कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगर सफाइमा विद्यार्थी

भीमबहादुर सिंह

जाजरकोट — त्रिभुवन माध्यामिक विद्यालय खलंगाका विद्यार्थी विकास कार्की र अमिन विक हरेक शनिबार हातमा झाडु लिएर बजार निस्कन्छन् । उनीहरूले बिदाको दिनलाई नगरको सरसफाइमा छुटयाउने गरेका छन् ।

नगर सफाइमा विद्यार्थी

सोही विद्यालयकी छात्रा तुलसी खत्री र नेहा कार्कीको पनि खलंगा बजारको सरसफाइ अभियानमा सहभागिता छ ।

त्रिभुवन माविका उनीजस्तै करिब दुई दर्जन विद्यार्थी हरेक शनिबार भेरी नगरपालिकाको वडा नं. ३ र ४ स्थित खलंगा बजारको सरसफाइमा जुट्छन् । विद्यार्थीले सरसफाइ अभियान सुरु गरेको दुई साता बितेको छ । जाजरकोट युवा क्रिकेट क्लब र त्रिभुवन माविका विद्यार्थीको संयुक्त आयोजनामा अभियान सुरु भएको हो ।

विद्यार्थीले अभियानको सुरुआत त्रिभुवन माविकै प्रांगणबाट गत शनिबार गरेका हुन् । विद्यार्थीले खलंगा सरसफाइ अभियानलाई भेरी नगरपालिका–३ स्थित ठाटीबजारसम्म पुर्‍याएका छन् । बालबालिकाले सडक, नाली, चौतारो, विद्यालय खेलमैदानलगायत सफा गर्ने गरेका छन् । बालबालिका झाडो बोकेर घरअगाडि सफा गर्न आउँदा स्थानीय लज्जित हुने गरेका छन् ।

बजारको वातावरण दूषित तथा दुर्गन्धित बन्दै गएकाले विद्यार्थीसँग मिलेर सरसफाइमा जुटेको क्रिकेट क्लबका अध्यक्ष अनिश कार्कीले बताए । ‘सदरमुकाम फोहोरले दुर्गन्धित बन्दै गएको छ तर त्यसतर्फ कसैको ध्यान पुगेको छैन,’ अध्यक्ष कार्कीले भने, ‘त्यसैले बिदाको दिनलाई सदुपयोग गर्नेगरी अभियान सुरु गरिएको हो ।’ उनले ‘क्लिन जाजरकोट, ग्रिन जाजरकोट’ बनाउने गरी विद्यार्थी सरसफाइमा जुटेको उनले बताए ।

सरसफाइ मात्र हैन, खलंगाबासीलाई सडकमा फोहोर वस्तु नफाल्ने, फोहोर वस्तुलाई उचित स्थानमा विसर्जन गर्ने, घरआँगन तथा चर्पी सफा राख्न लगाउने, निर्माण सामग्री सडकमा राख्न नदिने र उचित ढल निकासको व्यवस्थाबारे खबरदारी गर्ने गरिएको छ । यो अभियानलाई टोलटोलमा पुर्‍याइने कार्कीले बताए । भेरी नगरपालिकाले समेत सरसफाइ अभियानलाई कार्ययोजनामा राखेको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वडा नं ३, टाटे जंगलमा दुई डम्पिङसाइट निर्माण गरेको जनाएको छ । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने फोहोरमैला र दुर्गन्धलाई व्यवस्थापन गरेर सफा तथा सुन्दर नगर निर्माणको अभियानमा जुटेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । यसका लागि खलंगा बजार क्षेत्रभित्र एक सय ५० डस्टबिन राखिएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?