कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोन गर्न अग्लो डाँडा

भीमबहादुर सिंह

जाजरकोट — जुनिचाँदे गाउँपालिका २, लुहादहका बलबहादुर खड्कालाई कसैसँग मोबाइल सम्पर्क गर्नुपरे गाउँमाथिको अग्लो डाँडा जानुपर्ने बाध्यता छ ।

फोन गर्न अग्लो डाँडा

उनकै छिमेकी सिर्जना खड्का पनि गाउँमा मोबाइल नेटवर्कले काम नगरेपछि डाँडामा जानुपर्ने बाध्यतामा छिन् ।


उनीहरू मात्र हैन, लुहादह गाउँका बासिन्दा सबैलाई एक घण्टा उकालोमा रहेको दहडाँडामा चढेर फोन गर्नुपर्ने बाध्यता छ । घरदेखि टाढा बसेका आफन्तसँग भलाकुसारी गर्न तथा अन्य कार्यका लागि टेलिफोनमा खबर आदानप्रदान गर्न लुहादहवासी डाँडा चढ्ने गरेका छन् ।


जुिनचाँदे २, मजकोटमा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा लुहादहवासीलाई सञ्चार समस्या भएको हो । जुनिचाँदे गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी खड्काले फोन गर्नका लागि स्थानीयले लामो समयदेखि सास्ती पाइरहेको बताइन् ।


अग्लो डाँडामा चढे पनि नमस्ते मोबाइलले कामै नगर्ने र स्काईको फोनले दिउँसो मात्र अलिअलि काम गर्ने गरेको स्थानीय शेबहादुर खड्काले बताए । ‘फोन गर्नका लागि अग्ला रूख र डाँडामा चढ्नुपर्ने पर्ने बाध्यता छ,’ उनले भने, ‘गाउँमा फोनको टावर कहिल्यै हुँदैन ।’


नेपाल टेलिकमको टावरले काम नगर्दा जुनिचाँदेका १५ हजार स्थानीयवासी सञ्चारको सुविधाका वञ्चित भएको खड्काले बताए । पावर अभाव र टेलिकमका कर्मचारीको लापरबाहीका कारण स्थानीयले टेलिफोनको सुविधा पाउन नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए । फोन र इन्टरनेटको असुविधाले गाउँपालिकालगायत सरकारी निकायको सेवाप्रवाह प्रभावित भएको उनले जनाए ।


नेपाल टेलिकम जाजरकोट शाखाले जुनिचाँदे गाउँपालिका ५, गर्खाकोट र अन्य स्थानमा नमस्ते मोबाइल टावर निर्माण सर्भे गरेको तीन वर्ष बित्दा पनि काम सुरु गरेको छैन । गाउँपालिकामा स्काई फोनको टावर निर्माण तथा मर्मत सुधार गर्न सरोकारवाला निकायमा बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको अध्यक्ष केसीले बताए ।


लिखित र मौखिक रूपमा पटकपटक नेपाल टेलिकम र अन्य निकायमा आग्रह गरेको उनको भनाइ छ । गाउँ कार्यपालिका बैठकले समेत निर्णय गरी सम्बन्धित निकायमा फोन सेवा सुधार तथा विस्तार गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको उनी बताउँछन् ।


जुनिचाँदेको मजकोटस्थित टावर सञ्चालनका सोलार ब्याट्री फेर्न नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगन्जमा बारम्बार पत्राचार गर्दा पनि कुनै पनि सुनुवाइ नभएको टेलिकम जाजरकोट कार्यालयका निमित्त प्रमुख लोकेन्द्र भण्डारीले बताए ।


मजकोटलगायत ठाउँमा रहेका टावरमा पाँच वर्ष पुराना सोलार ब्याट्री रहेको र ती ब्याट्री काम नलाग्ने अवस्थामा पुगेको उनको भनाइ छ । गर्खाकोटलगायत स्थानमा नमस्ते मोबाइलका टावरहरू चालु आर्थिक वर्षमा निर्माण सुरु गर्न सम्झौता भइसकेको उनले जानकारी दिए । कुशे, बारेकोटलगायत गाउँपालिकाका अधिकांश बासिन्दा टेलिफोन पहुँच बाहिर छन् ।

प्रकाशित : पुस १, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?