कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्नबाली भित्र्याउने चटारो

हुम्ला/जुम्ला/कालिकोट — दसैं मनाएसँगै यहाँका किसान अन्नबाली भित्र्याउने चटारोमा छन्  । किसानलाई अहिले वर्षे बाली भित्र्याउन भ्याइनभ्याइ छ  ।अधिकांश किसान बिहानदेखि अबेर रातिसम्म खेतबारीमै व्यस्त हुन थालेका छन् ।

अन्नबाली भित्र्याउने चटारो

जुम्लाका सबैजसो फाँटमा धान भित्र्याउने चटारोमा किसान जुटेका छन् । यहाँका किसानले कात्तिकको पहिलो साता धानबाली घर भित्र्याउने गरेका छन् । चन्दननाथ नगरपालिकाका मयालाल देवकोटाले दसैं सकिँदा–नसकिँदै अन्नबाली भित्र्याउने काम सुरु भएको बताए ।

‘दशमीको टीका सकिएसँगै अन्नबाली भित्र्याउन सुरु गरिसकेका छौं,’ उनले भने, ‘तिहारको चहलपहल सुरु नहुँदै बाली भित्र्याइसक्ने लक्ष्य छ ।’ उनले बाली भित्र्याउने चटारोले अधिकांश घरमा अहिले मानिस भेटाउनै समस्या भएको बताए ।

चन्दननाथ नगरपालिका १ स्थित जुम्ला विमानस्थल नजिकैको ज्युलोमा धान काट्न र चुट्न स्थानीयको भीड लागेको छ । दसैं अगाडि नै धान काटिसकेका किसानले अहिले धान भित्र्याइरहेका छन् । कतिपय किसानले धान काट्ने र भित्र्याउने काम सँगसँगै गरिरहेका छन् । केही गाउँमा धान काट्ने, स्याउ टिप्ने, सिमी भित्र्याउने चटारो एकैपटक छ ।

स्थानीयवासी दसैं मनाएसँगै अन्नबाली भित्र्याउने काम छिटो सक्ने ध्याउन्नमा छन् । दसैं मनाउन बाहिरबाट जिल्लामा आएकाहरू समेत खेतबारीमा व्यस्त बन्न थालेका छन् । तिहार मनाएरमात्र बाहिर फर्कनेहरू अन्नबाली भित्र्याउन व्यस्त रहेको तातोपानी गाउँपालिकाका डिल्ली उपाध्यायले वताए । ‘किसानलाई अहिले एक मिनेट फुर्सद छैन,’ उनले भने, ‘हरेक वर्ष दसैं सकिएसँगै किसानको ध्यान धान भित्र्याउनेमा हुन्छ ।’ उनका अनुसार दसैं अघि र पछि कामको चाप धेरै हुने गरेको छ ।

धान काट्न व्यस्त जुम्लाका किसान । तस्बिर : तुलाराम र एलपी/कान्तिपुर

किसान अहिले धान, सिमी, मकै, कोदो, चिनो, कागुनो, फापरलगायत बाली भित्र्याउन व्यस्त बनेको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले वताए । उनका अनुसार जिल्लाको एक नगरपालिकासहित ७ वटै स्थानीय तहमा कामको चटारो उत्तिकै छ । जुम्लामा यस पटक कालीमार्सी भन्दा उन्नत जातको धान धेरै फलेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो समय जुम्लामा कालीमार्सी धानको क्षेत्रफल घट्दै जाँदा उन्नत जातको धान खेती फस्टाउन थालेको छ । मार्सी धानमा रोगकिराको संक्रमण बढ्दै जान थालेपछि कृषि अनुसन्धान केन्द्र विजयनगरले किसानलाई उन्नत जातको धान खेतीका लागि सिफारिस गरिरहेको छ । कृषि केन्द्रले सिफारिस गरेको धान उत्पादनलाई जोड दिन थालिएको स्थानीय कृषक तारा आचार्यले बताइन् ।

