कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुग्ध चिस्यान केन्द्र स्थापना

मुसिकोट नगरपालिका र सानीभेरी तथा त्रिवेणी गाउँपालिकाका विभिन्न बस्तीमा उत्पादित दूधलाई बजार पुर्‍याउने उद्देश्यले चिलिङ भ्याट स्थापना
हरि गौतम

रुकुम पश्चिम — मुसिकोट नगरपालिका–४, सोलावाङमा दूध चिस्यान केन्द्र (चिलिङ भ्याट) स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारको अनुदान सहयोग र सहकारीको ९६ लाख २४ हजार रुपैयाँको लगानीमा चिस्यान केन्द्र स्थापना गरिएको हो ।

दुग्ध चिस्यान केन्द्र स्थापना

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ७९ लाख र नागरिक दुग्ध सहकारी संस्थाको १६ लाख लगानीमा चिलिङ भ्याट स्थापना गरिएको हो ।

चिलिङ भ्याट र त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री र एउटा गाडीसमेत खरिद गरिएको छ । दूध संकलनका लागि अर्को गाडी ल्याउने तयारीमा रहेको सहकारीले जनाएको छ । जिल्लाको यो पहिलो चिलिङ भ्याट हो ।

जिल्लामा उत्पादित दूधको सदुपयोग र बाहिर निर्यातका लागि चिलिङ भ्याट स्थापना गरिएको सहकारीका अध्यक्ष धिरन शेर्पालीले बताए । सुरुमा मुसिकोट नगरपालिका, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न बस्तीमा उत्पादित दूधलाई बजार पुर्‍याउने उद्देश्यसहित चिलिङ भ्याट स्थापना गरिएको उनले बताए ।

‘गाउँ बस्तीमा दूध छ, दूध बजार पुग्न समस्या भइरहेका बेला त्यसलाई टेकअप गर्नेगरी चिलिङ भ्याट स्थापना गरेका हौं,’ अध्यक्ष शेर्पालीले भने, ‘दूध बिक्री नभएर खराब हुने अवस्थाको अन्त्य गर्न खोजिएको छ ।’ बजार नजिकका कतिपय किसानको दूध कहिलेकाहीँ बिक्री नहुने समस्या रहेकामा अब उक्त दूधलाई चिलिङ भ्याटमार्फत केही दिन ताजा बनाइराखिनेछ ।

जिल्लामा दूध पुगेपछि जिल्ला बाहिरसमेत निर्यात गर्ने योजनासहित चिस्यान केन्द्र स्थापना गरिएको हो । जिल्लाका विभिन्न ठाउँबाट दूध संकलन गर्ने एउटा र जिल्लाबाट बाहिर दूध निकासी गर्नुपरे अर्को गाडी परिचालन गर्ने तयारी सहकारीले गरेको छ ।

गाउँ–गाउँमा किसान समूह गठन गरी दूध संकलनको चाँजोपाँजो मिलाइने सहकारीका सचिव छविलाल केसीले बताए । ‘सहकारीलाई दूध संकलनमा सजिलो, किसानलाई दूध बेच्न सहज होस् भनेर समूह गठन गरेर दूध संकलन गर्ने योजना छ,’ उनले भने, ‘किसान समूहमार्फत गाउँ, बस्ती वा टोलको निश्चत ठाउँमा जम्मा भएको दूध सहकारीका गाडीमार्फत चिस्यान केन्द्रसम्म ल्याउने व्यवस्था हुनेछ ।’

चिस्यान केन्द्रले निर्वाहमुखी दूध उत्पादनलाई निरुत्साहित बनाई व्यावसायिक दूध उत्पादनलाई प्रोत्साहन गर्ने अध्यक्ष शेर्पालीको दाबी छ । सहकारीले दैनिक दुई हजार पाँच सय लिटर दूध संकलनको अपेक्षा गरेको छ । राप्ती लोकमार्गमा चिस्यान केन्द्र स्थापना गरिएकाले दूध संकलन र निर्यातमा सजिलो हुने विश्वास लिइएको छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?