कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरमै नागरिकता

वीरेन्द्रनगर — वीरेन्द्रनगर ७, इत्रामकी ९५ वर्षीया बसुन्धरा आचार्यले शुक्रबार घरमै नागरिकता पाएकी छन् । उनलाई जिल्ला प्रशासन कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो । 

घरमै नागरिकता

नागरिकता नहुँदा उनले लामो समयदेखि वृद्धभत्ता पाउन सकेकी थिइनन् । त्योसँगै नागरिकता चाहिने अन्य काम पनि रोकिएका थिए । वृद्धावस्थामा नागरिकता पाउँदा उनीमात्र होइन उनका सन्तान र आफन्तसमेत खुसी छन् ।


छोरी इन्द्रा केसीले नागरिकता बनाउन आमा बाहिर जान नसक्ने भएपछि बन्छ भन्ने आशै मारेको बताइन् । यसले सरकारी सेवा हाम्रै लागि हो भन्ने सन्देश दिएको केसीको भनाइ छ । बसुन्धराका तीन छोरी छन् । शरीरमा रोग केही नभए पनि उमेर धेरै भएकाले हिँड्डुल गर्न, धेरैबेर बस्न गाह्रो पर्ने उनका ज्वाइँ हरि बस्नेतले बताए । उनी नागरिकता बनाउनका लागि वडाको सिफारिस लिएर प्रशासन कार्यालय पुगेका थिए ।


कार्यालयले स्वयं व्यक्ति उपस्थित हुनुपर्ने भनेपछि उनी समस्यामा परे । ‘तर, कार्यालयले आमाको समस्या बुझेर घरमै नागरिकता दिन आयो,’ उनले भने, ‘मलगायत सबै आफन्त खुसी छौं ।’ बसुन्धराले पहिल्यै नागरिकता बनाएको भए पनि बीचमा नागरिकता हराएको बस्नेतले बताए । आवश्यक भएकाले फेरि आमाको नागरिकता बनाउनुपरेको उनको भनाइ छ ।


नागरिकता पाउनका लागि स्वयम् व्यक्ति उपस्थित हुनुपर्छ । तर, बसुन्धरा स्थानीय प्रशासनसम्म जान नसकेपछि घरमै पुगेर नागरिकता दिने प्रशासन कार्यालयले निर्णय गरेको थियो । प्रशासकीय अधिकृत उत्तम शर्माले नागरिकता पाउने व्यक्तिलाई नदेखी नागरिकता दिन नमिल्ने र उनी कार्यालय आउन नसक्ने भएपछि घरमै पुगेको बताए ।


‘अहिले सार्वजनिक सेवा जनताको घरघरमा पुग्नुपर्छ भन्ने मान्यता छ,’ उनले भने, ‘अब कार्यालय आउन नसक्ने सेवाग्राहीलाई नागरिकता, पासपोर्टलगायत घरमै गएर पनि दिनेछौँ ।’ स्थानीयले टोलीलाई यस्ता कामलाई निरन्तरता दिन सुझाव दिएका छन् ।

प्रकाशित : मंसिर २२, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?