कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल बनेपछि विद्यालय नियमित

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका १, अम्रा र सुर्खेतको सिम्ता गाउँपालिका जोड्ने भेरी नदीमा पुल बनेपछि विद्यार्थीको पठनपाठन नियमित बनेको छ । यसअघि वर्षायाममा नदीमा पानीको बहाव नघट्दा विद्यार्थी पठनपाठनबाट वञ्चित हुने समस्या थियो ।

पुल बनेपछि विद्यालय नियमित

अहिले १ करोडमा १ सय ५५ मिटर लामो झोलुंगे पुल बनेसँग सर्वसाधारणलाई आउजाउमा सहज तथा विद्यार्थीको पढाइ नियमित भएको हो । पुलले सुर्खेतको सिम्ता ६ घोरेनी, रिठाचौर र सल्यानको बन्गाडकुपिण्डे नगरपालिकालाई जोडेको हो ।

यसअघि घोरेनीका बालबालिका सुर्खेतको राकमस्थित बागेश्वरी माविमा अध्ययन गर्दै आएका थिए । पुल बनेपछि विद्यार्थी पनि राकमको बागेश्वरी मावि छाडेर नजिकैको बन्गाडकुपिण्डे नगरपालिका १ मा रहेको प्रभाकर माविमा पढ्न जान थालेका छन् । घोरेनीमा प्राथमिक तहभन्दा माथिल्लो कक्षाको विद्यालय छैन ।

कक्षा १० मा अध्ययनरत अम्राका टंक बीसीले पुल बनेपछि विद्यालयमा नियमित जान पाएको बताए । ‘यसअघि स्थानीयले श्रमदानबाट बनाएको कच्ची काठेपुलबाट हिउँदको समय मात्र आउजाउ गथ्र्यौं,’ उनले भने, ‘विद्यालय पारि र गाउँ वारि भएकाले अस्थायी काठेपुलबाट आउजाउ गर्न सास्ती थियो ।’ उनले पुल हल्लिने गरेकाले जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको सुनाए । उनका अनुसार बर्खाका बेला नदीले काठेपुल बगाउने गरेकाले वैकल्पिक व्यवस्था भने थिएन ।

यसअघि वर्षायामका २ महिना पढाइ अवरुद्ध हुने गरेको कक्षा ९ का केशव बीसी बताउँछन् । ‘आकाशमा कालो बादल लाग्नेबित्तिकै विद्यालय जान रोकिनुपथ्र्यो,’ उनले भने, ‘बाढीले पुल बगाए पारिबाट आउन सास्ती हुने भएकाले पानी पर्ने लक्षण देखिए विद्यालय जाँदैनथ्यौं ।’ अहिले पढाइका लागि दैनिक हुने मानसिक तनावबाट मुक्ति पाइएको उनले बताए । अभिभावकले पनि बालबालिकालाई ढुक्कसँग विद्यालय पठाउन थालेका छन् ।

स्थानीय तुलवीर बुढाले पुल बनेपछि बालबालिकासँगै अन्यले पनि राहत पाएको बताए । उनका अनुसार पुल बनेपछि बन्गाडकुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजार आउजाउ गर्न पनि सजिलो भएको छ ।

गाउँमा उत्पादित कृषिजन्य सामग्री बिक्री गर्न पनि सजिलो भएको उनले बताए । ‘पुल अभावमा सामान्य सामान किन्न एक/डेढ घण्टा हिँडेर राकम जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘पुलका कारण यात्रा पनि छोट्टिएको छ, १५ मिनेटमा बजार पुगिन्छ ।’ विगतमा जोखिम मोलेर पौडी खेल्दा र अस्थायी पुल प्रयोग गर्दा आधा दर्जन स्थानीयको मृत्यु भएको बन्गाडकुपिण्डे १, अम्राका केशव एरी बताउँछन् ।

पुलले स्थानीयको रोजगारी र आर्थिक स्थिति सुधार्नसमेत सहयोग पुर्‍याएको छ । मजदुरी गर्न स्थानीय बासिन्दा सजिलै सल्लीबजार पुग्छन् । कृषिजन्य सामग्री बिक्रीबाट जीविकोपार्जनमा सहयोग पुगेको छ ।

प्रकाशित : श्रावण १९, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?