कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठबिसकोटमा उद्योग

हरि गौतम

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका ९, राडीमा फलफूलको जुस तथा वाइन उत्पादन हुने भएको छ । वाइन उत्पादनका लागि कच्चा पदार्थ संकलनको काम सुरु भइसकेको छ । पहिलो चरणमा वनमा पाइने डिम्मुर (डिमुर) संकलन थालिएको छ ।

आठबिसकोटमा उद्योग

निजी साझेदारी अवधारणाअन्तर्गत नगरपालिकामा दुई करोड ५० लाख रुपैयाँको लगानीमा जुस तथा वाइनरी उद्योग खुल्दैछ । उद्योगले पहिलो चरणमा वाइन उत्पादन गर्नेछ । फलफूलको जुस तथा वाइन उत्पादनका लागि उद्योग स्थापना गर्न लागिएको हो ।


उद्योगमा आठबिसकोट नगरपालिकाको ४० प्रतिशत र नगरपालिकाभित्रका युवा उद्यमीको ६० प्रतिशतमा लगानी छ । नगरप्रमुख गोर्खबहादुर केसीले फलफूलको जुसबाट वाइन उत्पादनको उद्योग स्थापना गरेर फलफूल संकलन थालिएको बताए ।


उनका अनुसार पुग्नेगरी डिम्मुर संकलन भएपछि उद्योगमा राखिनेछ । त्यसअघि पहिला संकलन भएको डिम्मुरलाई आवश्यक प्रशोधन गरेर स्टोर गरिनेछ । पहिलो पटक डिम्मुर र च्युरीको रस प्रशोधन गरेर त्यसकै वाइन बनाइने प्रमुख केसीको भनाइ छ ।


उनले अबको चार वर्षपछि किबीको रसबाट वाइन बनाइने गरी योजना बनाइएको बताए । ६ महिनाभित्रै एक लाख लिटर वाइन उत्पादन हुने र त्यसका लागि दुई लाख किलो फलफूल आवश्यक हुने जनाइएको छ । चार वर्षपछि नगरपालिकाका विभिन्न ठाउँमा गरिएको किबी फल्ने र त्यसैबाट १० लाख लिटर वाइन तयार हुने नगरपालिकाले जनाएको छ ।


त्यसका लागि २० लाख किलो किबी फल्नेगरी योजना बनाइएको नगरप्रमुख केसीले बताए । किबी फल्नुअघिसम्म डिम्मुर र च्युरीबाट वाइन बनाइनेछ । त्यसका लागि यसै वर्ष नगरपालिकाले ५० हजार बोट किबी किसानलाई वितरण गर्न थालेको छ । चार वर्षसम्म उद्योगमा १० करोड लगानी पुर्‍याइने नगरको योजना छ । उद्योगमा हरेक वर्ष नगरपालिका र स्थानीयबाट समेत लगानी थप्दै लगिनेछ ।


अन्तर्राष्ट्रियस्तरकै वाइन तयार गर्नेगरी प्रविधि स्थापना गरिएको दाबी नगरपालिकाले गरेको छ । भारतको सोला वाइनले प्रयोग गरेको प्रविधि र उद्योग स्थापना गर्न लागेको जनशक्तिले नै उद्योग स्थापनाको काम गरिरहेको छ ।


यसका साथै इटालीको डेला टोकलाको प्रविधि नै फलफूलको जुस निकाल्न प्रयोग गरिने र जंगलको फलफूलको रस निकालिने भएकाले अन्तर्राष्ट्रिय गुणस्तरकै वाइन तयार गर्नेगरी लागिपरेको नगरप्रमुख केसीको दाबी छ ।

प्रकाशित : मंसिर १, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?