कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायका लागि विद्यार्थीको प्रदर्शन

निर्मला हत्या प्रकरण

जाजरकोट — कञ्चनपुरमा ५४ दिनअघि बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटका विद्यार्थीले प्रदर्शन गरेका छन् । घटना भएको दुई महिना बित्दा समेत हत्यारा पत्ता लगाउन नसकेको भन्दै विद्यार्थी, युवा, बालबालिका लगायतले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

न्यायका लागि विद्यार्थीको प्रदर्शन

उनीहरूले विभिन्न नारा लगाउँदै खलंगाबजारमा प्रदर्शन गरेका छन् । कञ्चनपुरकी १३ वर्षीया निर्मलाका हत्यारालाई तत्काल कारबाहीको माग गर्दै विद्यार्थीले पीडितलाई न्याय दिन प्रहरी, स्थानीय प्रशासन र सरकार चुकेको आरोप लगाए ।

सहभागी विद्यार्थीले सरकारले दोषीलाई कारबाही नगरेर बचाउन खोजेको भन्दै न्यायका लागि पढाइसमेत त्यागेर सडकमा आउनुपरेको प्रतिक्रिया दिए । घटना भएको दुई महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नु सरकारको लाचारीपन भएको जाजरकोट क्रिकेट क्लबका अध्यक्ष अनिश कार्कीले बताए । पहुँचवाला नै घटनामा संलग्न रहेकाले अपराधीलाई जोगाउन सरकार लागिपरेको कार्कीको आरोप थियो । प्रदर्शनमा आधा दर्जन विद्यालयका विद्यार्थीका साथै शिक्षक, महिला, व्यापारी, बुद्धिजीवी लगायतको सहभागिता थियो ।

जाजरकोट क्रिकेट क्लबको संयोजनमा भएको प्रदर्शन खलंगाको थाप्लेचौर, गैरीखाली हुँदै ठाटीमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताले सरकारको चर्को आलोचना गरेका छन् । ‘एउटा बलात्कारी र हत्यारालाई पत्ता लगाउन नसक्ने सरकार हामीलाई चाहिँदैन,’ कार्कीले भने, ‘घटनाको दुई महिना बित्न लाग्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु सरकारको लाचारीपन हो ।’

प्रकाशित : आश्विन २, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?