कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरियो सिँचाइ योजना

कान्तिपुर संवाददाता

सल्यान — सडक निर्माणका क्रममा पुरिएको ढाकाडाम–साङटा–भ्।mयारिबाङ–घुसखोला सिँचाइ योजना मर्मत नगर्दा किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा नहुँदा नियमित बाली लगाउन सकिएको छैन ।

पुरियो सिँचाइ योजना

दार्माकोट–फारुला सडक निर्माणका क्रममा सिँचाइ कुलो पुरिएको थियो । पुुरिएको कुलो मर्मतमा चासो नदिएपछि दार्मा गाउँपालिकाको दार्माकोट र ढाकाडामका किसान प्रभावित भएका हुन् । कुलो पुरिएपछि करिब ३ सय ५० परिवारलाई खेतीमा समस्या परेको छ ।

सिँचाइ अभावमा ३ सय हेक्टर खेत आकाशेपानीकै भरमा छ । सडक खन्दा खसेको ढुंगा र माटोले योजनाको ५ किमि नहर पुरिएको स्थानीय निमबहादुर रोकाले बताए । साढे ७ किमिको योजना अलपत्र परेको उनको भनाइ छ । ‘सिँचाइको विकल्प छैन,’ उनले भने, ‘त्यसैले दुई गाउँको बाली आकाशेपानीकै भरमा लगाउनुपरेको छ ।’

सिँचाइ असुविधाले उत्पादन पनि घटेको किसानको गुनासो छ । जीविकोपार्जनकै लागि भारतमा मजदुरी गर्न जान बाध्य भएको स्थानीय नेबबहादुर रानाले बताए । उनका अनुसार अधिकांश भाग पुरिएकाले अहिले कुलो कहाँ छ भन्ने पत्ता लगाउन गाह्रो छ । ‘सिँचाइ हुँदा अधिकांश किसानलाई वर्षभरि खान पुग्थ्यो,’ उनले भने, ‘अहिले ६ महिना पनि खान पुग्दैन, त्यसैले अधिकांश युवा किसान मजदुरीका लागि भारत जान बाध्य छन् ।’

२०४३ सालमा सरकार र एडीबीको ४० लाखमा सिँचाइ योजना निर्माण गरिएको थियो । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले सिँचाइमा समस्या भएपछि पुरिएको कुलो मर्मतको योजना अघि सारिएको बताए । उनले बढी लागत लाग्ने भएकाले उक्त सिँचाइ योजनामा क्रमागत बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?