कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनप्रतिनिधिलाई नमुना चर्पी अनिवार्य

तुलाराम पाण्डे

कालीकोट — पलाता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अनिवार्य रूपमा सुविधासम्पन्न नमुना चर्पी बनाउने प्रतिबद्धता जनाएका छन् । गाउँका अगुवाबाट अरूले सिक्ने भएकाले सबै जनप्रतिनिधि र कर्मचारीलाई नमुना चर्पी बनाउन गाउँपालिकाले आह्वान गरेको हो । नबनाउनेको नाम सञ्चार माध्यमबाट सार्वजनिक गरिनेछ । 

जनप्रतिनिधिलाई नमुना चर्पी अनिवार्य

खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सुरु गरिएको ‘जल कचहरी’ मा सहभागी जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाले जनप्रतिनिधि र कर्मचारीबाटै पूर्ण सरसफाइका लागि अभियान सुरु गर्नुपर्ने ठहर गरेको हो । पक्की सेफ्टी ट्ंयाकी, प्यानसहितको शौच घर, उपयुक्त झ्याल ढोका, उचाइ र छाना तथा हात धुने स्टेसन हुनुपर्नेछ ।


यस्तै भाडा माझ्ने र सुकाउने निश्चित ठाउँ, फोहोर बिसर्जन गर्ने खाल्डो बनाउन पहिलो चरणमा सबै जनप्रतिनिधि र कर्मचारीलाई अनिवार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्माले बताए । उनका अनुसार गाउँपालिका अन्तर्गतका सबै कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, गैरसरकारी संघसंस्थामा आबद्ध कर्मचारी तथा स्वम्सेवकलाई नमुना चर्पी बनाउन लगाइनेछ ।


‘खाल्डे र कच्ची चर्पी बनाएपछि पलाताअन्तर्गत खीन, धौलागोह र थिर्पुलाई खुला दिसामुक्त घोषणा गरिएको रहेछ,’ उनले भने, ‘अहिले सबै जीर्ण भइसके, कतिपय चर्पीको ढोका साँघुरा छन् । त्यसैले अगुवाबाटै सुरुवात गर्ने निर्णय गरिएको हो ।’ यसमा सुधार ल्याउन कस्तो चर्पी बनाउँदा राम्रो हुन्छ भनेर अगुवाबाटै नमुना चर्पी बनाउन लगाएर सबै बासिन्दालाई अनिवार्य गरिने उनको भनाइ छ ।


सुख्खा खडेरीग्रस्त क्षेत्रको रूपमा चिनिएको पलाता गाउँपालिकामा आगामी तीन वर्षभित्र एक घर, एक धारा पुर्‍याउने लक्ष्य छ । पुँजीगत बजेटको २३ प्रतिशत बजेट खानेपानीमा विनियोजन गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।


काम नगरेर योजना खाने प्रवृत्तिको अन्त्य गर्न एक पटक योजना दिएपछि १० वर्षसम्म त्यही ठाउँमा योजना नदिने नीति गाउँपालिकाले बनाएको उनको भनाइ छ । उनका अनुसार पलाता–९ मा यस वर्ष दुई सय घरधुरीलाई खानेपानीको मिटर वितरण गर्ने लक्ष्यसहित वाटर एडको सहयोगमा गाउँपालिकाले खानेपानी योजना निर्माण गरेको छ ।


सबैभन्दा खानेपानीको अभाव भएको वडा नं. २ धोलागोहमा पानी ल्याउन पलाता विकास निर्माण कार्य दल परिचालन गरिएको छ भने वडा नं. ७ र ८ मा पनि खानेपानीको योजना सुरु गरिएको छ । पलातामा पूर्ण सरसफाइसहित छाउपडी प्रथा कम गर्न थिर्पुबाट अभियान थालिएको स्वच्छता प्रवद्र्धनकर्ता पुष्पा शाहीले बताइन् । पलातामा अझै १५ प्रतिशत घरधुरीमा चर्पी नभएको गाउँपालिकाको अनुमान छ । सबैलाई चर्पी बनाउन भनिसकेको वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताए ।

गत मंगलबार आयोजना गरिएको जल कचहरीमा स्थानीयले गाउँपालिकाले सपना ठूला देखाए पनि पूरा गर्न नसकेको गुनासो पोखे । ‘पानी भर्नकै लागि ५/६ घण्टा धारामा बस्नुपर्ने अवस्था छ,’ पलाता–७ की सुर्जा रोकायाले भनिन् ‘पानी नहुँदा समस्या छ ।’


गाउँपालिकाले वर्षमा दुई पटक कचहरी गर्ने, पलाताको एकीकृत खानेपानी सरसफाइ तथा स्वच्छता रणनीतिक योजना ०७५ भित्रै निर्माण गरी लागू गर्ने, गाउँपालिकाका सबै खानेपानी योजना तथा आयोजनामा ३३ प्रतिशत महिलाको व्यवस्था गर्ने निर्णय गरिएको छ ।


त्यस्तै गाउँपालिकामा गठन गरेको खानेपानी उपभोक्ता महासंघको क्षमता अभिवृद्धि गर्ने, पलाताका घनाबस्ती भएका ठाउँमा ढल निकासको लागि पहल गर्ने, ९ वटै वडामा खानेपानी तथा सरसफाइ समिति गठन गरेर परिचालन गर्नेलगायत १० बुँदे प्रतिबद्धता गरिएको छ ।

प्रकाशित : मंसिर २५, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?