कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रजनन स्वास्थ्य सुधार्न कालीकोटमा किशोरी शिक्षा

तुलाराम पाण्डे

कालिकोट — १२ वर्षको उमेरमा विवाह, १५ वर्षमा गर्भवती अनि २३ वर्षमा पाँच बालबच्चाकी आमा । कालीकोटको रास्कोट ९ चुत्तिकोटकी एक महिला अहिले पाठेघरको समस्याले पीडित छिन् ।

एक छोरो पिठ्युँमा र एक छोरी काखमा च्यापेर बुधबार रास्कोट नगरपालिकाको समन्वयमा गठन हुन लागेको किशोरी समूहमा आबद्ध हुन आएकी उनले समूहमा बस्ने इच्छा देखाइन् । ‘मेरो जुनी त यसैखेर गयो, अरू दिदीबहिनी र मेरा छोरीले दु:ख नपाऊन् भनेर केही सिक्ने मन छ,’ उनले भनिन् ‘मलाई पनि समूहमा राखिदिनुपर्‍यो ।’


उनले सानोमा विवाह हुँदा समस्यै समस्या भएको बताइन् । महिनावारी नियमित नहुने र तल्लो पेट दुखिरहने समस्याले उनी अहिले पीडित बनेकी छन् । सोही ठाउँकी अमृता परियारको १३ वर्षमा विवाह भयो । उनका पनि तीन छोरी छन् । स्वास्थ्य अवस्था पनि कमजोर रहेको भन्दै किशोरी शिक्षाका कक्षामा सहभागी हुने उनको इच्छा छ ।


बालविवाहले यहाँका महिलामा शिक्षा, स्वास्थ्य, वृत्ति विकासलगायत सबै क्षेत्रमा असर परेको छ । सानैमा विवाह गर्दा धेरैको घरजम पनि बिग्रिएको छ । कालीकोट जिल्ला अदालतको तथ्यांकअनुसार ३२ थान सम्बन्ध विच्छेदका मुद्दामध्ये सबैजसोमा उमेर नपुगेर विवाह गरेका दम्पत्तीमा समस्या देखिएको छ । महिला हिंसाको समस्या पनि त्यत्तिकै छ । जिल्ला प्रहरीले ३ महिनामा २३ महिला हिंसा सम्बन्धीका मुद्दा दर्ता गरेको जनाएको छ ।


गत वर्ष मात्र कालीकोटमा ३२ जना मृत शिशु जन्मिएको, ६ जना आमाले बच्चा जन्माउन नसकेर मृत्युवरण गर्नुपरेको तथ्यांक जिल्ला स्वास्थ्यसँग छ । ‘अवस्था अत्यन्तै दयनीय छ,’ रास्कोट नगरपालिका स्वास्थ्य संयोजक हंसराज बरालले भने, ‘महिला आफैं जागरुक नभई स्वस्थ अवस्थामा सुधार ल्याउन कठिन छ ।’


त्यसका लागि किशोरी शिक्षा दिन र प्रजनन स्वास्थ्य र अधिकारबारे सचेत गराउन तीन स्थानीय तह खाँडाचक्र र रास्कोट नगरपालिका तथा नरहरिनाथ गाउँपालिकाले सेभ द चिल्ड्ेरनको सहयोगमा किशोरी शिक्षाका कक्षा सुरु गरेका छन् । ‘समाजका आधा हिस्सा महिला सक्षम नभएसम्म समग्र विकास गर्न सकिँदैन,’ रास्कोट नगर प्रमुख काशीचन्द्र बरालले भने, ‘शिक्षा र चेतना पहिलो आवश्यकता छ, त्यही पूरा गर्न नगरले योजना बनाएको छ ।’


रास्कोट नगरपालिकामा एक घर एक धारा, करेसाबारी, फलफूल तथा तरकारी पकेट क्षेत्र, व्यावसायिक पशुपालनलगायत महिला साझेदारीका कार्यक्रम सञ्चालन भइरहेका छन् । किशोरी शिक्षामार्फत बालविवाह न्यूनीकरण, छाउपडी गोठमुक्त गाउँ टोल र पूर्ण सरसफाइयुक्त बस्ती बनाउन लागेको उनले जानकारी दिए ।


१४ देखि २४ वर्ष उमेर समूहका किशोरीलाई एक वर्षसम्म प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी कक्षा संचालन गर्न ३ वटै स्थानीय तहले ३०/३० किशोरी समूह गठन गरेका छन् । त्यस्तै १०/१० वटा विवाहित समूहसमेत गठन गरिएको छ । किशोरी समूह गठनमा बालिकाको उत्साहपूर्ण सहभागिता रहेको खाँडाचक्र–६ दाहास्थित स्वास्थ्य चौकीकी इन्चार्ज रूपा भण्डारीले बताइन् ।


‘महिलाहरू सुत्केरी हुन स्वास्थ्य संस्था नआउने जिल्लाभरको समस्या छ,’ सिनियर अहेव भण्डारीले भनिन् ‘किशोरी शिक्षाले बालविवाहमा कमी गरेर अन्य प्रजनन स्वास्थ्यमा पनि सुधार ल्याउन सक्ने देखिन्छ ।’


स्थानीय सहजकर्तामार्फत एक वर्षमा २४ सेसन प्रजनन स्वास्थ्य सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी छ । किशोरी शिक्षा तथा प्रजनन अधिकारबारे कक्षामा किशोरावस्थामा आउने समस्या, हुने परिवर्तन, गर्भावस्था, जन्मान्तर, बालविवाहका कारण असर, कानुनी प्रावधानलगायत विषयमा सचेतना दिइनेछ ।


त्यस्तै महिला हिंसा, प्रजनन स्वास्थ्य, पोषण, खोप, वित्तीय साक्षरतालगायत विषयवस्तुमाथि छलफल हुनेछ ।

प्रकाशित : मंसिर २८, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?