कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक संस्था अपारदर्शी

१० कक्षासम्मको कोचिङ पढाउने अनुमति लिएकाले लोकसेवा र शिक्षक सेवा आयोगको कक्षा चलाउने गरेको पनि पाइएको छ 
हरि गौतम

रुकुम पश्चिम — जिल्ला सदरमुकाम खलंगामा सञ्चालित शैक्षिक संस्थाहरू पारदर्शी छैनन् । लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका संस्थाहरूको कामकाज तथा हिसाबकिताब पारदर्शी नभएको पाइएको हो ।

शैक्षिक संस्था अपारदर्शी

जिल्ला प्रशासन, मुसिकोट नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला प्रहरीको संयुक्त अनुगमन टोलीले शैक्षिक संस्थाहरू पारदर्शी नरहेको निष्कर्ष निकालेको छ ।

अनुगमन भएकामध्ये कुनै पनि संस्थाको कामकारबाही पारदर्शी नपाइएको नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्काले बताए । मुसिकोट नगरपालिका–१, खलंगामा सञ्चालित शैक्षिक संस्थामा चलाइएका कार्यक्रमबारे जानकारीसहित दर्ता तथा सूचीकृतका लागि सूचना निकाल्दा पनि कोही नआएपछि अनुगमन गरिएको खड्काले बताए । ‘हामी सरोकारवालाले अनुगमन गर्‍यौं, यसमा क्लियर कुनै संस्था भेटिएनन्,’ उनले भने, ‘सबै विषय तथा क्षेत्रलाई एउटै डालोमा राखेर काम गरिएको पाइयो ।’

शैक्षिक संस्थाहरू स्थानीय तहलाई कुनै जानकारी नदिई सञ्चालन भइरहेको बारेमा साउन ३० गते कान्तिपुरमा समाचार छापिएको थियो । समाचार छापिएपछि जिल्ला प्रशासन कार्यालय तथा मुसिकोट नगरपालिकाले ध्यानाकर्षण भएको भन्दै शैक्षिक संस्था अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा संस्थामा सञ्चालित कार्यक्रमको वर्गीकरण, प्रशिक्षक, प्रशिक्षार्थीको समेत विवरण नराखिएको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बलबहादुर केसीले बताए । ‘अधिकांशले महँगो शुल्क लिएको पाइएको छ,’ उनले भने, ‘त्यसको हिसाबकिताब र कर कतै नतिरेको पाइयो ।’ केहीले भ्याट बिल लिए पनि कारोबार इस्टिमेट बिल र पान बिलमा गरेको पाइएको केसीको भनाइ छ । जानाजान कर छली गर्ने उद्देश्यले नै शैक्षिक संस्था सञ्चालन गरेको निष्कर्ष अनुगमन टोलीले निकालेको उनले जनाए ।

सबै संस्थाले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर अन्य निकायबाट अनुमति नलिएरै विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । १० कक्षासम्मको कोचिङ पढाउने अनुमति लिएकाले लोकसेवा र शिक्षक सेवा आयोगको कक्षा चलाउने गरेको पनि पाइएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी ऐनअनुसार कम्पनी दर्ता गरिए पनि त्यसपछिका कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति नलिएरै कार्यक्रम चलाइएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको कागजमा जुन कार्यक्रम सञ्चालन गर्ने हो त्यसका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने अनिवार्य सर्त उल्लेख छ । विभिन्न प्राविधिक कक्षाको ब्रिज कोर्स पढाएर दाङ, बुटवल, पाल्पा, काठमाडौंलगायत ठाउँमा विद्यार्थी पुर्‍याउन पनि मोटो रकम असुलेको पाइएको छ ।

प्रतिविद्यार्थी १७ हजारदेखि ४० हजारसम्म रकम असुलेर विद्यार्थीलाई जिल्ला बाहिर पठाइएको अनुगमनका क्रममा पाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लालबहादुर घर्तीले बताए । शैक्षिक संस्थाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमका लागि आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार नभएको पाइएको घर्तीले बताए । ‘जसरी भए पनि पैसा आर्जन गरौं भन्ने उद्देश्यबाट प्रेरित भएर संस्था सञ्चालन गरेको पाइयो,’ घर्तीले भने, ‘अब यसरी मनोमानी गर्न दिनुहुँदैन भन्ने अनुगमन टोलीको निष्कर्ष छ ।’ खलंगा बजारमा अक्सफोर्ड इन्स्टिच्युट तथा टेक्निकल कलेज, जेनिथ एजुकेसन प्रालि, सानीभेरी इन्स्टिच्युट, रेडपाण्डा इन्स्टिच्युट, क्रिएटिभ ट्युसन तथा कोचिङ सेन्टर, सफलता इन्स्टिच्युट, राप्ती नाइन्स इन्स्टिच्युट, सारनाथ टेक्निकल इन्स्टिच्युट, सिस्ने ट्युसन ट्ेरनिङ सेन्टरलगायतले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले अनुगमन टोलीको प्रतिवेदनअनुसार खलंगामा सञ्चालित शैक्षिक संस्थाले प्रस्ट रूपमा काम नगरिरहेको पुष्टि भएको बताए । शैक्षिक संस्थाको उद्देश्यअनुसार आवश्यक मापदण्ड पूरा गरेर मात्रै अबका कार्यक्रम सञ्चालन गर्न दिइने प्रजिअ रेग्मीले बताए । मुसिकोट नगरपालिकासँग आवश्यक समन्वय गरी कानुनविपरीत र मापदण्ड नपुर्‍याएका संस्थाहरू चाँडै बन्द गर्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?