कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्यमले गाउँमै आत्मनिर्भर

गाउँमै बसेर उद्यममार्फत राम्रो आम्दानी गर्न सफल युवा समाजमा उदाहरणीय बनेका छन्
बिप्लब महर्जन

सल्यान — यहाँका केही युवाले घरेलु उद्यममार्फत गाउँमै राम्रो आम्दानी गरिरहेका छन् । युवाहरू विभिन्न स्वरोजगारमूलक सीप सिकेर गाउँमै राम्रो आम्दानी गर्न सफल भएका छन् । उनीहरूले अन्य युवालाई समेत गाउँमै रोजगारी दिइरहेका छन् ।

उद्यमले गाउँमै आत्मनिर्भर

सल्यानबाट बर्सेनि करिब एक हजार पाँच सय युवा वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्यांक छ । तर गाउँमै बसेर उद्यममार्फत राम्रो आम्दानी गर्न सफल युवा उदाहरणीय बनेका छन् ।

दार्मा गाउँपालिकास्थित फारुलाका १९ वर्षीय कृष्णबहादुर बुढाथोकीले गाउँमै फर्निचर उद्योग खोलेर राम्रो आम्दानी गरिरहेका छन् । उनले मासिक २० हजार रुपैयाँसम्म रकम बचत गर्दै आइरहेको बताए । विदेश जाने मोह त्यागेर गाउँमै उद्यम गरेको उनको भनाइ छ । ‘सीप भए यही बसेर पनि धेरै आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘गाउँमै परिश्रम गर्दा आत्मसन्तुष्टि मिलेको छ ।’

शारदा नगरपालिका–४, साइलाकम्तका कृष्णबहादुर बस्नेतले फलफूलका बेर्ना उत्पादनमा लागेर वर्षिक चारदेखि ६ लाखसम्म कमाइरहेको बताए । सीपलाई सदुपयोग गर्दै आएका उनकै कमाइले घर खर्च चल्दै आएको छ । ४० रोपनी जग्गामा फलफूलका बेर्ना लगाएको उनले बताए । ‘आफ्नै जग्गाको सदुपयोग गरी नर्सरी फलफूल बगैंचा बनाएको छु,’ उनले भने, ‘बगैंचाका फलफूलले उत्पादन दिन थालेपछि आम्दानी दोब्बरले वृद्धि हुने अपेक्षा छ ।’ उनले गाउँकै चार युवालाई रोजगारी दिएको जानकारी दिए ।

बाँसको चोयाबाट विभिन्न सामग्री बनाउँदै आएका कपुरकोट गाउँपालिकाको गर्पाका ४५ वर्षीय शंकर घर्तीले पनि गाउँमै राम्रो आम्दानी गरिरहेका छन् । खर्च कटाएर वार्षिक दुई लाख रकम बचत हुने गरेको उनको भनाइ छ ।

उनले बुनेको डोको, डालो, छिटवा, ढकिया, माछा मार्ने पेटारोलगायत सामग्री जिल्लाका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला दाङसम्म पुग्ने गरेका छन् । बाँसका सामग्री बनाएर ६ जनाको परिवार पाल्नुका साथै बर्सेनि राम्रो रकम बचत गरिरहेको उनी बताउँछन् ।

हातमा भएको सीप सदुपयोग गरे जागिर वा विदेशको मुख ताक्नु नपर्ने कालिमाटी गाउँपालिका–२, झिगानेका लोकेन्द्र ओलीले बताए । उनले गाउँमै मौरीपालन व्यवसाय गर्दै आइरहेका छन् । आफैंले मौरीघार बनाउने गरेकाले कमाइ राम्रो भइरहेको उनी बताउँछन् ।

६ जनाको परिवार पालेर वार्षिक दुई लाखसम्म रकम बचत गर्ने गरेको उनको भनाइ छ । ‘विदेशमा कमाइ गर्ने छोटो समयका लागि हो, फेरि गाउँमै फर्किएर रोजगारी खोज्नुपर्ने हुन्छ,’ उनले भने,‘गाउँमै गरिएका उद्यमले सधैभरि आत्मसन्तुष्टि दिन्छ र कमाई पनि राम्रो हुने गरेको छ ।’

प्रकाशित : आश्विन १९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?