कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकीय गन्तव्य बन्दै बौद्ध स्तूप

एलपी देवकोटा

जुम्ला — चन्दननाथ नगरपालिकाको सिंगाचौरमा निर्माण गरिएको बोद्ध स्तूपमा पर्यटकीय गतिविधि बढ्दै गएको छ । पर्यटकको आकर्षण बढ्दै गएपछि स्तूप पर्यटकीय गन्तव्य बनेको हो  ।

पर्यटकीय गन्तव्य बन्दै बौद्ध स्तूप

सिंगाचौरमा झन्डै ७२ फिट अग्लो र ३२ फिट चौडाइको स्तूप निर्माण गरिएको छ ।

मुगुको रारा हुँदै खलंगा पुगेका पर्यटक स्तूप भ्रमणमा जाने गरेका छन् । दैनिक ५० देखि एक सयसम्म आन्तरिक तथा बाह्य पर्यटकले स्तूपको अवलोकन गर्ने गरेका छन् । स्तूपले जुम्लाको प्राकृतिक सौन्दर्यमा रौनक थपेको स्थानीय मयालाल देवकोटाले बताए । जुम्ला र मुगुमा बस्ने मुगाली समुदायले स्तूप निर्माण गरेका हुन् । उनका अनुसार धार्मिक र पर्यटकीय महत्त्वका हिसाबले स्तूप सबैको आकर्षणको केन्द्र बनेको हो ।

जनजाति अगुवा फुर्वाछिरिङ लामाले स्तूपलाई मुलुककै सबैभन्दा ठूलो स्तूप दाबी गरे । उनका अनुसार बौद्ध स्तूप सदरमुकाम खलंगाका लागि भ्यू टावरजस्तै बनेको छ । ‘कर्णाली भित्रिने हरेक पर्यटकका लागि यो एक नयाँ गन्तव्य बनेको छ,’ उनले भने, ‘पर्यटकले यहाँ आएर भरपूर आनन्द लिन सक्छन् ।’ उनले पर्याप्त प्रचारप्रसार हुन सके स्तूप मुलुककै महत्त्वपूर्ण गन्तव्य बन्ने र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने जनाए ।

स्थानीय सिर्जना उपाध्यायले जुम्लाको स्तूपले काठमाडौंको बौद्ध स्तूपको झल्को दिएको बताइन् । ‘यहाँबाट खलंगा बजारको पूरै दृश्य देखिने भएकाले पनि मनमोहक छ,’ उनले भनिन्, ‘आसपासको प्राकृतिक सुन्दरता र मानवीय चहलपहलको दृश्यावलोकनसमेत गर्न सकिने भएकाले स्थानीयको समेत रोजाइमा छ ।’ उनले रारा आउने पर्यटकलाई स्तूपको अवलोकनका लागि ल्याउन सके आर्थिक वृद्धिमा समेत टेवा पुग्ने बताइन् । उनका अनुसार रारा आउने धेरै आन्तरिक पर्यटक स्तूपमा आएर रमाउने गरेका छन् ।

२०६८ सालबाट निर्माण सुरु गरिएको स्तूपको अधिकांश काम पूरा भइसकेको मुगाली संघका अध्यक्ष कार्माठिन्ले तामाङले बताए । ‘प्यागोडा शैलीमा निर्माण गरिएको स्तूपमा नुनदेखि सुनसम्म प्रयोग गरिएको छ,’ उनले भने, ‘हिंसा अन्त्यको सन्देश र स्थानीय अन्न उत्पादन वृद्धिको कामना गर्दै स्तूपमा विभिन्न अन्नको प्रयोग गरिएको छ ।’ उनले बनावट र क्षेत्रफलका हिसाबले देशकै ठूलो स्तूप भएको दाबी गरे ।

जुम्ला, मुगु र काठमाडौंमा बस्ने मुगाली समुदायको सक्रियतामा स्तूप निर्माण गरिएको मुगाली संघका अध्यक्ष कार्माठिल्ने तामाङले बताए । उनले भने, ‘स्तूपले जुम्लाको सौन्दर्यमा नयाँ आयाम थपेको छ, विभिन्न धातुदेखि अमेरिकाबाट सहयोग भएको झन्डै २८ टन किताब स्तूप निर्माणका क्रममा प्रयोग गरिएको छ ।’

स्तूप निर्माणका लागि जुम्ला र काठमाडौंमा बसोबास गर्ने मुगाली समुदायले एक हजार देखि तीन लाख रुपैयाँसम्म व्यक्तिगत सहयोग गरेका छन् । स्तूप निर्माणका लागि गत वर्षको सांसद विकास कोषअन्तर्गत कालिकोटका प्रेमबहादुर सिंहले ५० लाख, जुम्लाका बलबहादुर महतले २० लाख, प्रदेश सांसद दीनबन्धु श्रेष्ठले एक लाख, पूर्वसांसद ललितजंग शाहीले एक लाख, जिविसले एक लाख गरी ७३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

पर्यटन मन्त्रालयबाट क्रमागत रूपमा अहिलेसम्म ३७ लाख रुपैयाँ प्राप्त भएको समितिले जनाएको छ । स्तूप निर्माणका क्रममा करिब २६ करोड रुपैयाँ खर्च भइसकेको समितिले जनाएको छ । संघका अनुसार स्तूप निर्माणको लागत ३० करोड रुपैयाँ हो । स्तुपाको निर्माणको काम अन्तिम चरणमा पुगेसँगै उद्घाटनको तयारीलाई तीव्र पारिएको छ । संघका अनुसार कार्तिक १४ गते धर्म गुरु र पर्यटनमन्त्री रवीन्द्र अधिकारीले स्तूपको उद्घाटन गर्ने तय भएको छ ।

प्रकाशित : कार्तिक १२, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?