कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढाकाको कपडाले बजार पाएन

करिश्मा चौधरी

वीरेन्द्रनगर — सुर्खेती ढाका उद्योगमा दैनिक सात महिलाले नियमित ढाकाका कपडा बुनिरहेका हुन्छन्  । फरक–फरक बुट्टा र डिजाइनका साडी, चोली, धोती, पछ्यौरी, सल, टोपीलगायत कपडा बुन्न उनीहरूलाई भ्याइनभ्याइ छ  ।

ढाकाको कपडाले बजार पाएन

महिलाले बुनेका कपडा आकर्षक र टिकाउसमेत छन् ।

तर, पछिल्लो समय बिक्रीमा समस्या भएको उनीहरूको गुनासो छ । ढाकाका कपडा बुन्न महिला उद्यमीले निकै मेहनत गर्नुपर्छ । ढाकाका कपडा अरू कपडाको तुलनामा बढी मूल्यमा तयार हुने उद्योगकी अध्यक्ष नन्दकला थापामगरले बताइन् ।

रेडिमेड ढाकाभन्दा केही मूल्य बढी पर्ने भएकाले स्थानीय उत्पादनले बजार नपाएको उनको भनाइ छ । ‘हामीलाई ढाका बुन्न गाह्रो छैन, तर बेच्न गाह्रो छ,’ उनले भनिन्, ‘रेडिमेड ढाकाको आयात धेरै भएकाले समस्या छ, किन्ने मान्छेले मूल्य मात्रै हेरिदिन्छन्, गुणस्तर नहेर्दा बेच्न समस्या भएको हो ।’ अहिले धागो, जरीजस्ता कच्चा पदार्थ महँगो भएका छन् । बुन्न मेहनत र समय धेरै लाग्ने तथा उद्यमीको ज्याला बढेकाले बुनेका ढाकाका कपडाको मूल्य बढेको उनी बताउँछिन् । बुनेका कपडाले बजार नपाउँदा उद्यमी
निरुत्साहित भएको अध्यक्ष मगरले बताइन् ।


उद्योगले घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा महिलालाई ढाका बुन्ने तालिमसँगै रोजगारीको अवसर पनि दिएको छ । तालिम लिएर केहीले आफैं व्यवसाय सुरु गरेका छन् भने केहीले उद्योगमै बसेर ढाका बुन्ने काम गर्छन् । उद्योगमै ढाका बुन्ने तालिम लिएकी लक्ष्मी सारुमगर अहिले त्यही उद्योगमा ढाका बुन्न सिकाउँछिन् । उनी आफैं पनि ढाकाको कपडा बुन्छिन् ।


लक्ष्मीले ढाकाको कपडा बुन्न सिकेको १५ वर्ष भयो । आफूले जानेको सीप अरु महिलालाई पनि सिकाउन पाउँदा लक्ष्मी खुसी छिन् । लक्ष्मीले आफ्नो सीपप्रति गर्ब लाग्ने जनाइन् । रहरैले ढाका बुन्न सिकेकी उनी अहिले यसैमा रमाइरहेकी छिन् । ‘हेर्दाहेर्दै धागोबाट कपडा बनाउन सक्छु,’ उनले भनिन्, ‘घरको काम सकेर फुर्सदको समयमा मात्रै बुने पनि महिनामा १० देखि १२ हजार रुपैयाँसम्म सजिलै कमाउन सकिन्छ ।’ पहिलेको तुलनामा अहिले ढाकाको कपडाको माग घटेको उनले बताइन् ।


आफूहरूले बुनेको ढाका गुणस्तरीय भए पनि प्रचारप्रसारको अभावमा बजारीकरणमा समस्या भएको महिलाको भनाइ छ । महिलाका अनुसार समय समयमा लाग्ने मेला, महोत्सव तथा प्रदर्शनीले ढाकाको बजारीकरणमा केही सहयोग गरेको छ । स्थानीय ढाकाको प्रचारप्रसार तथा बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनीहरू बताउँछन् ।

प्रकाशित : कार्तिक १३, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?