कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरामीलाई सहायता

रुकुम पश्चिम — जनप्रतिनिधिहरूले आफूहरूले पाएको सेवा सुविधा तथा भत्ता बिरामी र घाइतेलाई सहयोग गरेका छन् ।

बिरामीलाई सहायता

वडाध्यक्ष र केही वडा सदस्यले उपचारमा समस्या बेहोरिरहेका बिरामीलाई आर्थिक सहयोग गरेका हुन् । मुसिकोट नगरपालिका–१२ का अध्यक्ष प्रेम ओलीले बैठक, तालिम र अनुगमनबापत पाएको ५१ हजार नगद एक बिरामीलाई सहयोग गरेका छन् ।

उनले मुसिकोट नगरपालिका–११, भलाक्चाका ३४ वर्षीय कृपाराम खड्काको उपचारका लागि सहयोग गरेका हुन् । लडेर करङ भाँचिँदा त्यसको उपचार गराइरहेका खड्कालाई ओलीले उनकै घरमा गएर सहयोग रकम हस्तान्तरण गरेका छन् ।

उपचारका लागि हालसम्म १५ लाख बढी रकम खर्च भइसके पनि निको हुन नसकेकाले थोरै भए पनि सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको अध्यक्ष ओलीले बताए । खड्काका हातखुट्टा चल्दैनन् भने पिसाब पनि क्याथेटरमार्फत गराउने गरिएको छ ।

त्रिवेणी गाउँपालिका–१ का अध्यक्ष मोहनकिशोर ओली, ४ का अध्यक्ष चन्द्रबहादुर खड्का, ६ का वडाध्यक्ष राजेन्द्र पुन, वडा नम्बर–१ का सदस्य सदस्य लक्ष्मण ओली, ४ वडा सदस्य प्रेमबहादुर बाँठामगर र वडा नम्बर–५ का निर्वाचित सबै जनप्रतिनिधिले त्रिवेणी गाउँपालिका–५ का तुलबहादुर घर्तीलाई एकमुष्ट ४७ हजार सहयोग गरेका छन् ।

त्यस्तै, बाँफिकोट गाउँपालिका–३ का अध्यक्ष चन्द्रबहादुर केसी र मुसिकोट नगरपालिका–१० का सदस्य धनबहादुर खड्काले पनि सेवा सुविधा तथा बैठक भत्ताबापत पाएको रकम बिरामीलाई सहयोग गरेका छन् । वडाध्यक्ष केसीले बाँफिकोट–१० का मनबहादुर चन्दलाई पाँच र ३ नम्बर वडाका मनबहादुर ओलीलाई तीन हजार नगद सहयोग गरेका छन् ।

मुसिकोट–१० का सदस्य खड्काले भालुको आक्रमणबाट घाइते रुकुम पूर्व भूमे गाउँपालिका–१ का कैलाश पुनको उपचारका लागि पाँच हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । पुनको काठमाडौं बल्खुस्थित राजधानी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा १५ लाख खर्च लाग्ने अस्पतालले बताएको छ । लुगुुम्याल समाज काठमाडौंले पुनको उपचारका लागि सहयोग संकलन गरिरहेको छ । बिरामीको उपचारमा सहयोग पुगोस् भनेर थोरै भए पनि सहयोग गरिएको उनीहरूले बताए ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?