स्थानीय जातको मार्सी धानले असिना र बढी पानी सहन नसक्ने अर्थविज्ञ देवकोटाको भनाइ छ । उनका अनुसार उन्नत जातको धानमा असिना, पानी, र जलवायु परिवर्तन सहन सक्ने क्षमता छ । कृषि अनुसन्धान केन्द्र विजयनगरले लामो अनुसन्धानपछि करिब एक दशकदेखि चन्दननाथ १ देखि ३ र लेकाली १ देखि ३ जातको उन्नत जातको धान सिफारिस गर्दै आइरहेको छ । उन्नत जातको धान फस्टाएपछि कालीमार्सी धान संकटमा पर्न थालेको स्थानीय किसानले जनाएका छन् । ज्ञान केन्द्रका अनुसार जुम्लामा यस वर्ष मार्सी धान एक हजार एक सय हेक्टरमा रोपिएको थियो । उन्नत जातको धान एक हजार सात सय हेक्टरमा रोपिएको केन्द्रले जनाएको छ ।

दियालो बालेर रातमा काम
बिहान उज्यालो हुनेबित्तिकै घर छोडेका हुम्लाका किसान सम्साँझमात्र घरमा फर्किन थालेका छन् । बाली भित्र्याउने चटारोले किसानलाई खेतबारीमै व्यस्त बनाएको हो । ग्रामीण क्षेत्रका किसानले सल्लाको दियो बालेर राति अन्न भित्र्याउने काम गर्न थालेका छन् ।

‘मान्छे घरमै त भेटिँदैनन्, सदरमुकाममा कहाँबाट देखिनु ?’ खार्पुनाथका कालीबहादुर शाहीले भने, ‘त्यसैले दसैं सकिए पनि केही समयसम्म सदरमुकाम सुनसानै हुन्छ ।’ किसानका लागि यो बालीनाली थन्क्याउने समय हो । स्थानीयबीच कसले पहिले काम सक्ने भन्ने होड नै हुन्छ । चंखेलीका रामचन्द्र बुढाले स्थानीयले राति सल्लाको दियालो बालेर काम गर्ने गरेको बताए । ‘कसैलाई कोहीसँग बोल्ने फुर्सद छैन,’ उनले भने, ‘रुखको हाँगामा सल्लाको दियालो बाँधेरसमेत रातिमा काम गरिरहेका छौं ।’

हुम्लामा वर्षे बालीको रूपमा रहेको चिनो, कागुनो, फापर, कोदो, आलु, सिमी, मार्से पाकिसकेको छ । हिउँदमा हिउँ पर्ने र घाँस नपाइने भएकाले खाद्यान्नबाट पाइने नल, पराललगायत घाँस सुकाएर सञ्चित गर्ने समय पनि यही हो । उच्च भेगमा गहुँ छर्ने समय भएकाले पनि कामको भ्याइनभ्याइ भएको स्थानीय बताउँछन् । ‘हिउँदको लागि दाउरा संकलन गर्ने समय पनि यही हो,’ बुढाले भने, ‘दसैं लगत्तै यही चटारोले सबैलाई व्यस्त बनाएको छ ।’

सदरमुकाममा मान्छे नहुँदा व्यवसायी समेत आफ्ना पसल बन्द गरेर घरतिर हिँडेका छन् । सिमकोट माथिल्लो बजारको मूलचोक नजिकै मासु व्यवसाय गर्ने खरी फडेराले पसल नचल्ने हुँदा नेपालगन्ज हिँडेको बताइन् । ‘यता सुनसान छ, यस्तो बेला व्यवसाय चल्ने कुरा पनि भएन,’ उनले टेलिफोनमा भनिन्, ‘त्यही भएर दसैंको निहुँमा नेपालगन्ज आएकी छु ।’ हवाईजहाजको टिकट पाउन समस्या भएकाले पनि केही ढिलोमात्र सिमकोट फर्किने उनले बताइन् ।

खाद्यान्नमा आत्मनिर्भर गाउँ
पर्याप्त सिँचाइ सुविधा र समथर जमिन भएको कालिकोटको चिल्खाया गाउँ खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनेको छ । तिलागुफा नगरपालिका ९, १० र ११ चिल्खायाका बासिन्दाले बर्सेनि मार्सी धान र चामल बेच्ने गरेका छन् ।

पताला क्षेत्रलगायत गाउँबस्तीमा वर्षेनी खाद्य संकट हुने भए पनि चिल्खाया अन्नबाली उत्पादनमा नमुना बनेको छ । ‘हामीले बाहिरको चामल कहिल्यै ल्याएका छैनौ,’ चिल्खायाका पूर्व गाविस अध्यक्ष पार्थीमल खत्रीले भने भने, ‘बरु अरू गॉउकालाई बेच्ने गर्छौ ।’ उनका अनुसार रुरुमा धान उत्पादन नहुने भए पनि जौ, आलु, सिमी प्रशस्त उत्पादन हुने गरेको छ । खत्रीले चिल्खायाको खेतबाटै ५० बोरा धान उत्पादन गर्छन् । उनका अनुसार चिल्खायालाई कालिकोटको तराई पनि भन्ने गरिएको छ ।

