बजार अनुगमन तीव्र

भीमबहादुर सिंह

जाजरकाेट — दसैं नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ । सदरमुकाम खलंगालगायतका व्यापारिक केन्द्रमा चाडपर्वको मौका छोपेर हुनसक्ने कालोबजारी, मूल्यमा मनपरी, अखाद्य सामग्रीको बिक्री वितरण नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको हो ।

बजार अनुगमन तीव्र

यातायातका साधनमा मनपरी भाडा असुल्न थालिएको गुनासो आउन थालेपछि यातायातका साधनमा समेत अनुगमन थालिएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले स्थानीय उपभोक्ता तथा यात्रु नठगिने वातावरण बनाउन अनुगमन सुरु गरिएको बताए । उनका अनुसार प्रशासन, प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघलगायत सरोकारवाला निकायको संयुक्त टोलीले मंगलबारदेखि अनुगमन थालेको हो । सदरमुकाम खलंगाबाट सुुरु गरिएको अनुगमनलाई जिल्लाभर पुर्‍याइने उनको भनाइ छ ।

चाडबाडका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अखाद्य वस्तुको बिक्री वितरण गर्ने, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने र सरकारले तोके भन्दा बढी भाडा असुल्ने, यात्रुलाई असभ्य व्यवहार गर्नेलगायत गुनासा आउन नदिन अनुगमन थालिएको स्थानीय प्रशासनले जनाएको छ ।


चाडबाडका बेला बजारमा कृतिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अखाद्य वस्तुको बिक्री वितरण गर्ने, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने र सरकारले तोकेकोभन्दा बढी भाडा असुल्ने, यात्रुलाई असभ्य व्यवहार गर्नेलगायत गुनासा आउन नदिन अनुगमन थालिएको स्थानीय प्रशासनले जनाएको छ । अनुगमन टोलीले खलंगाका खुद्रा पसल, खाद्य पसल, मासु पसल र सार्वजनिक यातायातका साधनहरूको अनुगमन गरेको छ ।

बिहीबारसम्म करिब एक सय पसल अनुगमन गर्दा पाँच दर्जन पसल दर्ता नगरी सञ्चालन भएको पाइएको प्रजिअ बस्नेतले जानकारी दिए । बजार अनुगमनका क्रममा म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री हुने गरेको, दर्ताबिनाका पसलहरू सञ्चालनमा रहेको र सरकारले लागू गरेको यातायातसम्बन्धी नियमको अवज्ञा गर्ने व्यवसायी फेला परेको अनुगमन टोलीले जनाएको छ । टोलीले दर्जन व्यापारी तथा यातायात व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ । म्याद गुज्रेका सामग्री जफत गर्ने गरिएको छ । त्यस्तै सरकारी नियम मिच्ने यातायात व्यवसायी तत्काल जरिवानामा परेका छन् ।


अनुगमन टोलीले विभिन्न पसलबाट ३० पोका तेल, १४ प्याकेट भुजा, ३७ प्याकेट मसला, पेय पदार्थ १२ बोतल, दालमोट ३० प्याकेट, बेसनको पिठो ८ प्याकेटलगायत म्याद गुज्रिएका वस्तु जफत गरेको छ । केही किराना तथा खाद्य पसलमा बियर, भोटकालगायत मदिरा र सुर्तीजन्य पदार्थसमेत सँगै राखेर बेच्ने गरेको पाइएकोले त्यस्ता व्यापारीलाई पहिलो पटक चेतावनी दिएको प्रजिअ बस्नेतले बताए ।

अर्को पटक त्यस्तो गरेको पाइएमा पसलका सबै सामान जफत गरी कानुनबमोजिम कारबाही गरिने उनले बताए । अनुमतिबिना मदिरा बिक्री गर्ने पसलबाट २० बोतल बियर, अन्य मदिरा १७ बोतल जफत गरेको प्रशासनले जनाएको छ ।

प्रकाशित : आश्विन २०, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?