कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा बढ्दै सम्बन्धविच्छेद

सल्यान — बन्गाड–कुपिन्डे नगरपालिका ११, माँझकाडा, लामाखालीका ३३ वर्षीय चूडामणि बुढामगरले ३० वर्षीया पत्नी लक्ष्मी बुढामगरसँग सम्बन्धविच्छेद गर्न मंसिर २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरे । 

त्यस्तै छत्रेश्वरी गाउँपालिका ५, लेखपोखराका २२ वर्षीय खडकबहादुर केसीले २३ वर्षीया पत्नी पवित्रा रावतले आफूखुसी गर्दै आएको र लामो समयदेखि माइतीमा बस्दै आएको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।


यी दुई उदाहरणमात्र हुन् । मुलुकी देवानी (संहिता) ऐनले सम्बन्धविच्छेद गर्न पुरुषलाई पनि महिलाजत्तिकै अधिकार प्रदान गरेपछि जिल्ला अदालतमा मुद्दा बढ्दै गएका छन् ।


अहिले पुरुष र महिलाबीच सम्बन्धविच्छेद गर्ने प्रतिस्पर्धा नै चलेको छ । सम्बन्धविच्छेद गर्ने महिला र पुरुषको संख्या उस्तैउस्तै रहेको अदालतले जनाएको छ । विगत वर्षमा मुस्किलले एक/दुई जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका थिए ।


नयाँ कानुनले नै अधिकार दिएपछि पुरुषको पनि सम्बन्धविच्छेद गर्ने संख्या महिला बराबर पुगेको जिल्ला अदालतका स्रेस्तेदार दीपक पोख्रेलले बताए । जिल्ला अदालतमा पति विदेश गएका बेला पत्नी घर छाडेर लामो समय माइतमा बस्दै आएको भन्दै सम्बन्ध विच्छेद गर्न धेरै मुद्दा आएको उनको

भनाइ छ ।


उनका अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा अदालतमा ६५ जनाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । जसमध्ये ३५ महिलाले र ३० पुरुषले मुद्दा दर्ता गराएको उनले जनाए ।

सम्बन्धविच्छेदका मुद्दा दैनिकजसो आउने गरेको भए पनि अहिलेसम्म कसैको फैसला नभएको स्रेस्तेदार पोख्रेलले जानकारी गराए ।


‘सम्बन्धविच्छेद गर्नु दुवैका लागि फाइदा नभएकाले अदालतले मेलमिलापका लागि प्रयास गर्दै आएको छ,’ उनले भने, ‘अधिकांशमा मेलमिलापको प्रयास सफल नभएपछि फैसलाको तयारी छ ।’


कलिलो उमेरमा विवाह गर्ने र विभिन्न कारणले सम्बन्धमा समस्या आउँदा सम्बन्धविच्छेदको क्रम बढेको अदालतले जनाएको छ । कतिपय अवस्थामा सामान्य विवादकै कारण सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेको अदालतले जनाएको छ । सल्यानमा वर्षमा झन्डै तीन सय सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेका छन् ।

सम्बन्धविच्छेदपछि बालबालिकामा भने नकारात्मक असर परेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हिंसाका कारण पनि सम्बन्धविच्छेदको समस्या बढिरहेको छ ।


बालविवाह, अशिक्षा, गरिबी, बेरोजगारीलगायत समस्याका कारण सम्बन्धविच्छेद बढ्दै गएको अधिकारकर्मीको भनाइ छ । उनीहरूका अनुसार वैदेशिक रोजगारीका कारण पनि सम्बन्धविच्छेदका घटना बढिरहेका छन् ।

प्रकाशित : पुस ३, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?