कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रमदानबाट १७ किलोमिटर बाटो

हरि गौतम

रुकुम पश्चिम — स्थानीयले श्रमदानमार्फत १७ किलोमिटर घोडेटो बाटो मर्मत गरेका छन् । बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाको विभिन्न स्थानमा श्रमदानमार्फत घोडेटो तथा गोरेटो बाटो मर्मत गरिएको हो । 

बाँफिकोट गाउँपालिका–२, मा झनडै १० किलोमिटर बाटो मर्मत गरिएको छ । वडा कार्यालयले स्थानीयवासी परिचालन गरी विभिन्न ६ बाटो मर्मत गराएको हो । लामो समयदेखि मर्मतसम्भार नहुँदा आवतजावत गर्न समस्या भएपछि श्रमदान गराएरै बाटो मर्मत गरिएको वडाध्यक्ष धनबहादुर खत्रीले बताए ।


कार्यपालिकामा रहेका र २ नम्बर वडा सदस्यको नेतृत्वमा कार्य विभाजन गरी बाटो बनाइएको अध्यक्ष खत्रीले जानकारी दिए । खोपीखेउ ज्युलादेखि मेलगैरी सहिद स्मृति पार्क, खोपीखेउदेखि पातीहाल्ना बिसाउना, रुखावाङदेखि भाटी, घटलाई खालीदेखि मेलगैरी विद्यालय सम्मको घोडेटो तथा गोरेटो बाटो मर्मत गरिएको वडा सदस्य तथा बाटो मर्मत समितिका संयोजक कर्णबहादुर खत्रीले बताए ।


उनका अनुसार रुखावाङदेखि स्वाँरासम्म तथा बर्दिगारदेखि कलजुते सम्मको बाटो पनि श्रमदानमार्फत नै मर्मत गरिएको छ । यी बाटो मर्मतमा चार सयबढी स्थानीयले श्रम गरेका छन् । ‘जनताको श्रममार्फत पनि विकास गर्न सकिन्छ भनेर वडा कार्यालयको निर्णय बमोजिम नै बाटो बनाइएको हो,’ वडा सदस्य खत्रीले भने, ‘केही वर्षअघिसम्म चलेको श्रमदानको चलनलाई फेरि निरन्तरता दिन खोजेका छौं ।’


केही वर्षअघि श्रमदानमार्फत बाटोघाटो, चोक चौतारा र विद्यालयसमेत बनाइएको भन्दै उनले अब पनि त्यसरी विकास गर्न खोजिएको बताए । ‘यस पटक गरिएको बाटो मर्मतले केही न केही हामी पनि श्रम गरौं भन्ने भावनाको विकास भएको छ,’ खत्रीले भने, ‘यसलाई निरन्तरता दिन सरकारबाट बजेट र जनताबाट श्रमको अवधारणा अनुसार काम गरिनेछ ।’


त्यस्तै मुसीकोट नगरपालिका–१० का विभिन्न गाउँमा पनि घोडेटो तथा गोरेटो बाटो मर्मतको काम गरिएको छ । स्थानीय आफैंले तीन समूह बनाएर झन्डै सात किलोमिटर बाटो मर्मत गरेका छन् । साबिक चौखावाङ–७, चुनले भेरीखोलादेखि होलकाटुरीसम्मको सडक मर्मत गरिसकेको छ ।


त्यस्तै, साबिक चौखावाङ–९, गलम्पाटीले दुई समूह बनाएर बाटो मर्मत गरिरहेको छ । तल्लो गाउँमा आमा समूहले तल्लो टिलादेखि माछापोखरीसम्म र माथिल्लो गाउँमा महिला समूहको अगुवाइमा माथिल्लो टिलादेखि भेरीखोलासम्मको बाटो श्रमदानमार्फत मर्मत गरिएको स्थानीय खड बुढाले बताए ।

प्रकाशित : कार्तिक २८, २०७५ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?