कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

हाजिर खाता लुकाएर बिदामा

मुगु — सोरु गाउँपालिकाका कर्मचारी करिब एक महिनादेखि हाजिर गर्नबाट वञ्चित भएका छन् । नियमित कार्यालयमा आए पनि गाउँपालिकाका दुई दर्जन कर्मचारी हाजिरबाट वञ्चित भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय हाजिर रजिस्टर दराजमा लुकाएर दसैं बिदामा घर गएका थिए । उपाध्याय नफर्किएपछि कर्मचारी हाजिरबाट वञ्चित भएका हुन् ।


कर्मचारीको हाजिर रजिस्टर मात्र होइन, दर्ता–चलानी रजिस्टरसमेत दराजमा राखेर उनी बिदामा गएका थिए । तिहार सकिएको लामो समय भइसक्दासमेत नफर्किएपछि कर्मचारीलाई हाजिर गर्न समस्या भएको हो । अधिकांश कर्मचारी दसैं र तिहारबीचको समयमा समेत काममा आइसकेका थिए ।


प्रमुख प्रशासकीय अधिकृत भने घरबाटै नआएकाले समस्या भएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर शाही कामविशेषले जिल्लाबाहिर गएपछि अधिकांश काम ठप्प छन् ।


प्रथम चौमासिक सकिए पनि गाउँपालिकामा कुनै पनि विकास निर्माणका काम सुरु हुन सकेका छैनन् । कर्मचारीका अनुसार प्रशासनिक कामकाजसमेत अवरुद्ध छन् । हाजिर गर्न नपाउँदा कर्मचारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग रुष्ट बनेका छन् ।


कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको दराजको ताला फोड्नसमेत समस्या भएको जनाएका छन् । ‘कार्यालय प्रयोजनका चिठीपत्रसमेत दर्ता चलानी गर्न सकिएको छैन,’ गाउँपालिकाका नायब सुब्बा तीर्थराज शाहीले भने, ‘हाजिर गर्न नपाइएपछि कर्मचारी कामविहीनजस्तै बनेका छौं ।’


हाजिर लुकाएपछि केही कर्मचारी कार्यालयमा आउन छाडेको ४ नम्बर वडासचिव अर्जुन कार्कीले बताए । ‘कर्मचारी नियमित छन्/छैनन् भन्ने हाजिर रजिस्टर नै हो, त्यो नै लुकाएपछि अफिस आउनुको के अर्थ ?’ उनले भने, ‘हाजिरको बारेमा अध्यक्षलाई सोध्दा भित्तामा हाजिर गर भन्छन् ।’

प्रकाशित : मंसिर ३, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?