कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्ली बजारमा खानेपानी अभाव

बिप्लब महर्जन

सल्यान — योजना अलपत्र परेपछि कुपिण्डे नगरपालिका–१, सल्ली बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको अभावका कारण तीन सय घरधुरी प्रभावित भएका छन् । खानेपानी अभाव भएपछि स्थानीयलाई अन्य स्थानको पानी प्रयोग गर्नुपर्ने बाध्यता भएको छ ।

सल्ली बजारमा खानेपानी अभाव

पुरानो योजना जीर्ण बनेपछि स्थानीयबासीलाई खानेपानी समस्या भएको हो । सार्वजनिक धारामा पानी आएको बेला स्थानीयको भीड लाग्ने गरेको छ । स्थानीयलाई भेरी नदीलगायत आसपासका खोला किनारमा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । इनारको पानी मोटरमार्फत तानेर बजारमा पुर्‍याउने योजना अलपत्र परेपछि स्थानीयबासी खानेपानी समस्या भोग्न बाध्य छन् ।

उपभोक्ता समितिको लापरबाहीले आफूहरू खानेपानी सुविधाबाट बञ्चित भएको स्थानीयको आरोप छ । कामको जिम्मा लिएका व्यवसायीले कम गहिराइको इनार खनेको र कमसल मोटर प्रयोग गरेको स्थानीयको आरोप छ । वर्षाको समयमै आफूहरूले खानेपानी समस्या भोग्नुपर्ने बाध्यता भएको स्थानीय पुष्कर बिसीले बताए ।

इनार खन्न नगरपालिकाले तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । ‘इनारको पानी मोटरमार्फत तान्ने योजना पनि विफल भयो,’ उनले भने,‘ नयाँ योजनाको काम नहुँदासम्म नगरपालिकाबासीले खानेपानीको लागि सास्ती भोग्नुपर्ने भयो ।’ उनले बाह्रै महिना बजारबासी खानेपानी अभावमा हुने गरेको बताए ।

स्थानीय व्यापारी गणेश बुढाले पानीका लागि राति नै उठेर जरुवातिर जानुपर्ने बाध्यता रहेको बताए । नगरपालिकाले बजारमा सहज खानेपानी आपूर्तिका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । उपभोक्ता समिति गठनमा विवाद भए पनि उक्त योजनाको काम सुरु हुन सकेको छैन ।

स्थानीय दलबहादुर खड्काले खानेपानीको अभावका कारण स्थानीयको दैनिकी प्रभावित हुँदै आएको बताए । उनका अनुसार स्थानीयबासी दूषित पानी उपभोग गर्न बाध्य छन् । पुरानो योजनामार्फत दैनिक ३० लिटरमात्र पानी आउने गरेकाले स्थानीयले सास्ती भोग्नुपरेको उनको भनाइ छ । ‘वितरित पानी एउटा परिवारलाई दिनभर पिउन नै पुग्दैन,’ उनले भने, ‘त्यसैले वर्षौदेखि सास्ती भोग्दै आइरहेका छौं ।’ उनका अनुुसार खानेपानी समस्याका कारण होटल व्यवसाय फस्टाउन सकेको छैन ।

वर्षौंदेखिको खानेपानी अभाव हल गर्न योजना सञ्चालनको तयारी गरिरहेको नगरप्रमुख गोविन्द पुनले बताए । उनले नगरपालिकाले विभिन्न विकल्प राखेर विभिन्न स्थानमा खानेपानी आपूर्तिका लागि सर्भेको कामलाई अगाडि बढाउने योजना बनाएको बताए । ‘खानेपानी समस्या समाधानका लागि पर्याप्त रकम विनियोजन गरिएको छ,’ उनले भने, ‘एक वर्षभित्रै नयाँ योजना सञ्चालन गर्ने नभए पुरानै योजनालाई दिगो बनाई पुनर्निर्माण गर्ने नगरको योजना छ ।’

प्रकाशित : आश्विन १२, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?