कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साढे ४ करोडको बीउ बिक्री

हरि गौतम

रुकुम पश्चिम — जिल्लाका किसानले तीन वर्षको अवधिमा साढे चार करोड बढी मूल्यको बीउ बिक्री गरेका छन् ।

आर्थिक वर्ष २०७२/०७३ देखि किसानले चार करोड ६१ लाख रुपैयाँको तरकारी तथा खाद्यान्नको उन्नत बीउ बिक्री गरेका हुन् । यो अवधिमा किसानले तरकारी र खाद्यान्नको गरी ३ सय ३८ मेट्रिक टन बीउ बिक्री गरे ।


तीन वर्षको अवधिमा २ सय ३० मेट्रिक टन खाद्यान्न र एक सय आठ मेट्रिक टन तरकारीको बीउ बिक्री भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ३७ मेट्रिक टन तरकारीको बीउ बिक्री गरेर ९८ लाख आम्दानी गरेका किसानले ३९ लाख मूल्यका खाद्यान्नको बीउ बिक्री गरेर एक करोड ३७ लाख रुपैयाँ कमाएका छन् ।


चालु आर्थिक वर्षको पहिलो ४ महिनामा २१ लाख ८६ हजार रुपैयाँको बीउ बिक्री भएको छ । पहिलो चार महिनामा किसानले खाद्यान्नमा गहुँ र तरकारीको बीउ बिक्री गरेका छन् । २६ मेट्रिक टन गहुँको बीउ बिक्रीबाट ११ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेका किसानले दुई दशमलव ८८ मेट्रिक टन तरकारीको बीउ बिक्रीबाट ९ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेका छन् । किसानले खाद्यान्नमा मकै, धान र गहुँको बीउ उत्पादन गर्दै आएका छन् भने तरकारीमा मुला, रायो, प्याज, सलगम, काउली, मटरकोसालगायतको उन्नत बीउ उत्पादन गर्दै आएका छन् ।


औपचारिक रूपमा बीउ बिक्री गर्न थालेपछि यसको कारोबार देखिन थालेको हो । आर्थिक वर्ष २०७२/०७३ देखि बीउ उत्पादक अधिकांश किसानले समूह तथा सहकारीमार्फत औपचारिक रूपमा बीउ बिक्री थालेका थिए ।


‘हामीले उत्पादन गरेको बीउ चार वर्षयता औपचारिक रूपमा बिक्री गर्ने गरेका छौं,’ खाद्यान्न बीउ उत्पादन महिला कृषक समूह मुसिकोट नगरपालिका ४ की सचिव चित्रा शर्माले भनिन्, ‘त्यसपछि मात्रै बीउ बिक्रीको कारोबार प्रस्ट आउन थालेको छ ।’


त्यसअघि जसले माग गर्‍यो त्यतै बीउ बिक्री गर्ने गरेको र त्यो औपचारिक नभएको उनको भनाइ छ । पछिल्लो चार वर्ष किसानले बीउ कम्पनी, स्थानीय तह, एग्रोभेट र छिमेकीलाई बीउ बिक्री गर्दै आएका छन् । सबैसँगको बीउ बिक्री औपचारिक हुने गरेको छ । जिल्लाको बीउ विशेषगरी चितवन, धनगढी र दाङ जाने गरेको छ ।


चितवन, धनगढी र दाङका एक/एक बीउ कम्पनीले यहाँ उत्पादित बीउ लिने गरेका छन् । बीउ कम्पनी र किसानबीच बीउ खरिद बिक्री गर्न अग्रिम सम्झौतासमेत हुने गरेको छ । अग्रिम सम्झौता गरेर बीउ उत्पादन गर्दा बिक्री वितरणको समस्या नहुने हुँदा किसानले ढुक्कले बीउ उत्पादन गर्ने गरेका छन् ।


किसानले उत्पादन गरेको बीउ बिक्रीमा किसानका लागि उन्नत बीउबिजन कार्यक्रम केयूवीके कृषि उद्यम केन्द्र जिल्ला लगानीद्वार कार्यालयले सहजीकरण गरिरहेको छ । बीउ कम्पनी र किसानबीच बीउ खरिद बिक्रीको अग्रिम सम्झौता गराउने तथा किसानको बीउ बिक्रीमा समेत लगानीद्वार कार्यालयले सहयोग गरिरहेको छ । कार्यालयका सल्लाहकार राजु लामिछानेले बीउ उत्पादन तथा प्रशोधन र बजारीकरणमा सहजीकरण गरिरहेको बताए ।


पछिल्लो समय किसानको सक्रियताकै कारण बीउ बिक्रीले औपचारिकता पाएको तथा बीउको गुणस्तरमा किसानले सम्झौता नगर्ने गरेको उनको भनाइ छ ।


जिल्लाको चौरजहारी, मुसिकोट र आठबीसकोट नगरपालिकामा बीउ उत्पादन गर्ने समूह तथा सहकारी छन् भने त्रिवेणी, सानीभेरी र बाँफिकोट गाउँपालिकाका विभिन्न ठाउँमा पनि बीउ उत्पादन गर्ने समूह तथा सहकारी छन् । समूह तथा सहकारी आबद्ध भएर बीउ बिक्री गर्दा सजिलो हुने भनाइ बीउ उत्पादक किसानको छ ।


आर्थिक वर्ष २०७२/०७३ मा तरकारी र खाद्यान्नको बीउ बिक्री गरेर किसानले १ करोड २८ लाख रुपैयाँ आम्दानी गरेका छन् । उक्त वर्ष २७ मेट्रिक टन तरकारीको बीउ र ३४ दशमलव ९५ मेट्रिक टन खाद्यान्नको बीउ बिक्री भएको थियो ।

प्रकाशित : मंसिर २९, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?