कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नमुना बन्दै बाघखोर गाउँ

करिश्मा चौधरी

वीरेन्द्रनगर — चिटिक्कको घर । अगाडि सानो करेसाबारीसँगै फूलबारी पनि । नाला अनि ग्राभेल गरिएको सफा सडक । शान्त र रमणीय वातावरण । गाउँको अधिकांश घरमा यस्तै देखिन्छ । मगर समुदायको बाहुल्य रहेको लेकबेंसी नगरपालिका–६ स्थित बाघखोर गाउँ नमुना बन्दै गएको छ । 

बाघखोरकी ३७ वर्षीया खेलमती रानाले स्थानीयकै सक्रियतामा गाउँलाई नमुना बनाइएको बताइन् । नमुना गाउँ बनाउनका लागि विभिन्न सूचक कार्यान्वयन हुँदै गर्दा शान्त, सफा र पहिलेभन्दा फरक महसुस गरेको उनको अनुभव छ ।


‘के–के नमिलेजस्तै लाग्थ्यो पहिला,’ खेलमतीले भनिन्, ‘अहिले घर, आँगन सफा र मिलेको देख्दा खुसी लाग्छ ।’ सफा चर्पीको प्रयोग गर्ने, कुहिने र नकुहिने फोहोर फाल्ने दुईवटा खाल्डो बनाएर त्यसैमा फोहोर फाल्ने गरेको उनी बताउँछिन् । महिनामा दुई पटक सडक सफा गर्ने, सुधारिएको चुलो बाल्ने, भाँडा धोएर चाङमा घोप्टाउने गरेको खेलमतीले बताइन् । ‘घरअगाडि फूलबारी, पछाडि सानै भए पनि करेसाबारी र वरिपरि सफा देखेर मन नै आनन्द हुन्छ,’ उनले भनिन् ।


बाघखोरकै नम्रता रानाले आफूलाई जानकारी भएको कुरा व्यवहारमा लागू गर्दा वातावरण र घर सफासुग्घर भएको बताइन् । भान्सा, घर, आँगन, शौचालय र टोलको सरसफाइले आफ्नो गाउँको परिचय फेर्दै गएको उनी बताउँछिन् । ‘जाँड–रक्सी नखाने, होहल्ला नगर्ने, छोराछोरीलाई समान व्यवहार गर्नाले समाज शान्त, सभ्य र समान बन्दै छ,’ उनले भनिन् ।


गाउँलाई शिक्षित, स्वस्थ, शान्त तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन नमुना गाउँ कार्यक्रम प्रभावकारी भएको लेकबेंसी नगरपालिका प्रमुख गगनसिं सुनारले बताए । गाउँका सबै जनाले विकास चाहेकाले शिक्षा, स्वास्थ्य, सरसफाइको विकासले परिवर्तन सुरुआत थालेको उनको भनाइ छ । ‘सरसफाइमा ध्यान दिन, स्वस्थ अर्गानिक तरकारी उपभोग गर्न र कृषि व्यवसायलाई बढाउन नमुना गाउँ कार्यक्रमले सहयोग गरेको छ,’ उनले भने ।


सबै घरमा शौचालयको प्रयोग गर्ने, पोषणयुक्त खाना खाने, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय पठाउने, धूवाँरहित चुलोको प्रयोग गर्ने, सुधारिएको करेसाबारी हुनुपर्ने, फूलबारी हुनुपर्नेजस्ता सूचक नमूना गाउँका लागि राखिएका छन् । त्यस्तै बालविवाह, घरेलु हिंसा, दाइजो लेनदेन, जातीय विभेद, भ्रष्टाचारजस्ता कार्य गर्न नहुने सूचकमा उल्लेख छ ।


सरसफाइ, स्वास्थ्य तथा आयआर्जनको सूचक पूरा भइरहेको जनाइएको छ । तर, नजिकै विद्यालय नभएकाले सानै उमेरमा बालबालिकालाई पठनपाठनमा समस्या छ । तोकिएको सबै सूचक पूरा भए यसै वर्ष बाघखोरलाई नमुना गाउँ घोषणा गर्ने वडा कार्यालयले जनाएको छ ।


गत आर्थिक वर्षदेखि सुरु भएको नमुना गाउँ कार्यक्रमका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, त्यो बजेट कुनकुन काममा खर्च गर्ने भन्नेबारे छलफल भइरहेको ६ नम्बर वडाध्यक्ष भीमसेन पुनले बताए ।

प्रकाशित : मंसिर २, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?