डेढ महिनादेखि सडक अवरुद्ध

जिल्लामा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री अभाव
राजबहादुर शाही

मुगु — अविरल वर्षाका कारण गमगढी–नाग्मा सडक डेढ महिनादेखि अवरुद्ध भएको छ । लामो समयसम्म सडक सुचारु नहुँदा जिल्लामा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री अभाव हुन थालेको छ । सडक बन्द भएपछि स्थानीयवासी घण्टौं पैदलयात्रा गर्न बाध्य छन् ।

बर्षाका कारण गमगढी–नाग्मा सडक अबरुद्ध भएपछि अलपत्र परेका यात्रु । तस्बिर : राजबहादुर

वर्षाका कारण गमगढी–नाग्मा सडकको घुच्ची सातमोड, झयारी खोला, ताल्चा, मैतुडाँडालगायत स्थानमा पहिरो गएको छ । सडक जताततै हिलाम्मे बनेपछि गाडी चलाउन समस्या भएको व्यवसायीले जनाएका छन् ।

जुम्ला, सिजा क्षेत्रका विभिन्न स्थानमा माथिबाट ससाना पहिरो खसेकाले र रातो माटो हिलाम्मे भएकाले ठाउँठाउँमा गाडी फस्न थालेपछि यातायात सेवा बन्द भएको हो । नाग्मादेखि पिनाझयारी खोलासम्म पहिरो पन्छाएपछि पिनाझयारी खोलासम्म फाटफुट सवारीसाधन आउजाउ गर्ने गरेका छन् तर अन्य स्थानमा समस्या भएको चालकको गुनासो छ ।

Yamaha

सुर्खेत र नेपालगन्जबाट मुगु आएका अधिकांश सवारीसाधन बीच बाटामै रोकिएका छन् । व्यापारीहरूको सामान बीच बाटामै अलपत्र परेपछि दैनिक उपभोग्य सामानको अभाव हुन थालेको हो । ग्यास, डिजेल, सिमेन्ट, फलामे रडलगायत अभाव देखा परेको व्यवसायीले जनाएका छन् ।

सडक अवरुद्ध हुँदा चामल, ग्यास, मैदा, तेललगायत उपभोग्य वस्तुको अभाव हुँदै गएको रवीन्द्र ट्रेडर्स एन्ड सप्लायर्सका प्रोपराइटर रवि रावतले बताए । उनका अनुसार गमगढीमा ग्यास प्रतिसिलिन्डर २ हजारबाट मूल्य बढेर २ हजार ५ सय पुगेको छ । ढुवानीको समस्याले ग्यासको मूल्य बढाउनुपरेको उनले जाए ।

सुर्खेत र नेपालगन्जबाट निजी गाडी तथा साना जिपमा आएका स्थानीयलाई गमगढी पुग्न चार दिनसम्म लाग्ने गरेको छ । सडकको हिलो पहिरो पन्छाउँदै जिप धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय विनोदकुमार मल्लले बताए ।

नजिकिँदै गरेको चाडबाडमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको उद्योग वाणिज्य संघले जनाएको छ । कच्ची सडकले गर्दा हिउँद र बर्खा दुबैमा जिल्लावासीले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए ।

स्काभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन प्रमुख माधव अधिकारीले बताए । सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला हुम्लाका बासिन्दासमेत प्रभावित भएका छन् । सर्केघाट, चंखेली र अदानचुली गाउँपालिकाका स्थानीयले मुगुबाटै खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु लिने गरेका छन् ।

नेपाली सेनाले ट्रयाक खोलेपछि २०६९ सालबाट गमगढीसम्म यातायातका साधन सञ्चालन हुन थालेका हुन् । सडक खुलेको लामो समय बित्दासमेत कालोपत्रे नभएपछि असारदेखि भदौसम्म र पुसदेखि माघसम्म सडक अवरुद्ध हुने गरेको छ । वर्षामा अविरल वर्षा र हिउँदमा हिउँले यातायात सेवा अवरुद्ध हुने गरेको हो ।

