कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारी खेतीमा महिला

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका ३, ४ र ५ का महिला व्यावसायिक तरकारी खेतीमा लागेका छन् । पहिले खाद्यान्न बाली मकै तथा गहुँ बाली लाग्ने जग्गा केही वर्षयता टमाटर, मुला, रायो, सिमी, बन्दा र काउलीले ढाकिएका छन् । 

बाँफिकोट गाउँपालिका ३, पैयाबारास्थित तीन रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा लटरम्म टमाटर फलेका छन् । टमाटर मात्रै होइन, एक हजार ९ सय वटा काउली र बन्दाको बोट फल्नै आँटेको अवस्थामा छन् । स्थानीय पेकुना केसीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेकी हुन् ।


यसअघि सामान्य गृहस्थी गर्ने उनी अब भने व्यावसायिक खेतीमा आबद्ध भइसकेकी छन् । यसअघि सामान्य तरकारी खेती गर्ने पेकुना एक वर्षदेखि व्यावसायिक रूपमा तरकारी फलाउनतर्फ लागेकी छन् । पतिसहित घरका अन्य सदस्यको सहयोगमा उनको तरकारी खेती फस्टाउँदो छ ।


यो वर्ष मात्रै तरकारी खेतीको लागि दुई लाख रुपैयाँ लगानी गरेको उनले बताइन् । एक लाख लगानीमा सिँचाइका लागि व्यक्तिगत रूपमा पानी ल्याएकी छन् भने, एक लाख रुपैयाँ बेर्ना र बीउमा खर्च भएको उनले बताइन् । अघिल्लो सिजनमा ६० हजार नाफा गरेकी उनले यो वर्ष एक लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेकी छन् ।


बाँफिकोट गाउँपालिका–४, की रीता जैसी र रमिता पुनले पनि व्यावसायिक तरकारी खेती गर्छन् । रीता र रमिताले पनि खाद्यान्न गहुँ बालीको सट्टा तरकारी बाली लाउन थालेका छन् । गहुँभन्दा दोब्बर तथा छिटो आम्दानी हुने भएपछि महिलाहरू तरकारी खेतीमा आकर्षित भएका हुन् ।


‘हाम्रो परम्परागत खेती भनेको निर्वाहमुखी मात्रै भयो, त्यसैले हामी महिला मात्रै भए पनि तरकारी खेतीमा लागेको छौं,’ पेकुनाले भनिन्, ‘हामीलाई परिवारका सदस्यको पनि सहयोग छ, यसमा सफल पनि हुँदै गएका छौं ।’ उनले अर्को सिजनदेखि थप जग्गामा समेत तरकारी विस्तार गर्ने योजना रहेको बताइन् ।


रमिता पुनको बारीमा पनि टमाटर लटरम्म छन् । घरका लागि तरकारी खेती गर्ने उनी त्यसलाई विस्तार गरेर बिक्री गर्नेसम्म भएकी छन् । ‘आम्दानीको हिसाब त खासै गरेको छैन, तर सामान्य खर्च तरकारी बेचेरै टार्ने गरेको छु,’ उनले भनिन् । महिलो समूह नै बनाएर उनीहरूले तरकारी खेती गरिरहेका छन् ।

‘गरेपछि सम्भव रहेछ हाम्रा बारीमा टमाटर पाकेका छन्,’ जैसीले भनिन्, ‘काउली, बन्दा फल्दै छन् ।’


उनीहरूको उत्पादन बिक्रीमा समस्या छैन । नजिकका बजारमा तरकारी सजिलै बिक्छ । टाढाको तरकारीभन्दा ताजा र स्थानीयस्तरमै उत्पादन भएको तरकारी उपभोक्ताले पाइरहेका छन् । खानेपानीको समस्या हुने ठाउँमा सिँचाइको समेत व्यवस्था गरेर महिलाले खेती गरिरहेको बाँफिकोट गाउँपालिका ३, का अध्यक्ष चन्द्रबहादुर केसीले बताए ।


महिलालाई तालिम, बीउ, सामान्य रोग लागेपछिको उपचार विधिलगायत विषयमा स्थानीय स्रोतको समुचित प्रयोगमार्फत स्थानीयको विकास प्रोलेट कार्यक्रमले सहयोग गरिरहेको छ । व्यवसायउन्मुख महिलालाई सहजीकरणको सहयोग भइरहेको प्रालेट कार्यक्रम संयोजक टेकबहादुर कुसारीले बताए ।

प्रकाशित : पुस १, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?