कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिउरीबाट जीविकोपार्जन

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिकाको काल्चेकी विमला नेपालीले गत वर्ष जंगलमा खेर गइरहेको चिउरीको बिजुला संकलन गरी बिक्री गरेर ४० हजार रुपैयाँ आम्दानी गरिन्  । यस वर्ष बिजुला संकलन गरेर आम्दानी दोब्बर बनाउने उनको लक्ष्य छ  ।

चिउरीबाट जीविकोपार्जन

उनकै छिमेकी दीपा खड्काले ३० हजार रुपैयाँ कमाइन् । उनीहरूमात्र होइन, काल्चेका अधिकांश स्थानीयले जंगलबाट खेर गइरहेको चिउरीको बिजुला संकलन गरी राम्रो आम्दानी गरिरहेका छन् । उनीहरू अहिले चिउरीको बिजुला संकलनमा व्यस्त बनेका छन् ।


स्थानीयले संकलन गरेको बिजुला बासना हर्बल कम्पनीले खरिद गरेर लिन थालेपछि राम्रो आम्दानी हुन थालेको हो । आम्दानी हुन थालेपछि काल्चेका विपन्न परिवारका सदस्यहरू सिजनको बेला चिउरीको बिजुला टिप्न जंगलमा खटिन्छन् । जसले काल्चेका एक सय बढी परिवारलाई रोजगारी मिलेको छ । उनीहरूले बिजुलाबाट निकालेको घिउ बिक्री गरेर गाउँमा वार्षिक २५ लाख बढी भित्र्याउने गरेका छन् ।


स्थानीय बजारमा प्रतिकिलो एक सय ५० रुपैयाँमा चिउरीको बिजुला बिक्री हुन्छ । सिजनमा स्थानीयले करिब डेढ महिना बिजुला संकलन गर्ने गरेको काल्चेकी रूपा नेपालीले बताइन् । ‘दिनभरि फुर्सद हुन्छ, त्यत्तिकै घर बसेर दिन बिताउनुभन्दा चिउरीको बिजुला संकलन गर्न जान्छौं,’ उनले भनिन्, ‘एक जनाले दैनिक चार/पाँच किलोसम्म बिजुला संकलन गर्न सकिन्छ ।’ काल्चेको अधिकांश जंगल चिउरीले भरिएको उनको भनाइ छ ।


विगतमा जंगलमै सडेर जाने बिजुलाले आजभोलि राम्रो मूल्य पाएको स्थानीय शालिकराम भट्टराईले बताए । उनका अनुसार अहिले जंगलमा बिजुला संकलन गर्न मानिसको भीड लाग्ने गरेको छ । स्थानीयले संकलन गरेको बिजुला सुर्खेत, दाङ, नेपालगन्जलगायत ठाउँमा समेत जाने गरेको छ ।


संकलन गरेको बिजुला किन्न व्यापारी घरमै आउने गरेको उनले जानकारी दिए । धेरै मेहनत गर्न नपर्ने र कोल तथा मिलबाट पेलेर घिउ निकाल्न सकिने भएकाले बिजुला संकलनमा आकर्षण बढेको उनले बताए ।


चिउरीको घिउ बिक्री गरेर यस वर्ष ३० हजार रुपैयाँ कमाइ गरेको स्थानीय निर्मला बिकले बताइन् । उनका अनुसार बिजुला बिक्री गरेर हुने आम्दानीले विपन्न परिवारको करिब तीन महिनाको खर्च टर्ने गरेको छ । ‘पुख्र्यौली पेसा लोप हुँदै गएको छ, त्यसैले युवाहरू मजदुरीका लागि भारत जाने गरेका छन्,’ उनले भनिन्, ‘गाउँमा बस्ने बालबालिका र महिलाले बिजुला संकलन गरी बिक्री गरेर तीन महिनाको परिवारको खर्च धान्दै आएका छौं ।’

चिउरी प्रशस्त पाइने भएकाले मौरीपालन गर्दै आएकालाई समेत फाइदा पुगेको उनले जनाइन् । चिउरी आयआर्जनको राम्रो माध्यम बनेपछि कालीमाटी गाउँपालिकाका सामुदायिक वनले यसको संरक्षणमा ध्यान दिएका छन् ।

प्रकाशित : कार्तिक १५, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?