कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले उपभोग्य वस्तु बाटैमा अलपत्र

सुर्खेत र नेपालगन्जबाट सामान बोकेर आएका दुई दर्जन बढी मालवाहक गाडी बाटैमा रोकिएको प्रहरीले जनाएको छ 
राजबहादुर शाही

मुगु — वर्षाका कारण गमगढी–नाग्मा सडक करिब तीन सातादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री बीच बाटोमै अलपत्र परेका छन् । वर्षाका कारण सडकको ठाउँठाउँमा पहिरो गएपछि र हिलाम्मे बनेपछि मालवाहक गाडी बीच बाटोमै रोकिएका छन् ।

पहिरोले उपभोग्य वस्तु बाटैमा अलपत्र

झयारी खोला, ताल्चा एसमोड, मैतुडाँडा र जुम्लाको कोइरेली, रोकायाबाडालगायत क्षेत्रमा गाडी अलपत्र परेको प्रहरीले जनाएको छ । गाडी रोकिएपछि लाखौं मूल्यका उपभोग्य सामग्री बाटोमै अलपत्र परेका हुन् ।

गाडी चल्न नसक्दा सुर्खेत र नेपालगन्जबाट खरिद गरी ल्याइएका सामान विभिन्न स्थानमा रोकिएको व्यवसायीको भनाइ छ । ‘मेरोमात्रै चार गाडी समान बीच बाटोमै रोकिएको छ,’ भण्डारी जनरल स्टोरका प्रोपराइटर रवि रावतले भने, ‘सडक कहिले खुल्ने हो एकिन छैन, सामान बाटोमा रोकिँदा चोरीको डर भएको छ ।’

सुर्खेत र नेपालगन्जबाट सामान बोकेर आएका दुई दर्जन बढी मालवाहक गाडी बाटैमा रोकिएको प्रहरीले जनाएको छ । बिक्रीका लागि ल्याएको केही खाद्यवस्तु तथा तरकारी कुहिने अवस्थामा पुगेको व्यवसायीको गुनासो छ । उपभोग्य सामान बीच बाटोमै रोकिएपछि अभाव हुन थालेको उनीहरूको भनाइ छ ।

केही व्यापारीले हिलोमा फसेका ठूला गाडीको समान निकालेर ट्याक्टरमा राखेर गमगढी बजार पुर्‍याउन खोजे पनि सफल नभएको बताएका छन् । वर्षाले सडक अवरुद्ध हुँदा घाटा सहनुपरेको व्यवसायी सुमित्रा रावलले बताइन् । दिउँसो सडक अवरुद्ध भए सडक डिभिजन कार्यालयले एस्काभेटर लगाएर खुलाउने दाबी गरेको छ ।

गाडी बीच बाटोमा रोकिँदा चालक, सहचालकलाई खान, बस्न समस्या भएको छ । नेपालगन्जबाट बिक्रीका लागि खरिद गरिएका तरकारी, फलफूल तथा अण्डा बीच बाटोमै थन्किएको व्यवसायीको गुनासो छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले साना जिप चले पनि ठूला गाडी सञ्चालनमा समस्या आएको बताए । उनले वर्षा रोकिए एक/दुई दिनमै सडक खुलाउन पहल गरिने बताए ।

९४ किलोमिटर दूरीको गमगढी–नाग्मा सडक कालोपत्रे नहुँदा हरेक वर्षामा हिलाम्मे हुने गरेको छ भने हिउँदमा धुलाम्मे । सडक अवरुद्ध भएपछि यात्रुहरू घन्टौं यात्रा गर्न बाध्य छन् । गमगढी–नाग्मा सडक सञ्चालनमा आएको सात वर्ष पुगे पनि अझैसम्म कालोपत्रे गरिएको छैन ।

पहिरोले ३ घर भत्किए
डोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा मुडेचुला गाउँपालिका– ७, सर्मीमा तीन घर भत्किएका छन् । गाउँका अन्य घरहरू पनि जोखिममा परेका छन् । बुधबारदेखि परेको अविरल वर्षाका कारण राजबहादुर बुढाको ३ तले, देउरूपा ठकुल्लाको ५ कोठेघर र हरिबहादुर बुढामगरको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर पुरिएपछि अन्नपात, लत्ताकपडा, धनमाल सबै पुरिएका छन् । प्रहरीका अनुसार स्थानीय बल्जित बुढा, शुभलाल बुढा, प्रसाद रोकाया, अंख ठकुल्ला, कालिबहादुर ठकुल्ला, बुद्धिलाल बुढालगायतको घरमा आंशिक क्षति पुगेको छ । घरमा क्षति पुगेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

पहिरो गाउँमा खसेपछि स्थानीयबीच खैलाबैला भएको थियो । पहिरोले दुई साताको अवधिमा एक दर्जन बढी घर भत्काएको छ । डेढ दर्जन घर पहिरोको उच्च जोखिममा छन् ।

मुडेचुला गाउँपालिकाको सबैभन्दा ठूलो गाउँ सर्मीमा पहिरोको त्रास भएको हो । गाउँमा करिब एक सय ८० घर छन् । सबै घर एकै ठाउँमा भएकाले र पहिरो खस्ने क्रम जारी रहेकाले ठूलो क्षति हुने स्थानीयको भनाइ छ । पहिरो प्रभावितहरू आसपासका गाउँमा गई आफन्तको घरमा शरण लिन थालेका छन् । जोखिम मोलेर गाउँमै रहनेहरू रातभर जाग्राम बस्ने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?