कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्दननाथ–भैरवनाथ मन्दिरमा ल्याइयो लिंगो

एलपी देवकोटा

जुम्ला — जिल्लाको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा आइतबार चन्दननाथ नगरपालिका–३, रडिखेल्ला नजिकैको जंगलबाट ५२ हाते लिङ्गो ल्याइएको छ ।

चन्दननाथ–भैरवनाथ मन्दिरमा ल्याइयो लिंगो

चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो घटस्थापनाको दिनमा गाड्ने परम्परा छ । घटस्थापनाका लागि तीनवटा लिङ्गो ल्याइएको छ ।


प्रत्येक दिन पूजापाठ हुने मन्दिरमा साताको एक पटक विशेष पूजा हुने गरेको छ । एक वर्षमा ५२ साता हुने भएकाले ५२ हाते ध्वजासहित ५२ हाते लिङ्गो गाड्ने चलन छ । स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार तीनवटा लिङ्गो गाड्ने चलन लामो समयदेखि चलिआएको छ ।

‘पल्टन, थपला र कमसले लिङ्गो गरी तीन लिङ्गो जंगलबाट ल्याउने चलन हो,’ उनले भने, ‘अहिले सबै लिङ्गो सेना र प्रहरीले ल्याउने गरेका छन् ।’ उनका अनुसार यसअघि सरकारी कर्मचारी, स्थानीय ढाणथपाललगायत आसपास गाउँका क्षत्री र सेनाले पल्टन लिङ्गो ल्याउने गर्दथे । थपला लिङ्गो ब्राह्मण समुदायले र कमसला लिङ्गो जिल्लाभरिका दलित समुदायले ल्याउने चलन थियो ।

केही वर्षदेखि परम्परागत चलन हराएको उनको भनाइ छ । उनले स्थानीयले जंगलबाट लिङ्गो ल्याउन छोडेपछि सेना र प्रहरीको सहयोग लिनुपरेको बताए । चन्दनाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार लिङ्गो गाड्ने परम्परालाई स्थानीयले विशेष पर्वकै रूपमा लिने गरेका छन् ।

यस पटक सरकारी कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयले जंगलबाट खलंगामा रहेको चन्दननाथ मन्दिरमा लिङ्गो ल्याएका हुन् । आइतबार ल्याइएका लिङ्गो विशेष साइत पारी घटस्थापनाको दिनमा मन्दिरमा खडा गर्ने स्थानीय अगुवा चित्रलाल क्षेष्ठले बताए । ‘चन्दननाथ मन्दिरको स्थापनाकालदेखि नै मन्दिरमा ५२ हाते काठको लिङ्गो खडा गर्ने चलन रहिआएको छ,’ उनले भने, ‘२०२० सालसम्म लिङ्गो मनिसको काँधमा बोकेर जंगलबाट मन्दिरसम्म ल्याइन्थ्यो ।’ पछिल्लो समय स्थानीयको सहभागिता कमी हुन थालेपछि डोरीले तानेर ल्याउने गरिएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन २२, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?