कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकको रोजाइमा प्रदेश थारू होमस्टे

होमस्टेमा थारू परिकार घोंघी, ढिक्री, स्थानीय प्रजातिको सुँगुरको मासु, सिद्रा र सिन्कीको चटनीलगायत परिकार पर्यटकको रोजाइमा
करिश्मा चौधरी

वीरेन्द्रनगर — वीरेन्द्रनगरमा बसोबास गर्ने थारू समुदायले आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्दै दुई महिनादेखि ‘कर्णाली प्रदेश थारू होमस्टे’ सञ्चालनमा ल्याएका छन् ।

वीरेन्द्रनगर १०, नयाँगाउँस्थित होमस्टे पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । सुर्खेती थारू कला, संस्कृति, स्थानीय खानाको परिकार, रहनसहन लगायतका लागि होमस्टे पर्यटकको रोजाइमा परेको हो ।


अन्य प्रदेशको तुलनामा कर्णालीमा थारू समुदायको जनसंख्या कम छ । आफ्नो परम्पराको जगेर्ना गर्दै होमस्टे सञ्चालन गरेको सञ्चालक राजु चौधरीले बताए । उनका अनुसार होमस्टेमा थारू परिकार घोंघी, ढिक्री, स्थानीय प्रजातिको सुँगुरको मासु, सिद्रा र सिन्कीको चटनीलगायत परिकार पर्यटकको रोजाइमा परेका छन् ।


होमस्टेमा स्थानीय आलुका परिकार, बटाई चरा, स्थानीय जातको कुखुरा, हाँस, भेडाको मासुका विभिन्न परिकारसमेत पाइने गरेको अर्का सञ्चालक जीतबहादुर चौधरीले बताए । ‘पर्यटकको चाहना अनुसारका अरू परिकार पनि होमस्टेमा उपलब्ध छन्,’ उनले भने, ‘सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार नजिकै भएकाले पर्यटन प्रवद्र्धन पनि हाम्रो उद्देश्य हो ।’ होमस्टेबाट काँक्रेविहार मन्दिर १५/२० मिनेट मात्र पैदल दूरीमा छ ।


नजिकै देउतीबज्यै मन्दिर, बुलबुलेजस्ता पर्यटकीय स्थल भएकाले पनि पर्यटकको रोजाइमा परेको उनको भनाइ छ ।


कृषिमै व्यस्त हुने थारू समुदायलाई आफैंले उत्पादन गरेको कृषि उपजको बजारीकरण गर्न, थारू कला संस्कृति तथा परिकारको व्यावसायीकरण गर्न होमस्टेले सहयोग गरेको उनले जनाए । थारूलाई व्यवसायमा आकर्षण गर्न पनि होमस्टे सञ्चालन गरिएको उनले जानकारी दिए ।


होमस्टेमा अहिले प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाएका छन् । अप्रत्यक्ष रूपमा दुनाटपरी बनाउने, कुखुरा पाल्ने, अर्गानिक तरकारी उत्पादन गर्नेहरूले पनि रोजगारी पाएका छन् । थारू परिकारसँगै अन्य खाजा, खाना, बस्नका लागि लज, कार्यक्रमका लागि हलको व्यवस्थासमेत गरिएको छ ।


होमस्टे सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ लगानी गरिएको छ । बनाउनुपर्ने केही पूर्वाधार बाँकी रहेकाले ६० लाख रुपैयाँसम्म लगानी लाग्ने सञ्चालकहरूको अनुमान छ । होमस्टेमा थारू संस्कृति झल्कने मिनी संग्रहालय राख्ने, पर्यटकलाई थारू सांस्कृतिक नृत्य देखाउने योजना सञ्चालकको छ । एकै ठाउँमा सीमित रहेको होमस्टेलाई गाउँमा विस्तार गर्ने तयारी उनीहरूको छ ।


‘सुर्खेतमा पनि थारू छौं, हाम्रो आफ्नै संस्कृति छ भनेर चिनाउन र आर्थिक पक्ष पनि सुधार्न होमस्टेले धेरथोर सहयोग गरेको छ,’ अर्का सञ्चालक अनिल चौधरीले भने, ‘होमस्टे सञ्चालन भएको दुई महिनामा पनि पर्यटकको आकर्षण बढेको पाएका छौं ।’


यो अवधिमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, बुटवललगायत जिल्लाबाट हेर्नका लागि पर्यटक आएको चौधरीले जनाए । बाहिरको मसालेदार खानाभन्दा थारू परिकार र अर्गानिक खेतीका स्थानीय परिकारलाई प्राथमिकता दिने र बजारीकरण गर्ने योजना रहेको चौधरी बताउँछन् ।


थारू होमस्टे व्यवस्थित बनाउन स्थानीय सरकारसँग अनुदान/सहयोगको अपेक्षा सञ्चालकले गरेका छन् । स्थानीय सरकारले साथ दिए थारू संस्कृति संरक्षणमा हौसला मिल्ने उनीहरूको भनाइ छ । होमस्टे सञ्चालन भइरहेको गाउँमा पर्यटकको सहजताका लागि सुरक्षा व्यवस्थापन गरिदिए ठूलो टेवा पुग्ने एक सञ्चालक राजु चौधरीले बताए ।


वीरेन्द्रनगरका दिनेश पन्तलाई होमस्टेमा बनाइएको थारू परिकार निकै मन पर्छ । होमस्टे घुम्न आएका उनले सबैभन्दा बढी ढिक्री मन परेको बताए । सुरुवातमै भए पनि व्यवस्थापन मिलाएको पन्त बताउँछन् । ‘यहाँ बनाइएका कटेज, घरले पुरानो थारू गाउँघरको झल्को दिन्छ,’ उनले भने, ‘राम्रो छ, अझै राम्रो व्यवस्थापन गर्न सके झनै राम्रो ।’


कैलालीकी अनुसन्धानकर्ता इन्दु थारू होमस्टे सञ्चालनको राम्रो प्रयास रहेको बताउँछिन् । वीरेन्द्रनगरको थारू संस्कृति संरक्षण र थारू परिकारको प्रचारप्रसारका लागि यो राम्रो उदाहरण भएको उनको भनाइ छ । ‘होमस्टेमा क्याबिनको नाम ठेट थारू भाषाको छ, यो नयाँ लाग्यो मलाई,’ उनले भनिन्, ‘कर्णाली प्रदेशमा पनि थारूहरू छन्, उनीहरूले पनि थारूको संरक्षणका लागि केही गरेका छन् भनेर भन्न सकिन्छ ।’


कर्णाली प्रदेशमा सुर्खेतमा मात्रै थारू जातिको बसोबास छ । त्यसमा पनि वीरेन्द्रनगरमा मात्रै । यहाँ करिब ३५ थारू गाउँ छन् । ०६८ को जनगणना अनुसार सुर्खेतमा थारूको जनसंख्या ६ हजार सात सय ९० छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा थारूहरूको संख्या कम छ ।

प्रकाशित : मंसिर २०, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?