कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छरिए बस टिकट काउन्टर

‘सबै समितिका काउन्टर बसपार्कमै नहुँदा यात्रुलाई समस्या छ ।’
एलपी देवकोटा

जुम्ला — सदरमुकाममा एकै ठाउँमा व्यवस्थित टिकट काउन्टर नहुँदा यात्रुलाई सास्ती भएको छ । टिकटको खोजीमा भौंतारिँदा कतिपय यात्रुले गाडी छुट्ने गरेको गुनासो गरेका छन् । एकै ठाउँमा नहुँदा यात्रु ठगिने गरेका छन् ।

छरिए बस टिकट काउन्टर

यातायात व्यवसायीले फरक–फरक ठाउँमा काउन्टर राखेर यातायात सञ्चालन गर्दा यात्रुलाई टिकटका लागि भौंतारिनुपर्ने बाध्यता छ । कर्णाली राजमार्गको सुर्खेत, जुम्ला, नेपालगन्ज, काठमाडौं चल्ने दर्जन बढी यातायात प्रालि र समितिका सम्पर्क कार्यालय जुम्लामा खुलेका छन् । काउन्टर बसपार्कमा नभई बजारका गल्लीमा छरिएकाले समस्या भएको यात्रुको गुनासो छ ।


चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले पटकपटक यातायात व्यवसायीलाई साना तथा ठूला यातायातका साधन बसपार्कबाट छुटाउन पत्राचार गरे पनि अटेर भइरहेको छ । गाडी चढ्न काउन्टर भेटाउनै यात्रुलाई कठिन हुने गरेको स्थानीयवासी हंस बुढाले बताए । ‘खलंगा बजारदेखि बसपार्क पुग्नै आधा घण्टा हिँड्नुपर्छ, बसपार्कसम्म जाने साना साधनहरू बजार क्षेत्रभित्र चल्दैनन्,’ उनले भने, ‘हामीलाई कहाँबाट टिकट लिने र कहाँबाट बस चढ्ने भन्ने सधैं अन्योल हुन्छ ।’


जुम्लाको यातायात सेवा अस्तव्यस्त बनेको यात्रु जीवन गिरीले बताए । ‘सबै यात्रुले सुलभ सेवा पाउनुपर्ने हो,’ उनले भने, ‘सबै समितिका काउन्टर बसपार्कमै नहुँदा यात्रुलाई समस्या छ ।’ यातायात सेवा छरिएर सञ्चालन हुँदा यात्रु अन्योलमा पर्ने गरेको कर्णाली यातायात व्यवसायी समितिका अध्यक्ष मीनबहादुर थापाले बताए । ‘यातायात सेवामा बढ्दो विकृति रोकथामका लागि प्रहरी, प्रशासन, नगरपालिका लगायतलाई गुनासो गर्दा पनि सुनुवाइ भएको छैन,’ उनले भने, ‘सरकारी निकायले बेवास्ता गरेकाले समस्या भएको छ ।’ अहिले कर्णाली यातायात समितिबाहेक कुनै पनि समिति र प्रालिले बसपार्कमा पार्किङ गर्ने गरेका छैनन् ।


अहिले जुम्लादेखि नेपालगन्जसम्म चल्ने जिपको भाडा एक हजार दुई सय रुपैयाँ छ । तर व्यवसायीले एक हजार छ सयसम्म लिने गरेका छन् । जिल्ला यातायात व्यवस्था समितिले तोकेको भाडा दर लागू गर्न स्थानीयले माग गरेका छन् । समितिले २०७३ सालमा बसभाडा सुर्खेतसम्म ९ सय ५०, नेपालगन्जसम्म एक हजार एक सय ५० र काठमाडौंसम्म दुई हजार ८ सय ५० रुपैयाँ तोकेको थियो । कर्णाली यातायात समिति र चन्दननाथ यातायात प्रालिले जुम्लामा सेवा दिने गरी संस्था दर्ता गरेका छन् । अरू सबै शाखाको रूपमा सञ्चालनमा छन् ।


काउन्टर एकै ठाउँमा राखेर यात्रा गर्न पाउने वातावरण बनाउन स्थानीय प्रशासनले यातायात व्यवसायीसँग छलफल गरेर सहमति गरे पनि लागू हुन सकेको छैन । यातायात व्यवसायीबीच समन्वय प्रभावकारी नहुनु र प्रतिस्पर्धाका नाममा मनपरी भाडा असुल्नुले यात्रुलाई सास्ती भएको नागरिक समाजका सचिव सरोज शाहीले बताए । जुम्ला बसपार्क पूर्णरूपमा सञ्चालनमा नआउँदा समस्या भएको यातायात व्यवसायीको भनाइ छ । यात्रालाई प्रभावित पार्ने गरी खोलिएका काउन्टर उठाउन स्थानीय प्रशासनले चासो नदिएको स्थानीयको आरोप छ ।

प्रकाशित : श्रावण १८, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?