कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी चापले कक्षापिच्छे सेक्सन

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–५, मिगृको सरस्वती माध्यमिक विद्यालयले आधारभूत तहका हरेक कक्षामा सेक्सन बाँडफाँड गरेको छ  ।

विद्यार्थी चापले कक्षापिच्छे सेक्सन

विद्यालयले बाल विकासदेखि ८ कक्षा सम्मका सबै कक्षाको सेक्सन बाँडेर पठनपाठन गराइरहेको छ ।

बाल शिक्षादेखि कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा ६ सय ७९ जना विद्यार्थी छन् । प्रध्यानाध्यापक गंगाराम थापाले ८ कक्षासम्म सेक्सन बाँडेर पठनपाठन सञ्चालन गरिरहेको बताए । उनका अनुसार बाल विकास केन्द्रमा ५३ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

एउटै कोठामा पढाउन सम्भव नभएपछि दुई सेक्सन बनाएर पठनपाठन भइरहेको छ । यसैगरी कक्षामा १ मा ९४, २ मा ६२ जना, ३ मा ८७ जना, ४ कक्षामा ७७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यस्तै ५ कक्षामा ६२ जना, ६ कक्षामा ४७ जना ७ मा ५१ जना र ८ कक्षामा ८३ जना विद्यार्थी भर्ना भएकाले सेक्सन बाँडेर पठन पाठन गराइरहेको प्रअ थापाले बताए । उक्त विद्यालयका ९ कक्षामा ३१ र १० कक्षामा ३२ जना विद्यार्थी छन् । ९ र १० बाहेक अरू सबै कक्षाको सेक्सन बाँडेर पठन पाठन भैइरहेको छ ।

विगतको तुलनामा चालु शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थीको संख्या बढेको हो । विद्यालयले पछिल्लो समयमा पठनपाठनमा सुधार गरेकाले विद्यार्थी संख्या बढेको स्थानीयले बताएका छन् । बढेको विद्यार्थीको अनुपातमा भवन र कक्षा कोठा नहुँदा विद्यालयले ठूलो समस्या भोगिरहेको छ ।

विद्यालयका ६ भवनका १२ कोठा बढेका विद्यार्थीलाई अपुग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भण्डारीले बताए । सेक्सन बाँडिएका विद्यार्थीलाई पढाउन स्थानीयको घर भाडामा लिइएको छ ।

स्थानीय भद्रबहादुर मल्लको घर महिनामा चार हजार रुपैयाँ तिर्ने गरी भाडामा लिइएको अध्यक्ष भण्डारीले बताए । ‘विद्यार्थी संख्या बढ्यो,’ उनले भने ‘बढेको संख्यालाई पढाउन पुग्ने संरचना नभएपछि घर भाडामा लिएर काम चलाइरहेका छौं ।’ उनले विद्यालयमा फर्निचरको पनि ठूलो समस्या रहेको बताए ।

नगरपालिकाले बढेको विद्यार्थी संख्याको आधारमा शिक्षकको व्यवस्थापन भने गरिदिएको छ । स्थायी, राहत र नगरपालिकाले करारमा नियुक्त गरेका शिक्षक विद्यालयमा पर्याप्त छन् तर भवन नहुँदा समस्या छ । व्यक्तिगत रूपमा प्रयोग गर्न बनाइएको घर विद्यालयका लागि उपयुक्त नभए पनि बाध्यताबस पठनपाठन गराउनु परेको भण्डारीको भनाइ छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?