सासू हत्या आरोपमा पक्राउ
सल्यान — तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाकी ७० वर्षीया खोपी रावतको बुहारी टंकीले बोक्सी आरोपमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार हत्या आरोपमा टंकीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेपछि उनले बहिनी नाता पर्ने पवित्रा गिरीसँग मिलेर सासूको हत्या गरेको स्विकारेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ ५ गते कपुरकोट गाउँपालिका–२ स्थित शिवमन्दिर सामुदायिक वनमा ७० वर्षीया रावत मृतावस्थामा फेला परेकी थिइन् । बुहारी टंकी र गिरीले योजनाबद्ध रूपमा हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । वृद्धालाई सामुदायिक वनमा लिएर दुवै जनाले लठ्ठी प्रहार गरी बेहोस बनाएपछि हँसियाले शरीरका विभिन्न भागमा खोपेर हत्या गरेको खुलेको प्रहरी डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।
प्रहरीका अनुसार भदौ ३ गते आफूलाई लागेको रोग निको नभएपछि बुहारी टंकी झारफुक गर्न सासू खोपी र बहिनी पवित्रालाई लिएर कपुरकोट आएकी थिइन् । झारफुक गराउँदा धामीले आफ्नै कुल–घरानाभित्रैबाट बोक्सी लागेको बताएका थिए ।
दुई दिन कपुरकोट बसेर फर्कंदा उनीहरूले जंगलको बीचमा लगेर वृद्धाको हत्या गरेको प्रहरीको भनाइ छ । साथैमा लिएको मट्टीतेलले शव जलाउने प्रयास गरे पनि अविरल वर्षाका कारण आगो नबलेपछि उनीहरू स्याउलाले छोपेर भागेका थिए । उनीहरूलाई अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
प्रकाशित : आश्विन ६, २०७५ १८:४३