कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसाइ व्यवस्थापनले विद्यार्थी चाप

विप्लव महर्जन

सल्यान — बाल विकास केन्द्रमा बसाइ व्यवस्थापन भएपछि दार्मा र कुमाख गाउँपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएको छ  । यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी बस्नका लागि कुसन, खेलौना, बालमैत्री टेबुल, र्‍याकलगायत व्यवस्था गरिएको छ  ।

बसाइ व्यवस्थापनले विद्यार्थी चाप

विद्यार्थीले भुइँमै लेख्न सकिने व्यवस्था मिलाइएको छ । साना विद्यार्थी निद्रा लागेको बेला त्यही सुत्न सक्छन् । बसाइ व्यवस्थापनले विद्यार्थीका कपडा सफा हुने गरेको शिक्षकको भनाइ छ । जनकल्याण आधारभूत विद्यालय स्यालागाउँ, दार्माकोटमा गत वर्षसम्म बाल विकास केन्द्रमा दुई जनामात्र विद्यार्थी नियमित आउने गरेका थिए । बसाइ व्यवस्थापनपछि यस वर्ष ३० जना अध्ययनरत छन् ।

बसाइ व्यवस्थापनका कारण बालबालिकाले विद्यालयमा सजिलै समय बिताउने गरेको विद्यालयकी प्रधानाध्यापक तुलाकुमारी चन्दले बताइन् । ‘बसाइ व्यवस्थापनका कारण बालबालिकाले घरभन्दा विद्यालयको वातावरण मन पराउन थालेका छन्,’ उनले भनिन्, ‘त्यसैले विद्यार्थीको संख्या बढेको छ, सबै बालबालिका नियमित विद्यालय आउँछन् र पूरै विद्यालय समयमा कक्षाकोठामै बस्छन् ।’ १० देखि २ बजेसम्ममात्र कक्षा सञ्चालन हुने भए पनि केही बालबालिका दिउँसो ४ बजेसम्मै विद्यालमा बस्ने गरेको उनको भनाइ छ ।


नियमित विद्यालय आउने बानी पर्न थालेपछि अभिभावकले बालबालिकाको पठनपाठनमा समेत ध्यान दिन थालेका छन् । अभिभावक आफैं विद्यार्थी ल्याएर आउने गरेको बाल विकास सहयोगी कार्यकर्ता देवी केसीले बताइन् । साना बालबालिकालाई पढाइका साथै खेल, चित्र, गीत, अभिनय र नाचबाट शिक्षण गराइने उनको भनाइ छ । विभिन्न खेलौनाको माध्यमबाट बालबालिकाले छिटो सिक्ने गरेको उनले जानकारी दिइन् ।


बसाइँ व्यवस्थापनले बाल बालिकामा धेरै परिवर्तन आएको बालकल्याण आधारभूत विद्यालय घुसखोलाका प्रधानाध्यापक मानबहादुर नेपालीले बताए । उनका अनुसार बाल विकास केन्द्रमा २० जना विद्यार्थी अध्ययनरत छन् । विगतमा कक्षाकोठा व्यवस्थापन राम्रो नहुँदा बालबालिका धुलाम्मेमा बसेर पढ्न बाध्य थिए । धूलोका कारण बालबालिकाको कपडा फोहोर हुने, पढ्न मन नमान्ने जस्ता समस्या थियो । बसाइँ व्यवस्थापन भएपछि बालबालिकाले अतिरिक्त क्रियाकलापमार्फत पाठ्यक्रमको सिकाइ हासिल गर्ने गरेका छन् ।


बसाइँ व्यवस्थापनका लागि सेभ द चिल्ड्रेनले विभिन्न सामग्री उपलब्ध गराएको हो । विद्यालय निरीक्षक चन्द्रबहादुर बुढाका अनुसार बसाइँ व्यवस्थापन र विभिन्न शैक्षिक सामग्रीको व्यवस्था भएपछि बालबालिकाको बानीमा समेत सुधार आएको छ । विद्यार्थीले पढाइमा ध्यान दिन थालेको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?