त्यस्तै खत्याड गाउँपालिकासँग सदरमुकामलाई जोडिएको गोठीज्युला कालाकाँडा सडक पनि दुई महिनादेखि बन्द छ । ३२ किलोमिटरको सडक बन्द भएपछि गाउँमा समेत दैनिक उपभोग्य सामान अभाव हुन थालेको छ ।

उक्त सडकखण्डको भत्तेरछहरामा सडक भत्किएपछि यातायात सेवा बन्द भएको हो । खत्याडस्थित गम्था गाउँका गोविन्द सन्ज्यालले सडक अवरुद्ध भएपछि जुम्लाको गोठिज्युलाबाट सामान पिठ्यूँमा बोकेर ल्याउनुपर्ने बाध्यता भएको बताए । सडक बन्द भएपछि दैनिक उपभोग्य सामान र निर्माण सामग्री अभाव भएको गम्थाका व्यापारी लोकराज दाहालले बताए ।

गाउँका पसलमा सामान खोज्दाखोज्दै भौतारिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । पाँच वर्षअघि ड्रिलिप प्रोजेक्टले निर्माण गरेको गोठिज्युला–कालाकाडा सडक पनि स्तरोन्नति नहुँदा समस्या भएको उनले गुनासो गरे । उनका अनुसार सडकका कारण स्थानीयले वर्षौंदेखि सास्ती पाइरहेका छन् ।

प्रकाशित : भाद्र १९, २०७५ १०:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्थानीय तहको लेखापरीक्षण सदरमुकाममै

कान्तिपुर संवाददाता

मुगु — महालेखा परीक्षकको कार्यालयबाट आएको लेखापरीक्षण टोलीले सदरमुकाममै बसेर स्थानीय तहको लेखापरीक्षण गर्न थालेको छ ।

लेखापरीक्षणका लागि महालेखाबाट आएको पाँचजनाको टोलीले स्थानीय तहका सम्पूर्ण कागजपत्र गमगढीमा झिकाएर लेखापरीक्षण थालेको हो ।

लेखापरीक्षणका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल सदरमुकाम आएका छन् । खत्याड गाउँपालिकाले लेखारिक्षणका लागि दुई दिन टाढाबाट कागजका भारी आर्सारेर सदरमुकाम पुर्‍याएको छ ।

छायानाथ रारा नगरपालिका, सोरु र मुगमकार्मारोङ गाउँपालिकाको कार्यालय सदरमुकाममै भएकाले केही सहज भएको छ । लेखापरीक्षण टोलीले कागजपत्र सदरमुकाममा ल्याउन भनेपछि सबै कागजात गमगढी पुर्‍याइएको खत्याड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिचन्द्र कार्कीले बताए । वर्षाको समय भएकाले कागजपत्र जोगाउँदै सदरमुकाम ल्याइएको उनको भनाइ छ ।

महालेखा परीक्षकको टोली सम्बन्धित स्थानीय तहको कार्यालयमै पुगेर अडिट गर्नुपर्ने भए पनि सदरमुकाममा बसेकाले समस्या भएको कर्मचारीको भनाइ छ । लेखापरीक्षक टोलीले कागजी प्रमाण मात्र नहेरेर योजनाको अनुगमन, मूल्यांकन र स्थानीयको जनगुनासो सुन्ने काम गरेको भए आफूहरूलाई सिकाइ हुने प्रशासकीय अधिकृत कार्कीको भनाइ छ ।

जनशक्ति अभाव र ३९ वटा कार्यालयको लेखापरीक्षण ३५ दिनभित्र सक्नुपर्ने भएकाले सदरमुकाममै बसेको टोलीले जनाएको छ ।

यस वर्ष कार्यालयले नै सदरमुकाममै बसेर स्थानीय तह र अन्य सरकारी कार्यालको लेखापरीक्षण गर्नु भनेको महालेखा परीक्षक कार्यालयका निर्देशक अजयकुमार सापकोटाले बताए । उनका अनुसार एउटा कार्यालयको लेखापरीक्षण गर्न करिब चार दिनको समय लाग्ने गरेको छ ।

प्रकाशित : भाद्र १९, २०७५ १०:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT