कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडीको काम ठप्प

दैलेख — कार्यालय प्रमुख नहुँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको दैलेख खण्डको काम दुई महिनादेखि ठप्प छ । भदौदेखि आयोजना प्रमुख र डिभिजन प्रमुखलाई विभागमा तानेपछि सडक निर्माणको काम अघि बढ्न सकेको छैन ।

आयोजना प्रमुख सूर्यबहादुर भाट सडक विभागमा र डिभिजन प्रमुख शुभराज न्यौपानेलाई विराटनगर सरुवा गरिएको छ । उनीहरूको ठाउँमा अरू प्रमुख आएका छैनन् । यसले गर्दा चालु आर्थिक वर्षमा कालोपत्रे हुने कामको टेन्डरसमेत खुल्न सकेको छैन ।


आयोजनाका इन्जिनियर तुलाराम शर्माले ठेक्का प्रक्रिया सुरु हुन नसक्दा कामले गति लिन नसकेको बताए । १ हजार ७ सय ७६ किलोमिटर लामो लोकमार्गको १ सय २६ किलोमिटर खण्ड दैलेखमा पर्छ । त्योमध्ये ७५ किलोमिटरको टेन्डर नै हुन सकेको छैन ।


यसका साथै मुआब्जा विवादले काम प्रभावित भएको छ । मुआब्जा विवाद सदरमुकाम–जारकोट खण्डमा छ । यसले गर्दा २०६४ मै शिलान्यास भए पनि काम सुरु हुन नसकेको निर्माण कम्पनीको भनाइ छ ।


ग्राभेल र ट्रयाक खोल्ने कामको लागि निर्माण कार्यको जिम्मा लिएको कम्पनीको म्याद २०७७ असार मसान्तसम्म छ । अवरोध नभए निर्धारित समयमै काम सकिने निर्माण कम्पनी केआस–रमन र शर्मा–गजुरमणिको भनाइ छ । कम्पनीका अनुसार दैलेखको मनघरदेखि जाजरकोटको सुवाडासम्मको एक किलोमिटर खण्डको ट्रयाक खोल्नेको टेन्डर गर्न बाँकी छ ।


मध्यपहाडी राजमार्ग बनेपछि समृद्धिको सपना देखेका स्थानीय अहिले निर्माणमा आएको सुस्तताले निराश छन् । ग्राभेल र नाला अधुरा छन् । सडक जताततै धुलाम्मे छ ।

प्रकाशित : मंसिर २०, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?