कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोट दरबार: मर्मत नहुँदा जीर्ण

भीमबहादुर सिंह

जाजरकोट — साढे तीन सय वर्ष पुरानो इतिहास बोकेको जाजरकोट दरबार जीर्णोद्धारको पर्खाइमा छ । बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको दरबार मर्मत सम्भारको अभावमा जीर्ण बनेको हो ।

जाजरकोट दरबार: मर्मत नहुँदा जीर्ण

सरकारले दरबारको पुनर्निर्माणमा बेवास्ता गरिरहेको स्थानीयको गुनासो छ । वि.सं. १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको दरबारको तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए ।

इतिहासका जानकार राजुराजा सिंहका अनुसार जाजरकोट राज्यका संस्थापक जगती सिंह र अन्तिम राजा स्वयंप्रकाश विक्रम शाह थिए । तत्कालीन राजा गजेन्द्रनारायणले साततले दरबारको निर्माण गरेका थिए ।

यसअघि दरबार हालको भेरी नगरपालिका–११, जगतीपुरमा थियो । ‘जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायणथान लगायत रहेको इतिहासमा उल्लेख छ,’ सिंहले भने । १९९० सालको भूकम्पका कारण दरबारको स्वरूप परिवर्तन भएको सिंहको भनाइ छ । ५७ वर्षअघि तत्कालीन राजाले सरकारलाई बिक्री गरेपछि दरबारको इतिहास थप मेटिएको उनको भनाइ छ ।

दरबारको संरक्षण नहुँदा पूर्वजको चिनारी र ऐतिहासिक सम्पदा नष्ट हुन गएको स्थानीयको भनाइ छ । ऐतिहासिक जगतीपुर दरबारको भग्नावेशसमेत भेटिन छाडेको छ । जाजरकोट संरक्षणमा सम्बन्धित निकायको ध्यान नगएको संरक्षणकर्मीको भनाइ छ ।

केही वर्ष अघिसम्म बडादसैंमा बन्दुक पड्काउने, हर्षबढाइँ गर्ने चलन थियो । स्थानीय जानकारका अनुसार तत्कालीन राजाका एक सय थान बन्दुक र ५ दर्जन सिपाही थिए । अहिले दरबारमा जिल्ला प्रशासन कार्यालय छ । दरबार कला, संस्कृति तथा इतिहासको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।

भक्तपुरबाट ल्याएका चर्चित कालिगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण भएको जानकार केदारबहादुर शाहले बताए । ‘पछिल्लो समय सरकारी बेवास्ताका कारण दरबार जीर्ण बन्दै गएको छ,’ शाहले भने, ‘नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शक्तिशाली राज्यको रूपमा जाजरकोट थियो ।’

दरबार पुरातत्त्व विभागमा दर्ता भए पनि रेखदेख र संरक्षणमा कसैको चासो नदेखाएको उनले जनाए । उनका अनुसार दसैंका बेला जाजरकोट राज्यको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउने राँगो बलि मेला पनि ओझेल परेको छ ।

जगती सिंहपछिका राजा विजय सिंहको घोडाले मन पराएको खलंगाको पीपलडाँडामा दरबारको निर्माण भएको थियो । दरबारलाई तत्कालीन राजा प्रकाशविक्रम शाहले २०४२ सालमा जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए ।

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्को पूजा गर्न ९ राँगा र ९ बोकाको बलि दिने चलन हराउँदै गएको उनले बताए । १९९० सालको भूकम्पपछि पुनर्निर्माण हुँदा दरबार चार तलामा झरेको थियो ।

दरबारको भव्य महलबीचमा रानीहरूले नुहाउने तलाउ र दुई सिंहले खुट्टा उचालेर आक्रोश व्यक्त गरेको चित्रण देखिने कलात्मक प्रवेशद्वारको अहिले नामनिसान छैन । सरकारले २०१७ सालमा राजा रजौटाको उन्मूलन गरेपछि राजाले बस्न छाडेको यो दरबारका ऐतिहासिक वस्तुहरू हराएका छन् । दरबारको सातौं तलामा रहेको नारायणथानको मन्दिरको प्राचीन मूर्ति पनि हराएको शाहले बताए ।

वि.सं. १९१४ मा ताक्लाकोटको लडाइँमा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले विजय हासिल गर्दाका छालाको तोप र अन्य हतियार राष्ट्रिय संग्रहालय छाउनीमा रहेको शाहको भनाइ छ । १८२५ साल माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसँग मितेरी साइनो लगाएर गरेको धर्मसन्धिका बेला पाएका केही उपहार तथा दस्तावेज पनि हराएको शाहको भनाइ छ ।

दरबार पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले दुई वर्ष २७ करोडको लागतको डिजाइनअनुसार बजेट निकासा नभएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले बताए । भवन डिभिजन कार्यालयले बनाएको उक्त डिजाइन अर्थ मन्त्रालयमा अड्किएको उनको भनाइ छ ।

कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरीे डिजाइन बनाएको थियो । ‘ऐतिहासिक महत्त्व बोकेको यो दरबारको पुनर्निर्माण नहुनु दुर्भाग्य भएको हो, तीन वर्षअघिको भूकम्पका कारण दरबार भवन छेक्षतविच्छेद भएको छ,’ उनले भने, ‘जीर्ण दरबारमा कार्यालय नै सञ्चालन गर्न समस्या छ ।’

प्रकाशित : आश्विन ९, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?