कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले चार करोडको क्षति

घर भत्काएपछि नगरका २८ घर परिवार आफन्तको शरणमा बस्न बाध्य भएका छन् ।

रुकुम पश्चिम — निरन्तर वर्षाका कारण आठबीसकोट नगरपालिकामा चार करोड बढीको क्षति भएको छ । साउन अन्तिम सातादेखि भदौ पहिलो सातासम्म नगरपालिकाका विभिन्न ठाउँमा गएको बाढीपहिरो र भूक्षयका कारण करिब चार करोडको भौतिक सम्पत्ति, बाली र जग्गामा क्षति पुगेको हो ।

बाढीपहिरोले चार करोडको क्षति

नगरका ४, ७, ८, ९, ११ र १२ नम्वर वडामा पहिरो, बाढी तथा भूक्षयले क्षति गरेको छ । सबैभन्दा बढी ११ नम्बर वडामा क्षति पुगेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले आठ दिनको अवधिमा नगरपालिकामा ठूलो क्षति पुगेको बताए । विभिन्न ठाउँमा गएको पहिरो, बाढी र भूक्षयको कारण क्षति बेहोरेका दुई सय १४ घरको विवरण संकलन गरिसकेको अधिकृत केसीले जानकारी दिए ।


नगरपालिकाले संकलन गरेको तथ्यांकअनुसार २ सय १४ मध्ये २८ परिवार घरबारविहीन भएका छन् । बाढी र पहिरोले घर भत्काएपछि नगरका २८ घर परिवार आफन्तको शरणमा बस्न बाध्य भएका छन् । यसैगरी १७ घर परिवारको एक ठाउँको घरजग्गा बगे तथा पुरिएपछि विस्थापित भएका छन् । अन्यत्र घर भएका १७ परिवारको घर पूर्ण रूपमा क्षति भएको पाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।


प्रकोपपीडितलाई तीन निकायले राहत वितरण गरेका छन् । आठबीसकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाइटीले नगद, खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरेका हुन् । नगरपालिकाले दिएको तथ्यांकमा उल्लेख भएअनुसार राहत सामग्री पाउनेको संख्या कम छ । नगरपालिकाले १८ घर परिवारलाई ५ हजारका दरले नगद तथा केही खाद्यान्न सामग्री प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले ९ हजारका दरले २० घर परिवारलाई राहत वितरण गरेको छ भने नेपाल रेडक्रस सोसाइटीले ४ परिवारलाई गैरखाद्य सामग्री वितरण गरेको छ । वर्षाको समयमा घरबारविहीन बन्दा पनि राज्यबाट खास राहत पाउन नसकेको सोमे कामीले बताए ।


पहिरो, बाढी र भूक्षयको कारणले क्षती बेहोरेका नगरका २ सय १४ तथा अन्य पीडितलाई राहत प्रदान तथा पुन:स्थापनाका लागि सहयोगसमेत संकलन गर्न थालिएको छ । प्रकोप पीडितहरू समस्यामा भएपछि राहत संकलन गर्न बैंक खातासमेत सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको नाममा रहेको उक्त खातामा प्रकोपपीडितका लागि राहत जम्मा गरिदिन आठबीसकोट नगरपालिका प्राकृतिका प्रकोप व्यवस्थापन समितिले आग्रह गरेको छ ।

प्रकाशित : भाद्र १३, २०७५ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?