कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मरिम्ला–धो सडक निरीक्षण

डोल्पा — नेपाल र चीनबीचको सिमाना डोल्पाको मरिम्ला नाकादेखि निर्माण हुँदै धोतर्फ आएको मोटरबाटो निर्माणको स्थितिबारेमा यथार्थ जान्नका लागि नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले निरीक्षण गरेका छन् । 

हेलिकोप्टरबाट शनिबार बिहान साढे ९ बजेतिर डोल्पाको सदरमुकाम दुनै पुगेका नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतको टोलीले हेलिकोप्टरबाट चीनको सिमाना मरिम्लादेखि डोल्पाको सदरमुकाम दुनैतर्फ धोसम्म निर्माण भैसकेको मोटरबाटोको निरीक्षण अवलोकन गरेका छन् ।


निरीक्षण अवलोकनका लागि डोल्पा पुगेका मन्त्री महासेठसहितको टोलीलाई डोल्पाको सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको नेतृत्वमा कर्णाली प्रदेश सदस्य वीरबहादुर शाही, बद्मक्वारी बुढा (बोहोरा), त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा, जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढालगायतका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, डोल्पाली जनता, राष्ट्रसेवक कर्मचारीले बाजागाजासहित खादा लगाई स्वागत गरेका थिए ।


स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेटले राष्ट्रिय सडक सञ्जालमा नजोडिएको डोल्पाको सदरमुकाम दुनैसम्म ट्रयाक खोल्ने काम करिबकरिब सकिएको भए पनि पुल नभएका कारण अवरोध भएको महसुस भएको र नेपाल सरकारले छिट्टै जाजरकोटदेखि दुनैसम्म आवश्यक सबै पुल बनाएर डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाए । मन्त्री महासेठले थपे डोल्पाको समग्र भौतिक विकासका लागि नेपाल सरकारको ध्यान गएकाले चिन्ता नलिन आग्रहसमेत गरेका थिए ।

हेलिकोप्टरबाट माथिल्लो डोल्पाको तिन्जे र धोमा पुगेका मन्त्री महासेठको टोलीलाई त्यहाँका स्थानीयहरूले पनि भव्य स्वागत गरेको जनाइएको छ । माथिल्लो डोल्पामा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले बनाइरहेको मोटरबाटोको निरीक्षण अवलोकनबाट फर्केका मन्त्री महासेठको टोलीलाई पुन: बाजागाजासहित जिल्ला समन्वय समितिको सभाकक्षमा लिई स्वागत कार्यक्रम राखिएको थियो । स्वागत कार्यक्रममा स्थानीयहरूले डोल्पामा केही दिनपछि जाजरकोट–दुनै मोटरबाटोको ट्रयाक खोलिएको भनेर गर्न लागिएको जिप उद्घाटनको समेत विरोध गरेका थिए ।


ट्रयाक खोल्ने काम नसकिएकाले छलगाडदेखि दुनैसम्म नेपाली सेनाले नै आफूले बनाएको मापदण्डमा ट्रयाक खोलेर मात्र ट्रयाक खोल्ने काम सकिएको भन्नुपर्ने दाबी गरे ।


ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेकाले ट्रयाक खोल्ने काम सकिएपछि पनि विभिन्न साना–ठूला नदीमा १४ वटा मोटरेबल पुल नबनाउन्जेल डोल्पा राष्ट्रिय सडक सञ्जालमा नजोडिने भएकाले छिटो पुल निर्माण गरी दुनैसम्म मोटर गुडाउन नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले आग्रह

गरेका थिए ।


मरिम्लादेखि तिन्जे हुँदै धोसम्म निर्माण भएको मोटरबाटो निरीक्षण अवलोकनका लागि माथिल्लो डोल्पा पुगेका भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठको टोली शनिबारै हेलिकोप्टरबाट काठमाडौं फर्केको छ भने पर्यटन, संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा भने माथिल्लो डोल्पाको तिन्जेमै बसेका छन् ।


उनले त्यहाँदेखि तलको खण्ड पैदलै निरीक्षण तथा अवलोकन गर्दै केही दिनमा सदरमुकाम दुनै आउने योजना रहेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले जानकारी दिएका छन् ।

प्रकाशित : मंसिर २, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?