रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–९, वादी वस्तीकी तारा वादीले घरको बलेसीसँगै करेसाबारी बनाएकी छिन् । आफ्नो घरसँगै जोडिएको थोरै जमिनको उपयोग गरेर उनले आफूलाई पुग्दो तरकारी फलाउन थालेकी छिन् । उनीजस्तै निर्मला वादीले पनि घरको बलेसीमै करेसाबारी बनाएकी छिन् ।
उनीहरूका करेसाबारीमा खुर्सानी, भान्टा, सिमी, तितेकरेलाजस्ता बेमौसमी तरकारी फल्न थालेका छन् । तारा र विपनालाई यसरी करेसाबारी स्थापना गरेर तरकारी फलाउन सजिलो भने पक्कै भएन । बस्तीदेखि टाढाबाट माटो बोकेर उनीहरूले करेसाबारी स्थापना गरेका हुन् ।
सानो जग्गा त्यसमा पनि माटो नै नभएको जग्गामा करेसाबारी बनाई तरकारी फलाउन उनीहरूले बोरामा माटो बोकेर मात्रै सम्भव भएको हो । २०७२ सालअघि भूमीहिन तारा र निर्मलाजस्ता वादी समुदायका १५ घरपरिवारले घर पाएको केही समयपछि बचेको थोरै जमिनमा करेसाबारी सुरु गरेका छन् ।
सरकारी बजेटबाट सानो जग्गासहित घर पाएका उनीहरूले बचेको थोरै जग्गाको उपयोग गरेर करेसाबारी
बनाएका छन् ।
सरकारले दिएको जग्गामा बनाइएको घर र साँघुरो ठाउँमा माटो बोकेर करेसाबारी स्थापना गरेको निर्मलाले बताइन् । ‘गरेपछि हुने रहेछ, हामी माछा मारेर तरकारी खाने समुदायका मान्छे माछा नमर्दा यत्तिकै खाने गरेका थियौं,’ निर्मलाले भनिन्, ‘अब त्यो बाध्यता टरेको छ ।’ उनले करेसाबारी स्थापनामा नेपाल जनजागरण मञ्चले सहयोग गरेको बताइन् ।
करेसाबारी निर्माणका लागि युनाइटेड मिसन टु नेपालको सहयोगमा सञ्चालित खाद्य सुरक्षित उत्थानशील समुदाय निर्माण परियोजनाले करिब एक लाख ५३ हजार रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै करेसाबारी निर्माण, बीउ वितरण तथा तालिमको सहयोग पनि परियोजनाले गरेको थियो । करेसाबारी बनाउन बादी समुदायका सबै घरधुरीले १० देखि ३० बोरासम्म माटो बोकेको परियोजनाले जनाएको छ ।
बादी समुदाय जग्गा किनेर जनता आवास कार्यक्रमको सहयोगमा घर बनाएपछि २०७२ सालदेखि उक्त बस्तीमा सरेका हुन् । घरजग्गाविहीन भएपछि सार्वजनिक जग्गामा बसेका उनीहरूलाई साविकको आठविसकोट गाविसले हटाएको थियो ।
एक हजार दुई सय वर्गमिटर जग्गा खरिद गरेर बादी परिवारका लागि घर बनाइएको छ । घर बनाइए पनि खुला ठाउँ र शौचालय नहुँदा उनीहरूले सास्ती भोग्दै आएका छन् । आर्थिक समस्याका कारण विभिन्न समस्या भोग्दै आएको वादी समुदायको गुनासो छ ।
प्रकाशित : श्रावण २१, २०७५ ११:०४