कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमै प्राविधिक शिक्षा

विष्णुलाल बुढा

डोल्पा — जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले गाउँमै प्राविधिक शिक्षा अध्ययन गर्न थालेका छन् । सामुदायिक विद्यालयले कृषि, कम्प्युटर र ओभरसियरको पढाइ सञ्चालन गरेपछि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ ।

गाउँमै प्राविधिक शिक्षा

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर र विद्यार्थी संख्या बढाउन प्राविधिक शिक्षा सञ्चालन गर्ने क्रम बढ्दै गएको छ । त्रिपुरा माध्यमिक विद्यालय, काइगाउँले कम्प्युटर इन्जिनियरिङअन्तर्गत कम्प्युटर ओभरसियरको पढाइ सञ्चालन गरिरहेको छ ।

पढाइ सञ्चालन भएपछि विद्यार्थीले गाउँमै गुणस्तरीय प्राविधिक पाएको प्रधानाध्यापक जयबहादुर बस्नेतले बताए । ‘विद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेको थियो, प्राविधिक शिक्षा सुरु गरेपछि अन्य विद्यालयमा गएका विद्यार्थीसमेत फर्केका छन्,’ उनले भने,‘ प्राविधिक शिक्षाका कारण अन्य कक्षाको समेत शैक्षिक गुणस्तर सुधार गर्न सजिलो भएको छ ।’

विद्यालयले शैक्षिक सत्र २०७३ देखि प्राविधिक धार सञ्चालन गरेको हो । यसवर्ष प्राविधिक धारतर्फ कक्षा ११ मा ३०, कक्षा १० मा ४४ र कक्षा ९ मा ४४ जनाले अध्ययन गरिरहेका छन् । आफ्नै ठाउँमा प्राविधिक शिक्षा पढ्न पाएपछि विपन्न विद्यार्थीसमेत लाभान्वित बनेको विद्यार्थी कमल बुढाले बताए ।

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षणका कारण आदर्श माध्यमिक विद्यालय जुफालले पाँच वर्षदेखि कृषि जेटिएको पढाइ सञ्चालन गरिरहेको छ । यस वर्षदेखि प्रमाणपत्र तहको कृषि विज्ञान (आईएसीएजी) कक्षा सञ्चालन सुरु गरेको छ ।

प्राविधिक शिक्षाका कारण विद्यार्थी पढाइ सकिनबित्तिकै रोजगारीमा लाग्न थालेको प्रधानाध्यापक पूर्णबहादुर डाँगीले बताए । ‘साधारणभन्दा प्राविधिक धारतर्फ विद्यार्थी र अभिभावकको धारको शिक्षाबाट विद्यार्थी र अभिभावकले धेरै आशा गरेका छन्,’ उनले भने,‘त्यसैले प्राविधिक धारतर्फको पढाइ सफल बन्दै गएको छ ।’

सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयले यसै वर्षबाट ओभरसियरको पढाइ सुरु गरेको छ । सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी भर्ना खुलाइएको शिक्षक भूपेन्द्र रानाले बताए ।

‘बढ्दो बेरोजगारी समस्याका कारण विद्यार्थी प्राविधिक शिक्षातर्फ आकर्षित भएका छन्,’ उनले भने,‘जिल्लामै प्राविधिक शिक्षा सञ्चालन गरेपछि पढाइका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ उनले विद्यार्थीले जिल्लामै कम खर्चमै गुणस्तरीय प्राविधिक शिक्षा पाउन थालेको जनाए ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा प्राविधिक धार सञ्चालनको तयारी थालेका छन् । ग्रामीण क्षेत्रका विद्यालयले समेत सम्बन्धको गृहकार्य सुरु गरिरहेका छन् । यहाँका ग्रामीण क्षेत्रका विद्यार्थी प्राविधिक शिक्षा हासिल गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय तहले समेत प्राविधिक शिक्षाको पहल थालेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सिंहराज डाँगीले बताए ।

उनका अनुसार तीन सामुदायिक विद्यालयले प्राविधिक धार सञ्चालन गरिरहेका छन् । ती विद्यालयमा कृषि, कम्प्युटर र सवओभरसियरको पढाइ भइरहेको डाँगीको भनाइ छ । ‘स्थानीय तहले नीति तथा कार्यक्रममा प्राविधिक शिक्षालाई समाबेश गरेकाले अन्य विद्यालयले समेत तयारी थालेका छन्,’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?