चिल्खायाको ढिम्ने गाउँका जयबहादुर शाहीले स्थानीयलाई आफ्नै उत्पादनले बिहान–बेलुकी भात खान पुग्ने बताए । उनका अनुसार गाउँमा कम उत्पादन हुनेले पनि त्यहीं खरिद गर्न पाउने अवस्था छ । गाउँमा गहुँको बीउ खरिद गर्न आसपासका गाउँहरू जुविथा, राचुलीसहित जुम्लाबाट समेत किसान आउने गरेको उनको भनाइ छ ।

गाउँमै धान कुट्न र गहुँ पिस्न स्थानीय विश्वामित्र ढकालले डेढ लाखको लगानीमा चार वर्षदेखि पिसानी कुटानी मिल सञ्चालनमा ल्याएका छन् । जिल्लाका प्राय: सबै गाउँबाट दिनहँुजसो चामलको लागि स्थानीयवासी आउने गरे पनि चिल्खायाबाट कोही नआएको खाद्य व्यापारी राजकुमार चौलागाईंले बताए । जिल्ला खाद्यको रेकर्डअनुसार पनि जिल्ला सदरमुकाम मान्ममा चिल्खायाबाट चामल लिन कोही आएका छैनन् ।

रुरु गाउँबाहेक कामखेत, ढिम्ने, नाबाडा र थाम्खेतमा पनि अन्नबालीको राम्रो उत्पादन हुने तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । उनले चिल्खायालाई जिल्ला कृषि ज्ञान केन्द्रले पनि खाद्यान्न उत्पादनका लागि प्राथमिकतामा राखेको बताए । यहाँको खाद्य उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले कृषक अनुदानसहित विशेष योजना निर्माण गरेको उनको भनाइ छ । ।

‘हिउँद र वर्षा दुवै समयमा पूरै सिँचाइ हुने चिल्खायालाई अर्गानिक खाद्य उत्पादन क्षेत्रको रूपमा विकास गरेका छौं,’ नगरप्रमुख शाहीले भने, ‘लेकमा स्याउ, ओखर, सिमी, आलु र बेंसीमा धान तथा गहुँ खेती गरेर कृषि उत्पादनमा जोड दिएका छौं ।’

चिल्खायामा पशुपालन, बेसार खेती, व्यावसायिक तरकारी खेती, अल्लो प्रशोधन, जडीबुटी प्रशोधन, जडीबुटी चिया उत्पादन जस्ता क्रियापलाप सञ्चालन गरेर आर्थिक समृद्धिको यात्रामा अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पाण्डेले बताए । चिल्खाया जिल्लामै घोडा र भेडा बढी पालिने गाउँ पनि हो ।

चिल्खाया गाउँमा मात्र करिव एक सय ५० घोडाघोडी र पाँच हजार भेडाभेडी छन् । चिल्खायाको फॉटमा तीन/चार पुस्तादेखि १३ किलोमिटर टाढा बन्चु खोलाबाट ल्याइएको दुई ठूला सिँचाइ कूला सञ्चालनमा छन् । चिल्खाया पशुपालन, जडिबुटी र पर्यटकीय क्षेत्रको रूपमा पनि परिचित रहेको नेपाली कांग्रेसकासचिव हर्ष बमले बताए ।

खाद्यान्न उत्पादनमा आत्मनिर्भर भएकाले चिल्खायामा आउने विकासे बजेट विद्यालय, बाटोघाटो, सरसफाइ, विद्युतलगायत क्षेत्रमा खर्च भइरहेको स्थानीय विर्खबहादुर सुनारले बताए । उनका अनुसार स्थानीयले बाँकेको कोहलपुर, बर्दिया, सुर्खेतलगायत ठाउँमा घरजग्गा जोडेका छन् । धान कम उत्पादन हुने रुरु गाउँका २३ जनाले चिल्खाया गाउँमा धान खेत खरिद गरेको पूर्व गाविस उपाध्यक्ष गगनबहादुर थापाले बताए । चिल्खायामा एक सय ३७ दलित र ६ सय अन्य जातिका घरधुरीको बसोबास छ ।

प्रकाशित : कार्तिक ७, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?