडिँदा तपाईं (सांसद) हरुलाई जवाफ दिन कठघरामा उभिएको छु।’

संसद्‍को बिहीबारको बैठकमा जुम्लाका कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले मुख्यमन्त्री र प्रदेशकै गृह (आन्तरिक मामिला) मन्त्रीकै सामुन्ने अस्पतालभित्र प्रहरीले किन गोली चलायो? भन्दै सरकारको जवाफ मागेका थिए। डा. केसीको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं ल्याउन सहयोग गर्न केन्द्र सरकारले प्रदेश सरकारलाई आग्रह गरेको थियो। साउन ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्री भण्डारी डा. केसीलाई काठमाडौं लैजान नेपाली सेनाको हेलिकोप्टरसहित जुम्ला पुगेका थिए। डा. केसीलाई काठमाडौं लैजान नदिन उनका सर्मथक र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो।

यसैबीच, बैठकमा सांसद अमृता शाहीले कञ्चनपुरको भीमदत्त नगरमा बालिका बलात्कार भएको र उनले न्याय पाउन नसकेकोमा सरकारको ध्यानाकर्षण गराइन्। ‘यो देशमा कानुनी राज छ कि छैन? किन बलात्कारीहरुलाई प्रहरीले पक्राउ गर्न सक्दैन?’ उनले भनिन्, ‘प्रदेश सरकारले यस संघीय सरकारलाई आवश्यक दबाब देओस्, दोषीले कुनै हालतमा उन्मुक्ति नपाऊन।’

अर्का सांसद कौशिलावती खत्रीले जाजरकोटको जुनीचाँदे-३ का स्थानीय भक्तबहादुर बुढाको घर बाढीले बगाएको र उनले श्रीमती र नातिनी गुमाउन बाध्य भएकाले उक्त परिवारलाई तत्काल राहतको खाँचो औंल्याइन्।

बैठकमा कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल भयो। छलफलमा सांसदहरु गुलाबजंग शाह, अमरबहादुर थापा, सीता नेपाली र धर्मराज रेग्मीले भाग लिए। सांसदहरुले सचिवको उमेर, सेवा–सुविधा स्पष्ट पार्नुपर्ने सुझाव दिए। सैद्धान्तिक छलफलपछि सभामुखले संशोधनको सूचना सुनाए।

विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय उपलब्ध गराइएको छ। संसदको अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित : श्रावण १५, २०७५ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्णाली मन्त्रिपरिषद् बैठक : गृहमन्त्रीको नेतृत्वमा बाढीपीडितका समस्या समाधान समिति

प्रकाश अधिकारी

सुर्खेत — चार वर्ष अघिको बाढीपहिरोबाट विस्थापित समुदायको पुनर्स्थापनाका लागि कर्णाली प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रदेशका गृह अर्थात् आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका अनुसार समितिमा यज्ञप्रसाद ढकाल, खड्कबहादुर विक, ललितजंग महत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव, आर्थिक मामिला मन्त्रालयका सचिव, उद्योग, पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था तथा कृषि, भौतिक पूर्वाधार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् ।

समितिले कार्यविधि निर्माण गरेर बाढीपीडित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि दीर्घकालीन कार्ययोजना तयार पार्नेछ । प्रदेश सरकारले सुर्खेतका बाढीपीडितको पुनर्स्थापनाका लागि ठोस कार्यक्रम सञ्चालन गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो । यसवर्ष प्रदेश सरकारले १० वटै जिल्लाका आगजनी, बाढीपहिरो पीडितको पुन:स्थापनाका लागि ७ करोड बजेट छुट्याइसकेको छ ।
बैठकले कर्णाली सरकारको आफ्नै प्रतीक चिहन् निर्माण गर्ने निर्णय गरेको छ । प्रदेशसभाले भने आफ्नै प्रतीक चिहन् बनाइसकेको छ । सरकारले नेपालको नक्सा, झन्डा, कर्णाली प्रदेशको नक्सा आउने गरी प्रतीक चिहन् बनाउने भएको हो । त्यस्तै, बैठकले निर्माण व्यवसाय, खरिद प्रक्रियामा देखिएका समस्या समाधान गर्न सार्वजनिक खरिद ऐनको मस्यौदा तयार पार्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ १९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT