कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदर र बँदेलले मकै मासे

विप्लब महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका १, देवस्थलस्थित माल्पे, खहरेखोला, बेलखोला, बाग्चौरलगायत गाउँमा बाँदर र बँदेलले मकै बाली नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । दिउँसो बाँदर र राति बँदेलले मकै बाली नष्ट गर्न थालेपछि किसान आजित छन् ।

बाँदर र बँदेलले मकै मासे

जंगली जनावरका कारण तीन सय बढी किसानले लगाएको एक हजार रोपनीको मकै बाली नष्ट भएको छ ।


बाँदर र बँदेलले बदाम, तरुल, गन्जी, केरा, पिँडालुमा समेत क्षति पुर्‍याउन थालेको किसानको गुनासो छ । स्थानीय खर्कबहादुर विष्टले बाँदर र बँदेल बथानमा आउन थालेपछि नियन्त्रणमा समस्या भएको छ । पहरा दिए पनि बाली बचाउन नसकेको उनको भनाइ छ ।


‘बाँदर र बँदेलले यसपालि मकै बाली खत्तमै बनाएको छ,’ उनले भने, ‘भर्खरै घोका लाग्न थालेका मकै खानेजति खाने र बाँकी भाँचेर नोक्सान पारिरहेको छ ।’ २४ सै घण्टा आलोपालो गरेर पहरा दिँदै आएको उनको भनाइ छ । बारीभरि एक दर्जन बढी कुकुर छोडिदिए पनि वन्यजन्तु नियन्त्रण गर्न नसकिएको उनले गुनासो गरे ।


बेलखोलाका प्रकाश बुढाले बाली सबै सखाप पारेपछि गुजारा चलाउन समस्या भएको बताए । ‘खेती गरिएको मकै बालीबाट वर्षभरि खान पुग्थ्यो,’ उनले भने, ‘यसपालि सबै चौपट बनाएकाले बीउ निकाल्न पनि समस्या छ ।’ बाँदर र बँदेलले मकैका दाना खाने र ढाड भाँचिदिएकाले गाईबस्तुलाई खुवाउनुपरेको उनले बताए । केही वर्षदेखि जंगली जनावर बढेकाले सोचेअनुसारको बाली भित्र्याउन नसकिएको उनले जनाए । बाली बचाउन टिन ठटाउने गरिएको छ ।


बाली पाक्न नपाउँदै जंगली जनावरले पाखो जग्गामा लगाएको आधा बढी मकै सखाप पारेको स्थानीय मानबहादुर नेपालीले बताए ।


उनले ८ रोपनी जग्गामा मकैबाली खेती गर्दै आइरहेका छन् । जंगली जनावरले सबै बाली खाएपछि बाह्रै महिना मजदुरी गर्नुपर्ने अवस्था आएको उनले जनाए । किसानले स्थानीय तहसँग क्षतिपूर्तिको माग गरेका छन् ।

प्रकाशित : भाद्र ६, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?