कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडीको नयाँ भाडा निर्धारण

भीमबहादुर सिंह

जाजरकाेट — सार्वजनिक यातायातका साधनमा नयाँ भाडा निर्धारण गरिएको छ । सदरमुकाम खलंगाबाट विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको हो ।

गाडीको नयाँ भाडा निर्धारण

खलंगाबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनमा व्यवसायीले यात्रुबाट मनोमानी भाडा लिने गरेको जनगुनासो बढेपछि नयाँ भाडा कायम गरिएको प्रमुुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । यातायात व्यवस्था विभागले निर्धारण गरेको दर बमोजिम नै जिल्लाका विभिन्न सडकमा भाडा कायम गरेको प्रजिअ बस्नेतको भनाइ छ । विभागले गत साता मात्रै देशभरका सडकको भाडा निर्धारण गरेको थियो ।

खलंगा–काठमाडौं, खलंगा–नेपालगन्ज, खलंगा–थलह, खलंगा–पाँचकटिया, खलंगा–तल्लुबगरलगायत सडक र त्यसअन्तर्गतका खण्डमा नयाँ भाडा दर निर्धारण गरेको उनले बताए । अस्थायी रुट परमिट लिएको सडकमा प्रतिकिलोमिटरको साढे ६ देखि ९ रुपैयाँसम्म निर्धारण गरेको बस्नेतले बताए । नयाँ निर्धारण भएको भाडा दरले व्यवसायी र यात्रु दुवैलाई न्याय हुने प्रजिअ बस्नेतको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सरकोकारवाला निकायका प्रतिनिधिको बैठकले खलंगादेखि काठमाडौंको एक हजार पाँच सय ४०, खलंगा–नेपालगन्जको पाँच सय ५०, खलंगा–सुर्खेत चार सय ५०, खलंगादेखि रिम्नासम्मको एक सय २५, खलंगा–थलहको चार सय र खलंगा–पाँचकटिया खण्डको तीन सय रुपैयाँ भाडा कायम गरेको छ । जिल्ला प्रशासन, यातायात व्यवसायी, स्थानीय सरकारका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थितिमा भाडा निर्धारणको निर्णय भएसँगै यात्रु भाडामा नठगिने भएका छन् ।

व्यवसायीले यात्रुको टिकटमा कहाँदेखि कहाँसम्म जाने हो ठाउँ खुलाउनुपर्ने, गाडीमा भाडा दर लेख्नुपर्ने, सार्वजनिक ठाउँ तथा टिकट बिक्री स्थलमा भाडा दरको सूचनापाटी राख्नुपर्ने निर्णय गरिएको छ । त्यस्तो नगरेको पाइएमा तत्काल कानुनी कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

तोकिएको भाडादर लागू भए /नभएको प्रशासन, ट्राफिक प्रहरी, सम्बद्ध व्यवसायी, नागरिक समाजलगायतले अनुगमन गर्ने निर्णय गरिएको छ । रुट परमिट नलिएका र निजी सवारी साधनलाई यात्रु बोक्न नदिने व्यवस्थालाई कडाइका साथ लागू गर्ने प्रजिअ बस्नेतले जनाए । बैठकले पाँचकटियादेखि नारेसम्मको सडकमा सार्वजनिक यातायात सञ्चालनका लागि अस्थायी रुट अनुमति दिने निर्णय गरेको छ ।

यसअघि वर्षाका कारण बिग्रिएको सडकमा जोखिमपूर्ण तवरले यातायात सञ्चालन गर्ने निहुँमा व्यावसायीले चर्को भाडा लिने गरेका थिए । व्यवसायीले कतिपय ग्रामीण सडकमा दोब्बर भाडा लिने गरेको स्थानीय भविन्द्र सिंहले बताए । यसैबीच वर्षाका कारण तीन / चार महिनादेखि भत्किएका सडक एक साताभित्रै मर्मत–सम्भार गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

सडक डिभिजन चौरजहारी, स्थानीय तहलगायतले वर्षामा अवरुद्ध सडक सञ्चालनका लागि तत्काल मर्मत–सम्भार गर्नुपर्ने देखिएको प्रजिअ बस्नेत बताए । ‘दसैं र तिहारजस्ता पर्व नजिकिएकाले यात्रुको सुविधालाई ध्यानमा राखी बिग्रे–भत्केका सडकलाई छिटो सुचारु गर्न अनुरोध गरिएको छ,’ उनले भने, ‘छिन्चु–जाजरकोट सडकका लागि डिभिजन सडक कार्यालय चौरजहारीलाई र अन्य सडकको मर्मत–सुधार गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिएको छ ।’

प्रकाशित : आश्विन १४, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?